वनमा फोहोर फाल्न रोक

टेकबहादुर पुन

देउखुरी, २६ कात्तिक । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रभित्र फोहोर फाल्न रोक लगाएको छ । विगत लामो समयदेखि अव्यवस्थित र दुर्गन्धित फोहोर फालिँदै आइएको अजम्मरी सामुदायिक वन क्षेत्रबाट अन्यत्र डम्पिङ्साइड व्यवस्थापन गर्न भन्दै गत असोज २३ गते सामुदायिक वनले स्थानीय सरकारलाई पटक पटक अनुरोध गरे पनि सुनुवाइ नभएपछि लमही नगरपालिकालाई ध्यानाकर्षण–पत्र सहित एक महिने अल्टिमेटम दिएको थियो ।

ध्यानाकर्षण–पत्रसहित एक महिने दिइएको अल्टिमेटम समय सकिएपछि वन प्रवेशद्वारमा ताला लगाइएको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले जानकारी दिए । उनले भने, ‘लमही नगरपालिकाले कुहिने र नकुहिने फोहोर व्यवस्थापन गर्न सकेको छैन । नगरपालिकाले वषौँदेखि अजम्मरी सामुदायिक वन क्षेत्रमा फोहोर फाल्दै आएको छ तर व्यवस्थापन भने गर्न सकिरहेको छैन ।’ समूहका अध्यक्ष रिजालका अनुसार फोहोर फालिएको स्थानमा फोहर जलाउनाले सडकमा समेत प्रदूषण बढेको भन्दै यस विषयमा आवाज उठेपछि सामुदायिक वन उपभोक्ता समूहले केही समय पहिले उचित व्यवस्थापन गर्न लमही नगरपालिसँग अनुरोध गरेको बताए ।

उनले भने, ‘हामीले आधिकारिक–पत्रसहित लमही नगरपालिका नगर प्रमुखसँग अनुरोध गरेका थियौँ । एक महिना बितिसक्दा पनि नगरपालिकाले अहिलेसम्म कुनै सुनुवाइ गरेको छैन ।’ समूहले डिभिजन वन कार्यालय दाङ, देउखुरीलाई समेत यसबारे जानकारी गराएको छ । जथाभावी रूपमा वनक्षेत्रमा फोहोर फाल्दा वातावरण र वन्यजन्तुलाई गम्भीर असर पुगेको भन्दै समूहले वनमा फोहोर फाल्न रोक लगाएको समूहका अध्यक्ष रिजालले बताए । वन कार्यालय, सामुदायिक वनले स्थलगत अवलोकनको क्रममा लमहीबाट बजारको फोहोरसँगै सेफ्टी ट्याङ्कीको फोहोर समेत फालेको र आगो लगाउने गरेको भेटेपछि यो कदम चालिएको उनले बताए ।

लमही नगरपालिकालाई चाँडो वैकल्पिक व्यवस्थापन गर्न आग्रह गरिएको छ । लमहीबाट फोहोर बोकेको नगरपालिकाको गाडीलाई जङ्गलतर्फ आउन नदिई फर्काउन थालिएको छ । ‘लमहीबाट फोहोर बोकेको गाडीलाई जङ्गल क्षेत्रमा पस्न दिएका छैनौँ । सरोकारवालालाई पनि अब कडाइ गर्न भनेका छौँ’, उनले भने, ‘एक महिनामात्र समय दिइएको थियो । फोहोरले वातावरण धेरै प्रदूषित गरेकाले यो कदम चाल्नु प¥यो ।’

गत वर्ष फोहार व्यवस्थापनलाई तीव्रता दिएको लमही नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयको आयोजनामा वालिङ् नगरपालिकाले सञ्चालन गरेको फोहोर व्यवस्थापन केन्द्रको स्थलगत अध्ययन एवम् अवलोकन गर्दा फोहोर फाल्ने स्थान (डम्पिङ) साइड हो कि पार्क भन्ने विषयमा अलमलमा पर्न गएको थियो । फोहोर वन क्षेत्रमा फाल्दा वातावरण र वन्यजन्तुलाई गम्भीर असर परिरहेको आवाज उठे पनि सुनुवाइ भने अहिलेसम्म नभएको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष रवि श्रेष्ठले बताए । फोहोरमा आगो पनि लगाउनाले झन्डै एक किलोमिटर वरिपरि वनक्षेत्रमा रुखबिरुवा नभएको उनले बताए । ‘यो सबैको सरोकारको विषय भएकाले सबै तर्फबाट आवाज उठ्नुपर्छ’, उनले भने ।