लोपोन्मुख र रैथाने बाली संरक्षण

अमरराज आचार्य
दाङ, २७ कात्तिक । पछिल्लो समय जिल्लाका कृषकहरू लोपोन्मुख रैथानले बाली संरक्षण गर्न थालेका छन् । लोप हुँदै गएका बाली संरक्षण गर्न ती बाली उब्जाउन लागिपरेका छन् । गीता रावतले विगत पाँच वर्षदेखि घोराही उपमहानगरपालिका वडा नम्बर ५ डाँगीगाउँमा २० बिघा जग्गा भाडामा लिएर रैथाने धानखेती गर्दै आएकी हुन् ।

उनले अर्गानिक कृषि उपज तथा प्रशोधन बजार केन्द्र फर्म स्थापना गरेर रैथाने धानको बिउ उत्पादन गर्दै आएको बताउँछिन् । ‘लोपोन्मुख धानको संरक्षणका लागि धानको बिउ उत्पादन गर्दै आएको छु’, उनले भनिन् ‘लोप हुन थालेका रैथाने धानको बिउ जोगाउन बिउ उत्पादन गर्न थालेको हु ।’ १२ कठ्ठामा सिमठारो, पाँच बिघामा तिलकी, १२ बिघामा चैते ५ र करिब चार बिघामा राधा–४ धानको बिउ उत्पादन गर्दै आएकी छिन् । उनले उत्पादन गरेको सबै धान बिउको लागि बिक्री हुने गरेको उनले जानकारी दिइन् । उत्पादन भएका धान बिक्रीमा समस्या नरहेको उनी बताउँछिन् । लगानी गरेभन्दा केही नाफा भए पनि मिहिनेत अनुसार आम्दानी भने नहुने रावतले बताइन् ।

रैथाने धानको बिउ संरक्षणमा एक÷दुई जनाको प्रयासले मात्र नहुने भन्दै उनले यसमा सहयोगको अवश्यक रहेको जिकिर गरिन् । रैथाने धानको बिउ संरक्षणका लागि कतैबाट सहयोग नपाएको बताउँदै उनले भनिन्, ‘लोप हुन थालेको धानको बिउ जोगाउन कतैबाट हालसम्म सहयोग पाएको छैन ।’ पछिल्लो समय रैथाने बिउभन्दा हाइब्रेड बिउ तथा उत्पादनतर्फ किसान तथा उपभोक्ताको आकर्षण बढेको उनको भनाइ छ । ‘रैथाने बिउ जोगाउने भन्दा पनि विदेशबाट आयातीत बिउलाइ प्राथमिकता दिइन्छ’, उनले गोरक्षसँग भनिन्, ‘त्यसैले हामी धानका बिउमा पनि आत्मनिर्भर हुन सकेका छैनौँ ।’ रैथान धानका बिउको संरक्षण र उत्पादनको बाटो खोज्ने हो भने हाइब्रिड तथा विदेशी धानका बिउ आयात गर्नु नपर्ने उनको भनाइ रहेको छ ।

यसैगरी महालक्ष्मी कृषि बिउविजन तथा पशुपँछीपालन समूहले पनि घोराही उप(महानगरपालिका वडा नं १६ मा रैथाने धानको बिउ संरक्षणमा लागिपरेको छ । विगत ५ वर्षदेखि रैथाने धानका बिउ जोगाउन लागिपरेको समूहले जनाएको छ । तिलकी धान र सिम्ठारो धानको खेती गर्दै आएको र उत्पादिन धान बिउको रूपमा प्रयोग गरिने समूहले जानकारी दिएको छ । पछिल्लो समय तिलकी तथा सिम्ठारोको चामलको माग समेत बढ्दै गएको कृषकको भनाइ रहेको छ ।

दाङको पहिचानको रूपमा रहेको तिलकी र सिमठारो धान संरक्षणका लागि बिउ उत्पादनमा पछिल्लो समयमा कृषकहरू लागिपरेको कृषि ज्ञान केन्द्र दाङका निमित्त प्रमुख पिताम्बर बस्नेतले जानकारी दिए । ‘दाङको पहिचानको रूपमा तिलकी र सिम्ठारो धान रहँदै आएको छ’, उनले भने, ‘यो पनि लोप हुन थालेको थियो तर पछिल्लो समय किसानहरू नै यसको संरक्षणमा लागिपरेको पाइएको छ ।’ जिल्लामा तिलकी धानको खेती क्षेत्रफल बढ्दै गएको छ भने सिम्ठारो धानको क्षेत्र अपेक्षित रूपमा बढन नसकेको उनको भनाइ छ । तिलकी धानको खेती घोराही तथा तुलसीपुर क्षेत्रमा गरेर करिब एक सय हेक्टरमा खेती गरिएको पाइएको छ । यसैगरी सिम्ठारो करिब दुई बिघामा खेती गरेको तथ्याङ्क कृष ज्ञान केन्द्र दाङसँग रहेको छ । लोपोन्मुख धानको माग पछिल्लो समय बढदै गएको निमित प्रमुख बस्नेत बताउछन् ।

‘लोपोन्मुख बिउको संरक्षण गर्न सके बिउमा आत्मनिर्भर हुनुका साथै आर्थिक हिसाबले राम्रो आम्दानी गर्न सकिन्छ’, प्रमुख बस्नेतले गोरक्षसँग भने । प्रदेश सरकारले रैथाने बाली संरक्षण गर्न सहयोग गदै आएको उनको भनाइ छ । रैथाने धान सुगर–फ्री, रुखो तथा सिँचाइ नहुने जमिनमा पनि खेती गर्न सकिने, छरुवामा समेत राम्रो उत्पादन हुने कृषक बताउँछन् । स्वास्थ्यका लागि उत्तम सिम्ठारो र तिलकी धान रासायनिक मलबिना नै खेती गर्न सकिने ज्ञान केन्द्रले जानकारी दिएको छ । पछिल्लो समयमा रैथान धानको चामलको माग बढी भएकाले व्यावसायिक खेती गर्न सकिने किसान बताउँछन् । रैथाने धान र चामल हाइब्रिडको तुलनामा बढी मूल्यमा बिक्री हुने भएकाले पनि किसानले उत्पादन गरेको रैथाने धान खेर नजाने देखिन्छ ।

बाइब्रिडतर्फ आकर्षण बढ्दै

जिल्लामा पछिल्लो समय स्थानीय जातको धान लोप हुँदै गएको छ । जिल्लामा सहरीदेखि ग्रामीण क्षेत्रसम्म पुराना धान लगाउन छाडेका छन् । घोराही, देउखुरी तथा पश्चिम दाङका किसानले पुरानो जातको धान सिम्ठारो, तिलकी, विन्देस्वरी, मसिनो झिनुवा, गोपाल र मार्सी धान लगाउन छाडेर हाइब्रिड धान लगाउन थालेका छन् ।

जसले गर्दा पुरानो धान लोप हुँदै गएको कृषि क्षेत्रका जानकार बताउँछन् । पहिले रैथाने धानको खेती गर्ने गरे पनि हाल सो धानको खेती हराउँदै गएको एक कृषकले बताए । ‘जिल्लामा सिम्ठारो, तिलकी, विन्देस्वरीलगायत रैथाने धानको खेती गर्न छाडेका छन्’, उनले भने । पछिल्लो समयमा जिल्लामा कृषकले हाइब्रिड बिउ प्रयोग गर्ने बढेका छन् । धेरैजसो किसानको रोजाइँ हाइब्रिड जातका धान नै छ ।

धेरै उत्पादन हुने तथा कम सिँचाइ र हेरचाहबाट पनि धान उत्पादन हुने भएकाले धेरैको रोजाइँमा रैथानेभन्दा अन्य उन्नत र हाइब्रिड धानको खोतीतर्फ आकर्षित हुने गरेको कृषकहरूको भनाइ छ । पछिल्लो समय किसानले युएस–३१२, युएस–३०५, भिएनआर २२२३, २२४५ र उपजलगायत हाइब्रिड जातका धान बजारबाट खरिद गरी लगाउने गरेका छन् । सरकारले रैथाने धान उत्पादन प्रवर्धन गर्ने नीति ल्याए पनि प्रभावकारी कार्यान्वय भएको पाइँदैन । रैथाने बालीलाई प्राथमिकता दिए रैथाने बालीको संरक्षण हुनुका साथै बिउका लागि धेरै रकम विदेशिनबाट रोक्न सकिन्छ ।
१० प्रतिशतले धान उत्पादन बढ्ने

दाङमा यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि किसान खुसी भएका छन् । समयमै वर्षा भएकाले धान समयमै रोप्न पाउँदा जिल्लामा धान उत्पादनमा वृद्धि भएको किसानको भनाइ छ । तुलसीपुर उपमहानगरपालिका–४ का किसान मोहवीर वलीले यस वर्ष मौसम पानीले साथ दिएकाले धान समयमै रोप्न पाएपछि विगतभन्दा उत्पादन यो वर्ष बढेको बताए ।

‘यस वर्ष गत वर्षभन्दा धेरै धान उत्पादन भएको छ, सबै वातावरण मिलेर होला, धान राम्रै भयो’, उनले भने । किसानले कठ्ठामा चारदेखि पाँच मुरीसम्म धान फलेको बताएका छन् । यसैगरी पश्चिम दाङका किसान सुन्दर चौधरीले पनि समयमा रोपाइँ गरेकाले धान उत्पादन बढेको बताए । रोपाइँ गरेदेखि पसाउँदासम्म धानलाई आवश्यक मात्रामा पानी पुगेकाले उत्पादन बढेको चौधरीको भनाइ छ । यस वर्ष गत वर्षको तुलनामा १० प्रतिशतले धान उत्पादनमा वृद्धि भएको अनुमान गरेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । अहिलेसम्म ७० प्रतिशत किसानले धान भित्राएको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी पृथ्वीराज लामिछानेले बताए ।

‘सबै किसानले धान भित्राई सक्नुभएको छैन, हामी फिल्डमै छौँ, यस वर्ष १० प्रतिशतले धान उत्पादन बढ्ने हामीले अनुमान गरेका छौँ’, उनले भने । लामिछानेले ढिलोसम्म लगातार पानी परेकाले यस वर्ष धानबाली राम्रो भएको बताए । ‘यो वर्ष मौसम अनुकूल भयो, त्यसैले धान उत्पादन बढ्ने देखिएको छ’, उनले भने । जिल्लामा गत वर्ष ३५ हजार दुई सय ८० हेक्टर क्षेत्रफलमा वर्षे धान खेती भएको थियो । यस वर्ष भने करिव दाङमा ३६ हजार एक सय आठ हेक्टर जमिनमा धान रोपाइँ भएको छ । जसबाट एक लाख ७८ हजार चार सय ३४ दशमलव ६ मेट्रिकटन धान उत्पादन हुने अनुमान गरिएको छ । चाडपर्व सकिएसँगै किसानहरू भने धान खेती स्याहार्नमा व्यस्थ छन् । अहिले किसानहरूले विभिन्न आधुनिक प्रविधिबाट धान काट्ने र दाउने गरिरहेका छन् ।