Goraksha

National Daily

‘युवाहरूले निरासा चिर्नुपर्छ’

गोरक्ष समाचारदाता
दाङ, २५ कात्तिक । नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनालले युवाहरूमा सकारात्मक सोचको विकास हुनु पर्नेमा जोड दिएका छन् । अप्टिमिस्टक क्लब अफ घोराहीको तेस्रो पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य खनालले युवाहरूको सकारात्मक सोच नै समृद्ध समाज निर्माणको आधार भएको बताए ।

‘युवाहरूमा सकारात्मक सोच विकास भए मात्र समाज र राष्ट्रको विकास सम्भव छ’, उनले भने, ‘नकारात्मक सोचले व्यक्ति, परिवार र समाजलाई पछाडि धकेल्छ । यसतर्फ क्लबमा आबद्ध युवाहरूले सोच्नु पर्छ ।’ उनले युवालाई जीवनमा सफलता प्राप्त गर्न सकारात्मक सोचसँगै मिहिनेत र लगनशीलता आवश्यक रहेकाले त्यसपतर्फ ध्यान दिनु पर्ने बताए । साथै युवालाई कुलतबाट टाढा रहन र आफ्नो क्षमता विकासमा ध्यान दिन आग्रह गरेका छन् ।

‘आजको युवापुस्ता भोलिको कर्णधार हुन् । त्यसका लागि युवाहरूमा निराशाभन्दा सकारात्मक सोचको विकास आवश्यक छ’, खनालले भने, ‘त्यसैले युवाले आफ्नो व्यक्तित्व विकासमा विशेष ध्यान दिनु पर्छ । आफ्नो समाज र देशका लागि योगदान दिनु पर्छ ।’ कार्यक्रममा उनले सरकारले युवा लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै यसको सदुपयोग गर्न युवाहरूलाई आग्रह समेत गरेका थिए ।

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष रमेश पाण्डे, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सविन प्रियासन, अप्टिमिस्ट क्लब अफ नेपालका डेपुटी गभर्नर निशान्त आचार्यले सकारात्मक सोचको विकास गर्दै युवाहरूमा भएको निराशालाई चिर्न आवश्यक रहेको बताए । त्यसका लागि स्थानीय तथा प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्न सुझाव दिएका थिए ।

अप्टिमिस्ट क्लब अफ घोराहीका अध्यक्ष सनत गिरीको अध्यक्षतामा भएको कार्यक्रममा अप्टिमिस्ट क्लब अफ नेपालका डाइरेक्टर नेत्रलाल भट्टराई, पुस्तक तथा स्टेशनरी व्यवसायी संघ दाङका अध्यक्ष केशव सुवेदी, अडान नेपालका उपाध्यक्ष रमेश केसी, दाङ जिल्ला उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष ध्रुवराज गहतराज, लायन्स क्लब अफ घोराही सिटीका अध्यक्ष ओविन्द्र महरा, अप्टिमिस्ट क्लब अफ तुलसीपुरका अध्यक्ष एकराज भण्डारी, प्याब्सन दाङका सचिव आदिम केसी, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्रका क्षेत्रीय सचिव शिवलाल महतरालगायतले नवनियुक्त कार्यसमितिलाई शुभकामना दिँदै सामाजिक कार्यमा क्लबले पु¥याएको योगदानको चर्चा गर्दै आगामी दिनमा सहकार्य गरेर अघि बढ्न तयार रहेको बताएका थिए । सहभागीले नवनिर्वाचित कार्यसमितिलाई सामाजिक कार्यमा सक्रिय हुन आग्रह गर्दै क्लबको गौरवशाली इतिहासलाई थप उचाइमा पु¥याउन आग्रह गरेका थिए ।
अध्यक्ष गहतराज

अप्टिमिस्ट क्लब अफ घोराहीको नयाँ कार्यसमिति गठन भएको छ । नवगठित कार्यसमितिको अध्यक्षमा निरञ्जन गहतराज चयन भएका छन् । क्लबको प्रेसिडेन्ट इलेक्टमा प्रदीप सिंह, सचिवमा प्रेमलाल न्यौपाने र कोषाध्यक्षमा बसन्त जिएम, डाइरेक्टरद्वयमा टीका बस्नेत र किरण न्यौपाने रहेका छन् । शपथ ग्रहण कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्ष निरञ्जन गहतराजले क्लबको विकास र समाजसेवाका कार्यक्रमलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले टिमवर्कमा जोड दिँदै सबै पदाधिकारीको सक्रिय सहभागितामा क्लबका गतिविधि सञ्चालन गर्ने बताए । नवनिर्वाचित समितिलाई निर्वाचन संयोजक तेजविक्रम रावतले शपथ खुवाएका थिए । प्रदीप सिंहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव प्रेमलाल न्यौपानेले गरेका थिए ।