धान बिक्री गरेका कृषकलाई चेक प्रदान

गोरक्ष समाचारदाता
गढवा, २७ कात्तिक । गढवा गाउँपालिकाका किसानले एक हातले धान बिक्री गरेर अर्को हातले तुरुन्तै लाखौँको चेक पाउँदा खुसी भएका छन् । गढवा गाउँपालिकाले नेपाल सरकार खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय तुलसीपुर दाङसँग सम्झौता गरेर गढवाका कृषकले उत्पादन गरेका धान सरकारी दररेटमा किनिदिनेबारे सम्झौता गरेपछि गढवाका किसानले उचित मूल्य पाएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताए ।

कृषकले पसिना बगाएर उत्पादन गरेको धानबाली लोकल व्यापारीले घरघरमा पुगेर सस्तो दरमा किन्ने गरेको गुनासो गदै आएका थिए । लागत समेत नउठ्ने गरेको किसानबाट गुनासो आएपछि कृषि पेसामा लागेका कृषकले कृषि उपजको बजारीकरण गर्न आफूले चासो दिएको र सोही अनुसार नेपाल सरकार खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय तुलसीपुर दाङसँग सम्झौता गरेर गढवा गाउँपालिकाबाट धान बिक्री सुरु गरेको अध्यक्ष पोख्रेलले बताए । नेपाल सरकार खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय तुलसीपुर दाङले गढवा गाउँपालिकामा उत्पादन भएका कृषि उपज धान, तोरी, मसुरो र बेसार खरिद गर्नेबारे दुईपक्षबिच लिखित सहमति भएको गढवा गाउँपालिका कृषि विकास शाखाका प्रमुख कर्ताराम यादवले जानकारी दिए ।

नेपाल सरकारले तोकेको समर्थन मूल्यमा आफूले उत्पादन गरेको धान बिक्री गर्न पाउँदा खुसी भएको कृषक देवराज यादवले बताए । उत्पादन गर्नभन्दा बजारीकरणको समस्याले सताउँदै आएको तर यस वर्ष गढवा गाउँपालिकाले समन्वय गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई पालिकामै बोलाएर धान खरिद बिक्रीको वातावरण बनाउँदा आफूहरू खुसी भएको उनले बताए । साना व्यवसायी घरघरमा पुगेर २५ सयदेखि २७ सय रुपैयाँसम्मको मूल्यमा धान खरिद गर्ने गरेका छन् । व्यापारीले समेत ३२ सय रुपैयाँ प्रतिक्विन्टमा घरघरबाट धान खरिद गर्न गाउँपालिकाको एक सूचनाको आधारमा कृषकले धानको राम्रो मूल्य पाएको कृषक देवराज यादवले बताए ।

यता नेपाल सरकार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मोटो धान तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा प्रतिक्विन्टलका दरले धान खरिद गरेको छ । स्थानीय व्यापारीलाई सस्तो दररेटमा धान बेचेर महिनौँ दिनसम्म भुक्तानी नहुने समस्या थियो तर खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई एकहात धान बेचेर अर्को हातले चेक बुझ्न बुझ्दा आफूहरू खुसी भएका किसानले बताएका छन् । कृषि उपज खरिद कार्य निरन्तरता दिन गढवा गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई अनुरोध समेत गरिएको छ ।

पहिलो पटक स्थानीय तहमा गढवा गाउँपालिकाबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय तुलसीपुर दाङले गढवा गाउँपालिकामा उत्पादन भएका कृषि उपज खरिद गर्ने भनेर कात्तिक ४ गते दुई पक्षबिच सम्झौता भएको थियो । गढवा गाउँपालिका भरिका कृषकले उत्पादन गरेको मोटो तथा मध्यम प्रजातिका धान गुणस्तर मापदण्डभित्रको धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय तुलसीपुर दाङले नेपाल सरकारले तोकेको समर्थन मूल्यमा खरिद गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो ।