आन्तरिक पर्यटनको गन्तव्य बन्दै गौरी ताल

गोरक्ष समाचारदाता
तुलसीपुर, ६५ कात्तिक । माछापालनको तालका रूपमा चिनिँदै आएको तुलसीपुर उपमहानगरपालिका–१० गौरीगाउँ स्थित प्राकृतिक पोखरी ‘गौरीताल’मा डुङ्गा सञ्चालनमा ल्याइएको छ । धार्मिक एवम् ऐतिहासीक महत्व, माछापालन र डुङ्गा सन्चालन हुन थालेपछि गौरी ताल अहिले आन्तरिक पर्यटनको नयाँ गन्तव्य बनेको छ । वडाध्यक्ष यमराज केसीले उपमहानगरको पर्यटन शाखाले कात्तिक १४ गते डुङ्गा उपलब्ध गराएको बताएका छन् ।

उपमहानगरपालिकाले डुङ्गा उपलब्ध गराएसँगै विधिवत रूपमा शनिवारदेखि गौरी तालमा डुङ्गा सञ्चालनमा आएको बताइएको छ । यसले आन्तरिक पर्यटनमा टेवा पुग्ने वडाध्यक्ष केसीले बताए । तिहार सम्मुखमा आएको हुँदा उतिखेर डुङ्गा प्रदान गरिएको भए पनि अब ताल संरक्षक समितिसँग सम्झौता गरी डुङ्गा चढेबापत् कति शुल्क लिने भनेर निर्णय गरिएको वडाध्यक्ष केसीले बताए । गौरीतालमा पठाइएको डुङ्गा साढेदुई लाख मूल्य बराबरको रहेको जानकारी दिइएको छ ।

उपमहानगरपालिकाको पर्यटन शाखा प्रमुख झरेन्द्र खरेलले हालसम्म तुलसीपुर–१०, तुलसीपुर–१८, तुलसीपुर–१ र तुलसीपुुर–२ का पोखरीमा पर्यटन प्रवर्धनमा टेवा पुगोस् भनेर डुङ्गा प्रदान गरिएको बताएका छन् । अन्यत्र वडाबाट डङ्ँगा सञ्चालन गरिएकोबारे सूचना नदिइएको तर तुलसीपुर–१० को गौरी तालमा भने सञ्चालनको जानकारी पाएको उनले बताए ।

गौरी तालबाहेक अन्य सबै कृत्रिम ताल हुन् । ती पोखरी खेतबारीमा पानी सिँचाइ तथा माछा पाल्ने उद्देश्यले निर्माण गरिएका हुन् । तुलसीपुर उपमहानगरले वडा नं ७ स्थित राप्ती शान्ति उद्यानका लागि पनि एउटा डुँगा खरिद गर्दा लागेको रकम प्रदान गरेको थियो । पर्यटन शाखाका अनुसार डुङ्गा भने उद्यानले आफैँ खरिद गरी ल्याएको हो । उद्यान सञ्चालक समितिका अध्यक्ष डिल्लीराज भण्डारीले एक पटक ढुङ्गामा चढेबापत प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क निर्धारण गरिएको जानकारी दिए ।