टिप्परका कारण सडक जीर्ण, नागरिकलाई सास्ती

गोरक्ष समाचारदाता
दाङ, २३ कात्तिक । सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्परका कारण तीन वर्ष अघि कालोपत्रे गरिएको घोराही–कमिरेचौर सडकखण्ड जीर्ण बनेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा करिब ३४ करोड १६ लाख रुपैयाँ खर्च गरेर कालोपत्रे गरिएको सडक ओभरलोड बोकेर गुड्ने टिप्परका कारण तीन वर्षमै कालोपत्रे उम्किएर खाल्टाखुल्टीमा परिणत भएको हो ।

सडकमा परेका खाल्टाखुल्टीका कारण कालोपत्रे सडक भेट्नै मुस्किल पर्ने अवस्था भएको छ । खाल्टाखुल्टीसँगै बर्सात्को समयमा खसेको पहिरोका कारण यात्रुलाई जोखिमपूर्ण यात्रा गर्नु पर्ने बाध्यता बढेको छ । सडकको क्षमताभन्दा बढी भार बोकेका टिप्पर गुड्ने भएकाले सडकमा खाल्टाखुल्टीसँगै बर्सात्को समयमा खसेको पहिरोले उक्त सडकमा सवारीसाधन आवागमनमा कठिनाइ हुने गर्छ । ठुला सवारीसाधन चले पनि खाल्टाखुल्टीका कारण कार, मोटरसाइकल, अटोलगायतका साना सवारी साधनमा यात्रा गर्न समस्या हुने गरेको बंगलाचुली गाउँपालिका–४ निवासी खिमबहादर घर्ती बताउँछन् ।

घोराही–कमिरेचौर–प्युठान सडक अन्तर्गत घोराहीको नवलपुरदेखि बंगलाचुली गाउँपालिकाको कमिरेचौरसम्मको करिब १७ किलोमिटर सडक हस्तान्तरण नहुँदै कालोपत्रे उप्किएकाले निर्माण व्यवसायीले सडक बनाउनु पर्ने सडक कार्यालयको अडान छ तर सडक निर्माणको जिम्मा पाएको लुम्बिनी जलजला जेभीले भने सडकको क्षमताभन्दा बढी चुनढुङगाको भार बोक्ने टिप्परका कारण कालोपत्रे गरिएको सडक एक वर्षभित्रै उप्किएको भन्दै आरविटेसनमा निवेदन दिएको छ । समयमै निवेदन उपर सुनुवाइ नहुँदा सडकको अवस्था बिग्रिएर आम नागरिकले दुःख पाउनु पर्ने अवस्था सिर्जना भएको सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्रबहादुर विष्ट बताउँछन् ।

ठेक्का सम्झौताको प्रावधान अनुसार हस्तान्तरण नहुँदै भत्किएको सडकको मर्मतको काम सम्बन्धित निर्माण कम्पनीले गर्नु पर्ने भन्दै प्रमुख विष्टले भने, ‘निर्माणका क्रममा सडक उप्किएपछि त्यो मर्मत गर्ने काम सम्बन्धित निर्माण कम्पनीको हो । मुद्दा जितेको खण्डमा थप क्षतिपूर्ति समेत पाउने अवस्था छ तर निर्माण कम्पनीले विवाद देखाउँदै मर्मत गर्न मानेको अवस्था छैन ।’ जसका कारण सरकारले गरेको करोडौँको लगानी खेर गएको अवस्था छ ।

जीर्ण बनेको सडकका विषयमा पटक–पटक जिल्ला प्रशासन कार्यालयमा छलफल भएको भए पनि ओभरलोड बोक्ने सिमेन्ट उद्योगका टिप्पर नियन्त्रणमा ध्यान नपुगेको बंगलाचुली गाउँपलिका अध्यक्ष तुलसीराम पुन बताउँछन् । ओभरलोड चुनढुङ्गा बोकेर गुड्ने टिप्परलाई नियन्त्रण गर्ने र बिग्रिएको सडकलाई मर्मत गर्न सके जनतालाई हिडडुलसँगै यातायातका साधन सञ्चालनमा सहज हुने बताए । विगतमा भएका सहमति कार्यान्वयन गर्न सके ओभरलोड बोकेर गुड्ने टिप्परलाई नियन्त्रण गर्न सकिने भन्दै अध्यक्ष पुनले भने, ‘सहमति कार्यान्वयनमा सम्बन्धित निकाय उदासीन हुँदा नागरिकले दुःख र जनप्रतिनिधिले गाली खानु पर्ने अवस्था छ ।’

घोराही–सिस्ने खोला–कमिरेचौर सडकखण्डमा दाङमा भएका सम्राट सिमेन्ट उद्योग, घोराही सिमेन्ट उद्योगका टिप्पर दिनहुँ चल्ने गर्दछन् । अत्यधिक भारका गाडी गुडेकै कारण सडक बिग्रिएको, खाल्टाखुल्टीसँगै धुलाम्य भएको भन्दै नागरिकले आन्दोलन गर्ने गरे पनि सडक भने मर्मत हुन सकेको छैन । सडकमा उड्ने धुलोका कारण नागरिकको जीवनमा गम्भीर असर समेत पर्ने गरेको छ । धुलोका कारण बारीमा रोपेको तरकारी, विद्यालयमा पढ्ने बालबालिकालाई विद्यालय आवागमनसँगै समस्या हुने गरेको जुम्लेपानी निवासी मोतीलाल पुनले बताए ।

सडक मर्मतका लागि पटक–पटक आन्दोलन गरे पनि सुनुवाइ नभएको भन्दै उनले भने, ‘सडक मर्मतका लागि पटक–पटक आन्दोलन गर्ने र सहमति हुने तर कार्यान्वयन नहुँदा जनताले दुःख पाउनु पर्ने अवस्था छ ।’ उनले सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्परको तौल चेकजाँचका लागि बंगलाचुलीको कमिरेचौरमा निर्माण गरिएको धर्मकाँटा सञ्चालनमा ल्याउन सके सडक सुधारमा सहयोग पुग्ने बताउँछन् । धर्मकाँटा निर्माण भए पनि सञ्चालनमा नआउँदा टिप्परले ओभरलोड बोक्ने सडकको अवस्था बिग्रिएको बताए ।

भत्किएको सडक मर्मत गर्नु पर्ने र सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्परका लागि बैकल्पिक मार्गको व्यवस्था गर्नु पर्ने भन्दै उनले वैकल्पिक सडक निर्माण हुन नसक्दा नागरिकले दुःख पाउने अवस्थाको अन्त्य नभएको बताए । घोराही नवलपुर सिस्ने खोला–तापा सडकखण्डमा घोराही सिमेन्ट उद्योग, सोना सिमेन्ट र सम्राट् सिमेन्ट उद्योगका चुनढुङ्गा बोक्ने टिप्पर नियमित चल्दै आएका छन् ।