गणेश मन्दिरमा एक लाखको अक्षयकोष स्थापना
हेमराज शर्मा
दाङ, २५ कात्तिक । घोराही उपमहानगरपालिका वडा नम्बर १५ भरतपुर निवासी ऋषिराम शर्माले आफ्नी स्वर्गीय श्रीमती ज्ञाना शर्माको स्मृतिमा गणेश मन्दिर भरतपुरमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुरमा रहेको श्री गणेश समाज सुधार समिति गणेश मन्दिर स्थापना गर्नका लागि ज्ञाना शर्माले महत्वपूर्ण योगदान गरेको र उनको इच्छा अनुसार मन्दिरको दैनिक पूजाआजा गर्न सहज होस् भन्नका लागि ज्ञाना—ऋषि अक्षयकोष स्थापना गरिएको अक्षयकोषदाता ऋषिराम शर्माका छोरा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
गणेश मन्दिर स्थापना गर्नका लागि आमाले सुरुवाती चरणदेखि लागेको र जीवनको अन्तिम क्षणमा मन्दिरको पूजाअर्चनमा सहयोग गर्नका लागि अक्षयकोष स्थापना गरिदिनु भनेकाले मन्दिरमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छोरा पौडेलले बताए । गणेश समाज सुधार समिति भरतपुर दाङले शनिवार एक कार्यक्रमको आयोजना गरी अक्षयकोषको रकम ग्रहण गर्नुका साथै अक्षयकोष स्थापना गर्ने ऋषिराम शर्मा, उनका छोराहरू कृष्णप्रसाद पौडेल र बासु शर्मा, बुहारी बसन्ता पौडेल, ज्वाई दीपक रेग्मीलाई सम्मान गरेको छ ।
गणेश समाज सुधार समितिका अध्यक्ष शंकर गौतमले मन्दिर स्थापनाका लागि स्वर्गीय ज्ञाना शर्मा र उनको परिवारको महत्वपूर्ण योगदान रहेको भन्दै अक्षयकोष स्थापना गरेर अरूलाई पनि प्रेरणादायी कामप्रति प्रोत्साहन गरेको बताए । अक्षयकोषदाताको इच्छा अनुसार अब मन्दिरले उक्त रकमबाट आउने ब्याजले मन्दिरको दैनिक पूजाअर्चनमा प्रयोग गरिने व्यवस्था मिलाइने अध्यक्ष गौतमले जानकारी दिए ।
गणेश समाज सुधार समितिका उपाध्याक्ष टंकेश्वर सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्ने वक्ताले मन्दिर स्थापनामा लाग्ने व्यक्तिबाट अक्षयकोष स्थापनाको सुरुवात भएको भन्दै यसले अरूलाई अक्षयकोष स्थापनामा पे्ररणा दिने बताएका थिए । उनीहरूले मन्दिरको विकासका अन्य व्यक्तिबाट पनि सहयोग भए मन्दिर सञ्चालन र समाज सहयोग गर्न सहज हुने बताएका छन् । कार्यक्रममा दीपक रेग्मी, गोविन्द गौतम, ध्रुवकुमार ज्ञवाली, उदयबहादुर डाँगी, हेमराज शर्मालगायतले भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण गणेश समाज सुधार समितिका सचिव निर्मल गौतमले गरेका थिए ।