दाङमा जिल्लास्तरीय क्वानकिडो च्याम्पियनसिप हुने
दाङ,२८ कात्तिक । दाङमा प्रथम जिल्लास्तरीय क्वानकिडो च्याम्पियनसिप–२०८१ हुने भएको छ । दाङ जिल्ला क्वानकिडो संघको आयोजनामा मंसिर २८ देखि ३० गतेसम्म घोराहीमा प्रथम जिल्लास्तरीय क्वानकिडो च्याम्पियनसिप–२०८१ हुन थालेको हो ।
घोराहीमा तीन दिनसम्म हुने प्रतियोगितामा तीन सय बढी खेलाडीको सहभागिता हुने दाङ जिल्ला संघका अध्यक्ष दीपक केसीले जानकारी दिएका छन् । प्रतियोगितामा पुरुष र महिला खेलाडीले समान २०–२५, २५–३०, ३०–३५, ३५–४०, ४०–४५, ४५–५०, ५०–५५, ५५–६० र ६०–६५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा प्रथम हुने समूहले नगद २० हजारसहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने संघका जिल्ला अध्यक्ष केसीले बताए । उनका अनुसार प्रतियोगितामा द्वितीय हुने समूहले १० हजार र तृतीय हुने समूहले नगद ७ हजारसहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसैगरी प्रतियोगितामा पुरुष र महिलातर्फ एक÷एक जना उत्कृष्ट खेलाडीहरुलाई समान ५÷५ हजारसहित सम्मान गर्ने आयोजकले जनाएको छ । अनुशासित खेलाडीतर्फ पुरुष र महिला खेलाडीलाई ५÷५ हजार पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिताले जिल्लामा क्वानकिडो खेलको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याउने आयोजकको विश्वास छ । समग्र खेलकुद क्षेत्रको विकासमा योगदान पु¥याउने अपेक्षा गरिएको छ । विशेषगरी ग्रामीण क्षेत्रका युवाहरूलाई क्वानकिडो खेलतर्फ आकर्षित गर्दै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको छ । साथै यस प्रतियोगिताले खेलाडीहरूको मनोबल बढाउन र उनीहरूको क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
क्वानकिडो जिल्लामा नयाँ खेल रहेको यसप्रति खेलाडीको आकर्षण गर्न आवश्यक रहेकाले प्रतियोगिता आयोजना गर्न थालिएको आयोजकले जानकारी दिएको छ ।
