बालाराम खड्का
दाङ, २६ कात्तिक । नेपाली कांग्रेसले संगठनलाई सुदृढ र सक्रिय बनाउने उद्देश्यले १०० दिने विशेष अभियान सुरु गरेको छ । नेपाली कांग्रेसको केन्द्रीय निर्णय अनुसार सुरु भएको भए पनि केही समय अघि देशका विभिन्न ठाउँमा बाढीपहिरोले गरेको असरका कारण केही समयका लागि स्थगित गरिएको थियो ।
विपद्को समयमा कांग्रेसले पार्टीका गतिविधिलाई रोक्दै सम्पूर्ण कार्यकर्तालाई राहत र उद्धार कार्यमा संलग्न हुन निर्देशन दिएको थियो । असोज १३ गतेको कार्यसम्पादन समितिको निर्णय अनुसार रोकिएको सयदिने विशेष अभियान दसैँ, तिहार र छठ पर्व सकिएसँगै पुनः सुरु भएको हो । सयदिने विशेष अभियान दाङमा कात्तिक ६ गते नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधि प्रकाश रसाइली स्नेहीले शुभारम्भ गरेका थिए ।
अभियान अन्तर्गत प्रतिनिधि विभिन्न वडामा खटिएर उद्देश्य अनुसार पार्टीका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन र जनस्तरमा पार्टीलाई थप मजबुत बनाउने गरी लागेको नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीले बताएका छन् । जिल्ला सभापति डाँगीका अनुसार अभियानले पार्टीभित्रको साङ्गठनिक विवाद समाधान गर्न, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिन र पार्टीलाई चलायमान बनाउन सहयोग पु¥याउने अपेक्षा गरिएको छ । यसैगरी वडामा खटिएका पार्टी प्रतिनिधिले विधान अनुसारका पार्टीका गतिविधि भएका छन कि छैनन्, जनताका समस्या के–कस्ता छन्, सरकारप्रति जनताको धारण लगायतबारे बुझ्ने छन् ।
जनताका समस्या पहिचान गरी तिनको समाधानका लागि पहल गर्ने, स्थानीय तह र पार्टी बिचको समन्वयमा भूमिका खेल्ने जस्ता कार्य प्रतिनिधिले गर्ने भन्दै जिल्ला सभापति डाँगीले भने, ‘कांग्रेसको तल्लो शक्तिका रूपमा रहेको वडालाई कसरी संगठित र क्रियाशील बनाउन सकिन्छ भनेर प्रतिनिधिले काम गर्ने छन् ।’ उनका अनुसार सयदिने विशेष अभियानले पार्टीभित्र नेता तथा कार्यकर्तामा रहेको आपसी मनमुटाव र वैमनस्यता हटाउँदै कांग्रेसलाई एकताबद्ध र सुदृढ बनाउने छ । विशेष गरी क्रियाशील सदस्यता वितरणमा भएका विवादलाई समाधान गर्न र पार्टी भित्रको गुट–उपगुटलाई अन्त्य गर्न भूमिका खेल्ने छ ।
यसैगरी अभियानका क्रममा वडाहरूमा कांग्रेस–एमालेको वर्तमान सत्ता गठबन्धनबारे पार्टीका तल्लो स्तरका नेता, कार्यकर्ताको वर्तमान अवस्था र आगामी रणनीतिबारे छलफल गरिने कांग्रेस दाङका सचिव अर्जुन योगीले जानकारी दिएका छन् । वडामा गतिविधिसँगै पार्टीलाई जनताको भावनासँग निकटता बनाउने र संगठनलाई अझै सशक्त र बलियो बनाउनका लागि प्रतिनिधिले जनताका समस्या समाधानका लागि पहल गर्ने, असन्तुष्ट पक्षसँग छलफल गर्ने, संगठनिक गतिविधि के कसरी भइरहेको छ भन्नेबारे बुझ्ने उनले बताए ।
अभियान अन्तर्गत नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापतिहरू, वर्तमान र पूर्व महाधिवेशन, महासमिति सदस्य तथा कार्यसमितिका पदाधिकारीलगायतका जिल्लाका नेता अभियानमा खटिएको सचिव योगीले बताए । उनका अनुसार वडा स्तरमा देखिएका समस्या समाधानका लागि पार्टीले पठाएका प्रतिनिधिले स्थानीय तह र पार्टीको समन्वय गराउन भूमिका खेल्ने छन् । स्थानीय सरकार र पार्टीबिचमा समन्वय हुन नसक्नुको कारण समेत अभियानका क्रममा प्रतिनिधिले पहिचान गरेर समाधानका लागि पहल गर्ने छन् ।

यसैबिच नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि कृष्णकुमार गिरीले यो अभियानले कांग्रेस कार्यकर्ता माझ उत्साह र आशा जगाएको बताएका छन् । उनले बबई गाउँपालिकाको वडा नं. ३ हंसपुरमा भएको कार्यक्रममा सहभागी कार्यकर्ताले आपसी मनमुटाव र असन्तुष्टिलाई थाँती राखेर पार्टीलाई बलियो बनाउन एकजुट हुने अठोट व्यक्त गरेको बताएका छन् । अभियानका क्रममा सानातिना तिक्तता मेटाउने र आगामी दिनमा पार्टीलाई एकीकृत बनाएर अघि बढ्ने सन्देश प्राप्त भएको गिरीले बताए । यो अभियानले नेपाली कांग्रेसका कार्यकर्तालाई आफ्नो जिम्मेवारीबोध गराउँदै सांगठनिक क्रियाकलापलाई अझै बलियो बनाउने काम गरिरहेको बताए ।
उनले बबई गाउँपालिकाको वडा नं. ३ हंसपुरमा भएको कार्यक्रममा सहभागीले आपसी मनमुटाव, वैमनस्य, पार्टीप्रतिका असन्तुष्टिलाई थाँती राखेर मिसन ८४ लाई सफल पार्न सुझाव दिएको बताए । उनले नेपाली कांग्रेसका कार्यकतामा केही नैराश्यता, असन्तुष्टि भए पनि त्यसलाई मेटाएर एकीकृत भएर लाग्ने सन्देश आफूलाई दिएको बताए । ‘१०० दिने विशेष अभियना लगेर वडामा जाँदा मैले कार्यकर्ता र स्थानीय नेता निकै खुसी भएको पाए सानातिना तिक्तताहरू पनि मेटाएर आगामी दिनमा अगाडि बढ्ने उनीहरूले प्रतिक्रिया दिएका थिए’, महाधिवेसन प्रतिनिधि गिरीले भने । नेपाली कांग्रेस वडा इकाइका कार्यवाहक सभापति चन्द्रबहादुर वलीको अध्यक्षता नेपाली कांग्रेसका प्रतिनिधि महाधिवेशन प्रतिनिधि गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेस बबई–३ वडा इकाइका प्रतिनिधि सक्रिया सदस्यहरूको उपस्थिति रहेको थियो ।
बंगलाचुली ३ मा अभियान सुरु
यसैबिच बंगलाचुली गाउँपालिका–३ मा विशेष अभियान सुरु भएको छ । सयदिने विशेष अभियान अन्तर्गत आइतवार वडामा खटिएका प्रतिनिधि विपुल पोख्रेलको उपस्थितिमा अभियान सुरु गरिएको हो । अभियानका क्रममा कांग्रेसको विधान र नीति नियममा भएको व्यवस्थाका बारेमा छलफल चलाउने जनाइएको छ । क्रियाशील सदस्यता वितरण विवाद रहित बनाउन, कांग्रेसभित्रका गुट उपगुट अन्त्य गरी एकताबद्ध र बलियो कांग्रेस बनाउन अभियानले भुमिका खेल्ने प्रतिनिधि पोख्रेलले बताए ।

वडाको वार्षिक क्यालेन्डर निर्माण गर्ने, भ्रातृ संगठन बिस्तार गर्ने र स्थानीय सरकारसँग गुनासोलगायत विषयमा छलफल भएको प्रतिनिधि पोख्रेलले जानकारी दिए । यसैगरी १०० दिनमा प्रत्येक टोल टोलमा पुगेर संगठन बिस्तार गर्ने, समुदायमा कांग्रेसलाई पुर्याउने तथा जनगुनासो सन्ने गरिने बंगलाचुली गाउँपालिका–४ मा प्रतिनिधि खटिएका कृष्ण सुवेदीले जानकारी दिए ।
लमहीमा पनि अभियान सुरु
यसैबिच लमही नगरपालिका अन्तर्गतका प्रत्येक वडामा यो अभियानको उद्घाटन गरिएको छ । लमही नगरपालिका वडा नं. ७ र ९ मा पनि अभियानको सुरुवात गर्नुका साथै प्रत्यक टोलमा जाने गरी मिति तय गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रतिनिधि तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य सुवास न्यौपानेले कांग्रेसलाई मजबुत बनाउन स्थानीय स्तरबाटै लाग्नु पर्ने बताए । देशको आवश्यकता कांग्रेसले मात्रै पूरा गर्न सक्ने भन्दै उनले सबै नेताकार्यकर्ता आपसमा मिलेर जानु पर्ने बताए । सोही अवसरमा ६ जनालाई सदस्यता वितरण गरिएको थियो । नेपाली कांग्रेस लमही–७ का सभापति शालिकराम चौधरीको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण सचिव निरञ्जन सिंहले गरेका थिए ।
यसैगरी लमही–९ मा पनि अभियानको थालनी गरिएको छ । वडा सभापति लीलाधर खड्काको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला प्रतिनिधि तथा महासमिति सदस्य मोहन गिरीले यो अभियानले एकताको सन्देश दिने बताए । एकताबद्ध भएर जनताको सेवामा तल्लीन हुनु पर्ने बताउँदै उनले कांग्रेसको जग बलियो बनाउनु पर्ने बताएका थिए । उनले गुट र उपगुटलाई त्यागेर आत्मीयता र सामिप्यता बढाएर पार्टी र संगठनप्रति इमानदार बन्नु पर्ने बताए ।