बागेश्वरी भगवती मन्दिर,धार्मिक पर्यटकीय सम्भावनाको थलो

गोरक्ष समाचारदाता
दाङ, २४ कात्तिक । बागेश्वरी दुर्गा कालिकादेवी भगवती मन्दिर जिल्लामा धार्मिक आस्थाको केन्द्रसँगै आकर्षक पर्यटकीय स्थलका रूपमा चिनिन्छ । दाङको बंगलाचुली गाउँपालिका–१ उझामा करिब दुई सय वर्ष पहिले स्थापना भएको बागेश्वरी दुर्गा कालिकादेवी भगवती मन्दिरमा भाकल गरेको मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।

त्यही जनविश्वासका कारण भौगोलिक रूपमा विकट क्षेत्रमा मन्दिर भए पनि नियमित पूजापाठ, भाकल र भाकल पूरा भएपछि मन्दिरमा भक्तजन तथा दर्शनार्थी पुग्ने गरेका छन् । मन्दिर गरेको भाकल पूरा भएपछि बागेश्वरी दुर्गा कालिकादेवी भगवतीको पूजासँगै मन्दिरमा घण्टी चढाउने परम्परा रहेको मन्दिरका पुजारी सन्तराम भण्डारी बताउँछन् । मनोकामना पूरा भएपछि भक्तजनले घण्टी चढाउने प्रचलन छ, जसका कारण यो मन्दिरलाई ‘घण्टैैघण्टाको मन्दिर’ पनि भनेर चिन्ने गरिन्छ ।

सन् १८८६ भन्दा अघि नै स्थापना भएको विश्वास गरिएको धार्मिक एवम् ऐतिहासिक मन्दिरको पृष्ठभूमि भने तत्कालीन समयमा स्थानीय सिद्धिराम पाण्डेयकी श्रीमतीलाई सपना प्रताङ्गे भएपछि बागेश्वरी भगवतीको मन्दिर स्थापना गरिएको जनविश्वास रहेको छ । त्यही कारण मन्दिरमा पाण्डेय र भण्डारी थरका दुई जना पुजारी रहने गरेको पुराजी भण्डारीले बताए । उनका अनुसार मन्दिरमा दाङका विभिन्न ठाउँसँगै रोल्पा, प्युठानलगायतका विभिन्न स्थानबाट भक्तजन आउने गरेका छन् ।

विशेष गरेर विजया दशमीका अवसरमा मन्दिरमा चहलपहल बढी हुने गरेको भन्दै मन्दिरका पुराजी भण्डारीले भने, ‘दसैँमा मन्दिरमा बली दिनेदेखि पूजापाठका लागि भक्तजनको भिडभाड हुने गर्दछ ।’ धार्मिक पर्यटनका दृष्टिले अन्त्य सम्भावना बोकेको मन्दिर क्षेत्रमा आवश्यक पूर्वाधारहरू हुन आवश्यक रहेको स्थानीय बताउँछन् । मन्दिरसम्म पुग्नका लागि राम्रो बाटोसँगै मन्दिरमा खानेपानी र शौचालयको व्यवस्था हुन आवश्यक रहेको स्थानीय हेमन्त खनाल बताउँछन् । मन्दिर पुग्नका १२ महिना गाडी चल्ने बाटोसँगै मन्दिर क्षेत्रमा खानेपानी र शौचालयको व्यवस्था गर्न सकिए धेरै सहज हुने उनले बताए ।

‘धार्मिक एवम् ऐतिहासिक दृष्टिले उझामा रहेको बागेश्वरी भगवती मन्दिरचर्चामा रहे पनि यहाँ आउनका लागि राम्रो बाटो छैन । न मन्दिरमा खानेपानीको व्यवस्था छ, न शौचालयको व्यवस्था छ’, मन्दिरका पुजारी भण्डारीले भने, ‘जसले गर्दा एकपटक घुम्न आएको भक्तजन अर्काे पटक आउन अप्ठेरो मान्ने अवस्था छ । यसतर्फ राज्यको ध्यान जान आवश्यक छ ।’ भक्तजनले मन्दिरमा चढाएको भेटी तथा बली चढाइएका बोका टाउकोको बिक्रीबाट सङ्कलित रकमले मन्दिरको आवश्यक भौतिक सुधारसँगै विकास गर्ने काम गरिए पनि स्थानीय सरकारको मन्दिर क्षेत्रको विकासमा ध्यान नदिएको पुजारी भण्डारी बताउँछन् । धार्मिक आस्था र विश्वाससँगै प्राकृतिक सौन्दर्य र रमणीय वातावरणका कारण भौगोलिक विकटता र स्थानीय सरकारले पर्याप्त ध्यान नदिँदा उजादेवी मन्दिर ओझेलमा परेको स्थानीयको गुनासो रहेको छ । मन्दिरका पुजारी भण्डारीका अनुसार धार्मिक पर्यटनको हिसाबले मन्दिरले ठुलो सम्भावना बोकेको छ तर मन्दिरको प्रचारप्रसारसँगै उचित व्यवस्थापन हुन नसक्दा ओझेलमा परेको छ ।

मन्दिरसम्म पुग्नका लागि राम्रो बाटोसँगै प्रचारप्रसार गर्ने र पानी, शौचालयलगायतका व्यवस्था गर्न सके धार्मिक पर्यटकीय स्थलका रूपमा राम्रो सम्भावना रहेको पुजारी भण्डारी बताउँछन् । धार्मिक स्थल, रमणीय वातावरण र इतिहास बोकेको मन्दिरको संरक्षण र विकासका लागि काम भइरहेको भए पनि भौगोलिक विकटताका कारण सोचे काम गर्न नसकिएको बंगलाचुली गाउँपालिका–१ का अध्यक्ष विष्णु कुँवर बताउँछन् । मन्दिर क्षेत्रमा आवश्यक पूर्वाधारसँगै १२ महिना गाडी पुग्न सक्ने स्तरीय बाटो निर्माण गर्न सकिए मन्दिरको प्रचारप्रसारसँगै विकासले गति लिने बताउँछन् । धार्मिक पर्यटनका दृष्टिले राम्रो सम्भावना बोकेको क्षेत्रको विकासका लागि स्थानीय तथा प्रदेश सरकार पहल आवश्यक रहेको बताएका छन् ।