दाङमा धान खरिद सुरु, उत्कृष्ट कृषकलाई सम्मान गरिने

गोरक्ष समाचारदाता
दाङ, २३ कात्तिक । दाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले धान गरिद गर्न सुरु गरेको छ । खाद्यले बुधवारदेखि देउखुरीको गढवा गाउँपालिकाबाट यो वर्ष धान खरिद गर्न सुरु गरेको हो ।

पहिलो दिन ११ क्विन्टल धान खरिद गरेको खाद्यले दोस्रो दिन विहीवार करिब एक सय क्विन्टल धान खरिद गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक सुनारले जानकारी दिएका छन् । जिल्लामा आठ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको खाद्यले धान खरिदका लागि गढवा गाउँपालिकासँग सम्झौता गरेको थियो । सोही अनुसार अहिले किसानको बस्तीमै पुगेर धान खरिद गरिरहेको शाखा प्रमुख सुनारले बताए ।

‘किसानको बस्तीमै आएर धान खरिद गरिरहेका छौँ’, प्रमुख सुनारले भने, ‘यसले गर्दा किसानले धानको सरकारले तोकेको मूल्य पनि पाउनुभएको छ ।’ खाद्यले सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३४ सय १० रुपैयाँका दरले धान खरिद गरिरहेको बताए । धान खरिदका लागि स्थानीय तहसँग सम्झौता गरेको भन्दै शाखा प्रमुख सुनारले यो वर्ष गढवा गाउँपालिकासँगै राप्ती राजपुर गाउँपालिका, लमही नगरपालिका, घोराही र तुलसीपुर उपमहानगरपालिकामा धान खरिद गर्ने तयारी गरिएको बताए ।

खाद्यले एक जना कृषकबाट बढीमा ४० क्विन्टल धान खरिद गर्ने जनाएको छ । धान खरिद गर्दा चिस्यान १८ प्रतिशतभन्दा कम, बाह्य पदार्थ मिश्रण दुई प्रतिशत भन्दा कम, टुक्रेको बिग्रेका दानाको मिश्रण पाँच प्रतिशतभन्दा कम भएको हुनु पर्नेछ । सबै धान एकनासको, नभिजेको सफा, किरारहित, ढुसी नपरेको हुनु पर्ने प्रमुख सुनारले बताए । खाद्यले जिल्लामा यस वर्ष आठ हजार क्विन्टल धान खरिद गर्ने प्रमुख सुनार बताउँछन् । केही वर्ष अघि जिल्लामा धान खरिद गर्न रोकेको खाद्यले यस वर्ष धान खरिद गर्ने निर्णय गरेको हो ।

केन्द्रले धान खरिदका लागि परिपत्र गरेपछि धान खरिद गर्न थालेको हो । असोज २३ गते परिपत्र गरेर जिल्लामा आठ हजार क्विन्टल धान खरिद गर्ने भनेको कार्यालयले जनाएको छ । ‘धान खरिद गर्नका लागि परिपत्र गरिएपछि जिल्लामा धान खरिदको काम सुरु गरेका छौँ’, शाखा प्रमुख सुनारले भने, ‘कोटा पूरा नहुन्जेल धान खरिद गरिरहन्छौँ ।’ यस अघि खाद्यले जिल्लामा धान खरिद गरे पनि कुटानीका लागि बाहिर पठाउँदै आएको थियो । यस वर्ष कोटा पूरा भएमा जिल्लामै कुटानी गरिने कार्यालयको तयारी रहेको छ ।

धान थोरै भएमा कुटानीका लागि बाहिर पठाउनु पर्ने बाध्यता भए पनि धेरै धान खरिद हुँदा कुटानीको ठेक्का आह्वान गरिने उनले बताए । कम्पनीले धान खरिद गर्ने भएपछि सरकारले तोकेको मूल्यमा कृषकले धान बिक्री गर्न पाउने भएका छन् । खाद्यले धान खरिद नगर्दा व्यापारीले तोकेको मूल्यमा धान बिक्री गर्न कृषक बाध्य छन् । कम्पनीले दिनेभन्दा व्यापारीले कम मूल्यमा धान खरिद गर्ने गरेको कृषक बताउँछन् ।

आर्थिक वर्ष २०८१÷०८२ का लागि मोटा धानको प्रतिक्विन्टल ३४ सय १० रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३५ सय ८० रुपैयाँ तोक्ने निर्णय भएको छ । यस वर्ष दाङमा ३७ हजार दुई २५ हेक्टर जमिनमा धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार उक्त जमिनमा धान रोपाइँ भएको हो । गत वर्ष ३५ हजार तीन सय ८४ हेक्टरमा धान रोपाइँ भएको थियो ।

धेरै धान उत्पादन गर्नेलाई सम्मान

यसैबिच राप्ती गाउँपालिकाले पालिकाभित्र धेरै धान उत्पादन गर्ने कृषकलाई सम्मान गर्ने भएको छ । आर्थिक वर्ष २०७९÷०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ‘खाद्य (धान) बाली बढी उत्पादन गर्ने किसानलाई सम्मान’ कार्यक्रम सञ्चालन गर्ने भएको हो । सम्भवतः यस प्रकारको कार्यक्रम जिल्लामै पहिलो हो । जिल्लामा अन्य पालिकामा यस प्रकारको कार्यक्रम सुरु भएको छैन ।

कार्यक्रममा सहभागी हुन इच्छुक किसानलाई आवेदन दिन समेत पालिकाले आह्वान गरेको थियो । पालिकाले गत असोज ८ गते सूचना प्रकाशित गरेर असोज २२ गतेसम्म निवेदन माग गरेको थियो । यसरी माग गरिएपछि १६ जना कृषकले निवेदन दिएको पालिकाका कृषि शाखा अधिकृत प्रदीप खत्रीले जानकारी दिए । कार्यक्रमका लागि कम्तिमा पाँच कट्ठा जग्गामा धान खेती गरेको हुनु पर्ने मापदण्ड तोकिएको छ । निवेदन परेका कृषकको कृषि शाखाका कर्मचारीले निगरानीमै धान भित्राएका छन् । निवेदन परेका कृषकको फिल्डमा गएर कृषि शाखाका प्रतिनिधिको रोहवरमा धान भित्राएको कृषि शाखाका अधिकृत खत्रीले बताए ।

‘निवेदन परेका सबैको रेकर्ड लिएका छौँ, उत्कृष्ट कृषकको निर्णय भइसकेको छैन’, उनले भने, ‘केही दिनमा निर्णय गर्ने छौँ ।’ कृषकलाई प्रोत्साहन गर्नका लागि यस प्रकारको कार्यक्रम सञ्चालन गर्न थालेको बताए । नयाँ कार्यक्रमले कृषकलाई थोरै भए पनि कृषि पेसामा लाग्न प्रोत्साहन मिल्ने पालिकाको अपेक्षा छ । कृषकलाई प्रोत्साहन गरे उत्पादनमा समेत वृद्धि गर्न सकिने पालिकाले जनाएको छ । खाद्यान्नलाई प्रोत्साहन गर्न नीति गाउँपालिकाले लिएको जनाएको छ । उत्कृष्ट कृषकलाई गाउँपालिकाले औपचारिक कार्यक्रमको आयोजना गरेर सम्मान गर्ने जनाएको छ । पालिकाले प्रथम हुने कृषकलाई १२ हजार, द्वितीयलाई १० हजार, तृतीयलाई आठ हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ ।