गणेशमान र सुवर्णको योगदानबारे चर्चा
गोरक्ष समाचारदाता
दाङ, २५ कात्तिक । नेपाली कांग्रेस दाङले नेपाली राजनीतिका शीर्षव्यक्तिहरू गणेशमान सिंहको ११०औँ जन्मजयन्ती र सुवर्ण शम्शेरको ४७औँ स्मृति दिवस मनाएको छ । शनिवार पार्टी कार्यालयमा आयोजना गरिएको ‘लोकतान्त्रिक आन्दोलनमा गणेशमान सिंह र सुवर्ण शम्शेरको योगदान’ विषयक विचार गोष्ठीमा बोल्ने वक्ताले दुवै नेताको योगदानले २००७ सालको क्रान्ति सफल भएको बताउँदै अहिलेका पुस्ताले गणेशमान र सुवर्णलाई भुल्न नहुने बताएका थिए ।
राणा शासनको अन्त्यका लागि गरिएको आन्दोलनको अगुवाइ र प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर भएर नेतृत्व गरेका सिंह र कांग्रेसलाई आन्दोलनका लागि आवश्यक पर्ने खर्चको व्यवस्थापनमा शम्शेरले महत्वपूर्ण योगदान गरेको बताएका थिए । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएको सहभागीले बताएका थिए । ०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजाले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेको भन्दै सहभागीले अहिलेका नेतामा त्याग र इमानको राजनीति हराएको बताएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेयले अप्ठेरो परिस्थितिमा पार्टीलाई बलियो बनाउन योगदान गरेका नेताबाट प्रेरणा लिँदै वर्तमानका नेता तथा कार्यकर्ताले पार्टीलाई अझ सुदृढ बनाउने दिशामा लाग्नु पर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि रहेका नेता पाण्डेयले पार्टीभित्र एकअर्कामा द्वन्द्वभन्दा पनि पार्टी र जनताको हितका लागि नेता तथा कार्यकता लाग्नु पर्ने अहिलेको आवश्यकता रहेको भन्दै नेता पाण्डेयले भने, ‘नेताहरू आपसमा द्वन्द्व सिर्जना गर्ने निर्वाचनमा अर्कालाई भोट हाल्ने होइन । अग्रज नेताबाट पाठ सिक्दै कठिन परिस्थितिमा पदभन्दा पनि देश, जनता र पार्टीका लागि त्याग गर्नु पर्छ भन्ने सिक्न जरुरी छ ।’
नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापति विरकेशरी गौतमले कांग्रेसलाई जनताको अधिकार र स्वतन्त्रताका लागि समर्पित दलको रूपमा प्रस्तुत गर्दै पार्टीका पुराना नेताले जनताको हितमा गरेका कामलाई अहिलेका नेताले स्मरणसँगै व्यवहारमा लागु गर्नु पर्ने बताए । कार्यक्रममा पूर्व राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले प्रजातन्त्र स्थापनासँगै कांग्रेसको संगठन निर्माणका लागि सिंह र शम्शेरको महत्वपूर्ण भूमिका रहेको बताइन् । आर्थिक रूपमा सम्पन्न परिवार र प्रशस्त अवसर पाउँदापाउँदै पनि दुवै नेताले देश र जनताको परिवर्तनका लागि कांग्रेसमा लागेर महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेकाले अहिले जनताको सम्झनामा रहेको बताइन् ।
कार्यक्रममा बोल्ने अन्य वक्ताले नेपालको राजनीतिक परिवर्तनका लागि गणेशमान सिंहको त्याग, अठोट र निष्ठासँगै शम्शेरको उदारवादी निितको ठुलो भूमिका रहेको बताएका थिए । वर्तमान पुस्ताले विगतका नेताबाट पाठ सिकेर व्यवहारमा लागु गर्न सके कांग्रेसलाई संगठित र बलियो बनाउन सकिने भएकाले नेताका राम्रा पक्षलाई व्यवहारमा अनुशरण गर्नु पर्ने बताएका थिए । वक्ताले गणेशमान सिंहलाई लोकतान्त्रिक आन्दोलनका ‘फादर अफ डेमोक्रेसी’को रूपमा लिने बताएका थिए ।
कार्यक्रममा कांग्रेसका नेताहरु केशव आचार्य, भुपबहादुर डाँगी, मधु न्यौपाने, गिरिजादेवी न्यौपाने, नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापति भेषराज पाण्डेय, क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्का, क्षेत्र नं. २ (क) का सभापति प्रकाश श्रेष्ठ, २ (ख) सभापति अभियान बस्नेत, दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, कांग्रेस बंगलाचुली गाउँपालिका सभापति जागेश्वर अधिकारी, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य निरज गिरी, शिक्षक संघ दाङका अध्यक्ष प्रकाश डाँगी, नेता किरण रेग्मी, गोविन्द रेग्मी, नेपाली कांग्रेस घोराही नगर समिति सचिव पुष्पराज आचार्यलगायतले देशमा राजनीतिक परिवर्तनका लागि गरेका सङ्घर्षहरूको स्मरण गर्दै वर्तमान समयमा नेताहरूले उनीहरूको जीवनीबाट सफल पक्षहरूलाई सिकेर व्यवहारमा लागु गर्दै अघि बढ्नु पर्ने बताएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस दाङका सचिव बालिका लम्सालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव अर्जुन योगीले सञ्चालन गरेका थिए । कार्यक्रमको समापनमा नेपाली कांग्रेस दाङका उपसभापति गिरिराज सुवेदीले सहभागीलाई धन्यवाद ज्ञापन गरेका थिए ।