परिवार नियोजनद्वारा प्रजनन् ,स्वास्थ्य सेवा जारी, मंगलबारदेखि खोप सेवा पनि

अमरराज आचार्य
दाङ, १४ बैशाख । नेपाल परिवार नियोजन संघ दाङ शाखाले आवश्यक सुरक्षा सतर्कताका साथ आफूले दिँदै आएको अत्यावश्यक प्रजनन् स्वास्थ्य सेवा प्रदान गरिराखेको छ ।

संघले प्रजनन् स्वास्थ्य सेवा पनि अतिआवश्यक सेवा भएकाले सेवा प्रदान गरिएको शाखा प्रमुख बसन्त खनालले जानकारी दिएका छन् । यस प्रकारको सेवा ‘पछि लिन जाउँला’ भनेर नहुने उनको भनाई रहेको छ । संघले सेवा प्रदान गरेको सेवा लिनका लागि जिल्लाका विभिन्न स्थानबाट सेवाग्राहीहरु आइरहेको उनले बताए । ‘सेवा लिनका लागि ५÷६ घण्टा हिडेर पनि आउने गर्नुभएको छ’–खनालले भने । अन्य स्वास्थ्य संस्थामा सेवा पाउन नसकेको कारणले पनि टाढाबाट आउने गरेको उनी बताउँछन् । दैनिक अहिले २० देखि २५ जनासम्मले परिवार नियोजन संघले सञ्चालन गरेको क्लिनीकबाट सेवा लिने गरेका छन् ।

स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुलाई पिपिईको व्यवस्था नेपाल परिवार नियोजन संघ केन्द्रीय कार्यालयले गरिदिएको प्रमुख खनालले बताए । छिट्टै नै संघ अन्तर्गत रहेका जिल्लाका विभिन्न स्थानमा रहेका स्वास्थ्य क्लिनीकहरु पनि सञ्चालन हुने उनको भनाई छ । ‘अहिलेलाई अतिआवश्यक मात्र सेवा लिन आग्रह गर्दछौँ’ शाखा प्रमुख खनालले भने । सबै सेवा प्रदान गर्दा भिडभाड हुने भएकाले समस्या हुनसक्नेतर्फ आफूहरु सजग रहेको खनाल बताउँछन् । सेवा प्रदान गर्दा सेवा लिन आउनेहरुलाई सामाजिक दूरी कायम गरेर, मास्कको प्रयोग र सावुन–पानीले हात धोएर सेवा दिने गरेको संघले जनाएको छ ।

खोप सञ्चालन गदै लकडाउनको कारण राज्यले रोक लगाएको बालबालिकाको लागि दिइने विभिन्न खोप सेवा मंगलवारदेखि सुरु गरिने भएको छ । सरकारले खोप प्रदान गर्ने भनेपछि सेवा सुरु गर्न थालिएको हो । लामो समयसम्म बालबालिकाहरुलाई खोप प्रदान नगर्दा समस्या हुने शाखा प्रमुख खनालले बताए । ‘खोप प्रदान गर्दा भिडभाड नहोस् भनेर २ चरणमा प्रदान गरिने छ’–प्रमुख खनालले भने । विहान ८ बजेदेखि ११ बजेसम्म घोराही उपमहानगरपालिका वडा नं १५ का नागरिकलाई सेवा प्रदान गरिने छ भने ११ बजेपछि अन्य क्षेत्रकालाई सेवा प्रदान गरिने गरी व्यवस्था गरिएको छ