दाङ,२४ कात्तिक । पाल्पामा पर्यटक भित्र्याउने लक्ष्य अनुरुप लुम्बिनी प्रदेश सरकारले २०७७ सालमा जिल्लाको तिनाउ गाउँपालिका स्थित नुवाकोटमा सांस्कृतिक डबली निर्माण गर्यो । ऐतिहासिक तथा धार्मिक पर्यटकीय थलोका रुपमा चिनिएको नुवाकोटमा सांस्कृतिक डबली सञ्चाल गरेर पर्यटकहरुको आवागमन बढाउने लक्ष्य अनुरुप ३ करोड ८५ लाख रुपैयाँमा निर्माण भएको डबली निर्माण त भयो तर सञ्चालनमा आउन सकेन ।
प्रदेश सरकारले डबली सञ्चालन गर्न सकेन । स्थानीय तहलाई पनि प्रदेश सरकारले यो डबली हस्तान्तरण गरेन । फलतः निर्माण भएको चार बर्ष सम्म डबली बेवारिसे बन्न पुग्यो । अहिले डबली क्षेत्रमा घाँसै घाँस छ । सरसफाईको कमजोर अवस्थाका कारण डबली कुरुप देखिन्छ भने निर्माण भएका भौतिक संरचना समेत जिर्ण बन्दै गएका छन् । अलपत्र अवस्थामा रहेको डबली सञ्चालनका लागि वर्तमान सरकारले भने प्रकृया अगाडी बढाएको छ । प्रदेश सरकारले यो डबली स्थानीय तहलाई जिम्मा दिने प्रकृया अन्तिम चरणमा पुर्याएको छ ।
स्थानीय तिनाउ गाउँपालिकाले यसअघिका सरकार समक्ष डबली सञ्चालनको अधिकार माग गर्दै आएको थियो । तर पालिकाले यो अधिकार पाउन सकेको थिएन । ‘हामीले डबली सञ्चालनको अधिकार हामीलाई दिनुस् भनेर भनेका थियौँ, हामिले पहिलेको सरकारबाट यो अधिकार पाएको भए अहिले डबलीको अवस्था यस्तो रहने थिएन,’ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले भने ‘अहिलेका उद्योग, पर्यटन तथा यातायात मन्त्री ज्यूले यसको सञ्चालनका लागि धेरै चासो दिनु भयो र पालिकालाई सञ्चालनको अधिकार दिने प्रकृया धेरै अगाडी बढिसकेको छ, अब यो डबली सञ्चालनका लागि हामीले अधिकार पाउने सुनिश्चित भएको छ ।’
उद्योग पर्यटन तथा यातायात मन्त्रालयले यो डबली सञ्चालनको अधिकार स्थानीय तिनाउ गाउँपालिकालाई दिने मन्त्री स्तरिय निर्णय गरिसकेको छ । अब पालिकाले सञ्चालनको कार्यविधि बनाएर मन्त्रालयलाई बुझाउनु पर्ने छ । ‘पाल्पाको ऐतिहासिक र धार्मिक पर्यटकीय थलोमा निर्माण भएको सांस्कृतिक डबली अलपत्र परेको अवस्था रहेछ,’ लुम्बिनीका उद्योग , पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले भने ‘अलपत्र परेको डबली सञ्चालनका लागि स्थानीय तहलाई अधिकार दिनु पर्छ भनेर हामीले निर्णय लियौँ र स्थानीय तिनाउँ गाउँपालिका पनि डबली सञ्चालनका लागि समत भएपछि हामीले यसको हस्तान्तरणको प्रकया अगाडी बढाएका हौँ ।’
मन्त्री न्यौपानेका अनुसार पालिकाले सञ्चालन कार्यविधि बनाएर मन्त्रालयमा पठाएपछि डबली सञ्चालनको निर्णय मन्त्री परिषद बैठकबाट हुने छ । ‘तपाईहरुले सञ्चालन कार्यविधि बनाएर पठाउनुस्, आगामी मन्त्री परिषद बैठकबाट निर्णय गराउन म भूमिका खेल्ने छु,’ केहि दिन अघि डबली अवलोकनका लागि पाल्पा पुगेका मन्त्री न्यौपानेले भने ‘मन्त्री परिषद बैठकबाट निर्णय गराएर डबली तत्काल पालिकालाई हस्तान्तरण गर्न हामी आतुर छौँ ।’ डबली सञ्चालमा आयो भन पाल्पाको नुवाकोटमा पर्यटकहरुको आगमन बढ्ने अपेक्षा गरिएको छ ।
मन्त्री न्यौपानेका अनुसार बुटवलबाट नुवाकोट सम्म केबुल कार हालै देखि सञ्चालनमा आएकाले पर्यटकहरुको संख्या नुवाकोटमा बढिरहेको छ । त्यहाँ नीजि क्षेत्रबाट हालै मात्रै केबुलकार सञ्चालनमा आएको छ । ‘हालै मात्रै केबुलकार सञ्चालनमा आएकाले अहिले नुवाकोटमा पर्यटकहरुको संख्या बढ्दो छ,’ मन्त्री न्यौपानेले भने ‘नुवाकोटमा डबली सञ्चालनमा आयो भने नुवाकोटमा आउने पर्यटकहरुका लागि अर्को रमणीय थलो बन्ने छ ।’
तिनाउ गाउँपालिकाले भने केबुलकार लाई नुवाकोटमा पर्यटकहरु आगमनको बलियो स्रोत मानेको छ । नुवाकोटमा अहिले पर्यटकहरुको आवागमन बढेकाले डबली सञ्चालन गरेर थप पर्यटक बढाउन सकिनेमा पालिका बिश्वस्त देखिन्छ । ‘केबुलकार सञ्चालनमा आएसंगै नुवाकोटमा पर्यटकहरुको चहलपहल बढेको छ,’ पालिकाका अध्यक्ष श्रेष्ठले भने ‘यहाँ आउने पर्यटकहरुलाई एक दिन नुवाकोटमै रोक्नका लागि डबली सञ्चालन अति महत्वपूर्ण मानिएको छ, त्यसैले हामीले यसलाई जति सक्यो चाँडो हस्तान्तरण गर्ने गरि काम गरिरहेका छौँ ।’