अमरराज आचार्य
दाङ, २२ कात्तिक । घोराही उपमहानगरपालिका–१४ झिँगौरा निवासी पुष्प व्यवसायी लोकेन्द्र रोका मगरले यसपटक जिल्लामा उत्पादित फूल बाहिर जिल्ला निर्यात गरे । लोकेन्द्रले तिहारको सिजनमा कपिलवस्तु, बुटवललगायतका स्थानमा पूmल निर्यात गरेको बताउँछन् । उनले जिल्लामा खपत भएको भन्दा बढी फूल तथा माला जिल्ला बाहिर निर्यात गरेको बताए । पुष्प व्यवसायी इन्द्रा बुढाले पनि पोखरा, स्याङ्जा, काठमाडौं, धनगढीलगायतका जिल्लामा तिहारका लागि फूल तथा माला निर्यात गरेको बताइन् । घोराही उपमहानगपालिका–१३ डुमरगाउँमा व्यावसायिक फूल खेती गर्दै आएकी इन्द्राले तिहारमा करिब आठ हजार माला जिल्ला बाहिर पठाएको बताइन् । यसले गर्दा आफूलाई पुष्प व्यवसायबाट केही भए पनि राहत मिलेको बताइन् ।
उनीहरू मात्र होइन जिल्लामा व्यावसायिक फूलखेती गर्दै आएका व्यवसायीले फूल तथा माला जिल्ला बाहिर निर्यात गर्न थालेका छन् । व्यवसायीले पूmल तथा माला जिल्लामा खपत हुन नसकेपछि जिल्ला बाहिर पठाउने गरेको बताउँछन् । जिल्लामा फूल उत्पादन बढ्दो तर माग कम भएपछि जिल्ला बाहिर पठाउनु परेको उनीहरू बताउँछन् । ती व्यवसायीले आफूले उत्पादन गरेका फूल तथा माला अटो तथा मोटरसाइकलमा राखेर बजारका चोकचोक र गाउँसम्म बिक्रीका लागि पु¥याएको बताए । यति गर्दा पनि जिल्लामा फूल तथा माला खपत नभएको उनीहरूको भनाइ छ । फूल तथा माला जिल्ला बाहिर निर्यात गर्न नसकेका व्यवसायीका फूल तथा माला बिक्री हुन नसकेको उनीहरूको भनाइ छ । यस वर्ष धेरैजसोको घरमा फूल भएकाले फूल तथा माला खपत कम भएको ती व्यवसायीको अनुमान छ । गत वर्ष फूल बिक्री नहुँदा घाटा व्यहोरेका व्यवसायीले यस वर्ष क्षेत्रफल समेत घटाएका थिए ।
यस वर्षको तिहारमा गत वर्षको तुलनामा फूल तथा माला बिक्री कम भएको जलजला पुष्पखेती फर्मका सञ्चालक समेत रहेका लोकेन्द्रले बताए । गत वर्ष चार लाख रुपैयाँको फूल बिक्री गरेका लोकेन्द्रले यस वर्ष तीन लाख रुपैयाँको मात्र फूल बिक्री गरेको बताए । उनका अनुसार प्रतिमाला एक सयदेखि एक सय ५० रुपैयासम्ममा बिक्री गरेका थिए । सरकारले स्थानीय स्तरमा उत्पादन भएका फूल तथा मालाको बिक्री तथा बजारीकरणमा सहयोग नगरेका कारण व्यवसायी मारमा पर्ने गरेको उनको भनाइ छ । ‘सरकारले स्थानीय उत्पादनलाई प्राथमिकता नदिँदा हामी फूलखेती गर्ने व्यवसायी मारमा परेका छौँ’, उनले भने ।
बाहिरबाट फूल आयात गर्दा स्थानीय स्तरमा उत्पादन भएका फूल बिक्री हुन नसकेको र स्थानीय सरकारबाट समेत आफूहरूलाई सहयोग नगरेको उनी बताउँछन् । उत्पादनको ज्ञारेन्टी राज्ले गरिदिनु पर्ने उनी बताउँछन् । गत वर्ष दुई बिघा जग्गामा फूलखेती गरेका उनले यस वर्ष ३० कठ्ठा जग्गा मात्र भाडामा लिएर फूलखेती गरेका बताए । जग्गा भाडामा लिएर उनले करिब १२ वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएका छन् ।
रोजगारीको सिलसिलामा सात वर्ष विदेशमा बिताएका रोकाले जिल्लामा दसैं–तिहारलगायतका पर्व एवम् अन्य शुभकार्यका लागि फूलको माग देखेपछि फूलखेती गर्न थालेका थिए । ‘दाङमा व्यावसायिक रूपमा फूलखेती कतै थिएन, काठमाडौंतिर फूलखेती पनि व्यावसायिक रूपमा गरेको देखेको थिएँ अनि यहाँ फूलखेतीको सुरुवात गरेको हुँ’, लोकेन्दले भने । उनले अहिले भारतको कोलकाताबाट अफ्रिकन मेरीगोल्ड जातको सयपत्रीको बिउ ल्याएर व्यावसायिक खेती गर्दै आएका छन् ।
घोराही बजार नजिकै फूलखेती गरेपछि पहिले आफूलाई बजारको कुनै समस्या नभएको उनको भनाइ छ । अघिल्ला वर्षमा आफूले उत्पादन गरेका पूूmल तथा माला धेरैजसो यहीँ जिल्लामै खपत हुने गरेको उनले बताए । जिल्लाको घोराही, तुलसीपुर, लमही र भालुबाङ बजारबाट समेत फूलको माग हुने गरेको थियो । पहिले तिहारका लागि मात्रै सयपत्री फूल उत्पादन गर्ने गरे पनि लोकेन्द्रले बाह्रै महिना फूल उत्पादन सुरु गरेका छन् । ‘जिल्लामा सधैँ फूलको माग हुने भएकाले बाहै्र महिना फूल उत्पादन गर्न थालेको हुँ’, लोकेन्द्रले भने ।
वर्षात र बढी चिसो मौसममा भने केही समस्या हुने भए पनि अत्य समयमा फूल उत्पादन राम्रो हुने उनी बताउँछन् । अहिले सजावटका लागि फूलका बिरुवा, उत्पादन तथा बिक्री गर्दै आएको उनले बताए । आफूसँगै परिवार तथा अन्यलाई समेत रोजगारी दिएको उनको भनाइ छ । ‘व्यावसायिक रूपमा समय लगाएर काम गर्ने हो भने सम्भावना राम्रो छ’, लोकेन्द्रले भने । फूलको माग दसैं–तिहारमा बढी हुने गरेको उनको भनाइ छ । यसैगरी विभिन्न औपचारिक कार्यक्रम, विवाह, पूजाआजाका लागि फूलको माग हुने गरेको उनको भनाइ छ । जिल्ला फूलखेतीका लागि उपयुक्त रहेकाले यसको सदुपयोग गर्न समेत उनको आग्रह छ ।
केही वर्षदेखि घोराही–१३ डुमरगाउँमा व्यावसायिक फूलखेती गर्दै आएकी इन्द्राले आफूले उत्पादन गरेका फूल तथा माला जिल्ला बाहिर निर्यात गरेकी छन् । उनले जिल्लामा भन्दा बढी फूल तथा माला बाहिरी जिल्लामा निर्यात गरेको बताइन् ।
‘तिहारमा मैले जिल्लामा करिब दुई हजारवटा फूल तथा माला बिक्री गरे भने करिब आठ हजार बढी माला जिल्ला बाहिर पठाएको हुँ’, उनले भनिन्, ‘बाहिर पठाएकाले बिक्रीका लागि सहज भएको हो, धेरैले उत्पादन गर्दा जिल्लामा बिक्री गर्न त अलि समस्या छ ।’ जिल्लामा यस वर्ष फूलको माग कम भएकाले जिल्लामा फूल तथा माला खपत कम भएको उनले बताइन् । घरघरमा आफूलाई आवश्यक पर्ने फूल उत्पादन भएपछि माग कम भएको उनले बताइन् । केही व्यवसायीले फूल तथा माला बिक्री हुन नसकेपछि सस्तो मूल्य तथा खेर पाल्नु पर्ने अवस्था आएको उनले बताइन् ।
उनले तिहारका लागि मात्र नभई १२ महिना नै फूलखेती गर्ने गरेकी छिन् । उनले केही वर्षदेखि फूलखेती गर्दै आएकी छिन् । यस वर्ष उनले १० कठ्ठा जग्गामा फूलखेती गरेकी छन् । यसरी जिल्लामा फूल उत्पादन बढ्दै गएपछि फूल खरिदका लागि बाहिरिने रकम समेत जिल्लामा रहने गरेको छ भने फूल तथा माला बाहिर निर्यात गर्दा जिल्लामा रकम भित्रिने गरेको छ । यता कृषि ज्ञान केन्द्र दाङले फूलमा जिल्ला आत्मनिर्भर रहेको बताएका छन् । बाहिरबाट फूल निर्यात गर्नु पर्ने अवस्था नभएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख पिताम्बर बस्नेतले जानकारी दिए । बजारको ग्यारेन्टी भएमा फूल खेती उत्पादन हुने क्षेत्र समेत वृद्धि हुने उनको भनाइ छ ।