खेमराज रिजाल
तुलसीपुर, १५ कात्तिक । यसपालीको तिहारको यमपञ्चक सुरु भइसकेको छ । भाइटीकाका सामान जुटाउन चेलीहरूको भिड बजारमा बढेको छ । पसलमा मात्र नभएर सडक पेटीमा पनि तिहारका टीका र भाइलाई उपहार दिने मसला मिष्ठान्न असरल्ल फिजाइएका छन् । खाद्य स्टोरमा मैदा, चिनी र तेल लिन्नेहरूको भिड छ ।
‘यसपालीको तिहार त निकै महँगो पर्ने भयो साहुजी !’, मैदा मसला र तेलको भाउ सुनेपछि तुलसीपुरको यादव स्टोरमा भेटिएकी एक जना चेलीले आफ्नो व्यथा पोखिन् । ती चेली तुलसीपुरकै एक सहकारी संस्थामा काम गर्थिन् । उनको मासिक तलव १० हजार रुपैयाँ छ । घरमा उनले तीन दाजुभाइलाई टीका लगाइदिने छिन् । उनले नाम उल्लेख गर्न त मानिन् तर स्पष्ट रूपमा आफ्नो भाइटीकाको खर्च विवरण सुनाइन् । ‘मेरो नाम चाहिँ पत्रिकामा नराखिदिनुहोला, खासमा मलाई एक जना भाइका लागि टीका लगाएर उपहार दिँदा कम्तिमा तीन हजार रुपैयाँ खर्च आउँछ’, सहकारीमा काम गर्ने ती चेलीले बताइन् ।
ओखरको मूल्य बढेको छ, तेलमा पनि भाउ बढेको छ, मैदाको भाउ समेत बढेको छ । भाइलाई मरपसला पनि समय सुहाउँदो दिनै प¥यो । त्यसमा कम्तिमा एउटा टिसर्टसम्म उपहार दिनै पर्छ । यी सबैको खर्च जोड्दा उनले एकजना भाइलाई टीका लगाउन मात्रै करिब तीन हजार रुपैयाँको बजेट बनाएकी छिन् । दक्षिणा कति आउँछ भन्ने प्रश्नमा, ‘त्यो त स्वइच्छाले दिने सद्भाव हो, भो पैसामा नबोलौँ, उही औषतमा एक हजार पाँच रुपैयाँ होला है…!’ ती चेलीले उत्तिखेरै स्पष्ट पारिन् । त्यसमा मासुको मूल्य, टमाटरको मूल्य, प्याजको मूल्य, तरकारीको मूल्य त समावेशै छैन ।
तुलसीपुरकै बाहिनी चोक नजिकै डिलाइट कर्नरमा भेटिएकी जहदा मग्गाउँकी चेली गंगा गौतमको पनि अभिव्यक्ति यस्तै थियो । ‘तिहारमा हुने खर्चका विषयमा जिज्ञासा राख्दा गंगाले दाजुभाइ र दिदीबहिनीको सामिप्यताको यो पर्वलाई पैसामा नदाँजौँ भो, हेरिहाल्नु भयो नि यी सामान्…।’ उनले तिहारमा भाइलाई उपहार दिने मसला, मिठाइ र उपहारको मूल्य करिब तीन हजार पाँच सय रुपैयाँ बराबरको हुँदो हो । ‘नेपाली दाजुभाइले दिदीबहिनीलाई दिने दक्षिणा भनेको औषत पाँच सय पाँच रुपैयाँदेखि एक हजार पाँ रुपैयाँ त हो नि’, गंगाले खुलेरै भनिन् ।
खासमा तिहार पर्वले चेलीहरूलाई ऋण बोकाउने अवस्था समेत आउने तुलसीपुर वीपी चोककै एक महिलाले बताइन् । उनी काउलीका बेर्ना बेच्ने कटाहाकी महिला रहिछन् । ‘हाम्रा पर्वभरिमा महिलालाई आर्थिक रूपमा घाटा हुने पर्व भनेकै तिहार हो’, त्यसमा पनि अचेल भएको अस्वाभाविक मूल्य वृद्धिले हामी जस्ता महिला गृहिणीलाई निकै पिरोलेको छ । यो चाहियो र उ चाहियो भनिरहँदा घरमा कमाउने श्रीमान् समेत दिक्क हुने गरेको उनको अभिव्यक्ति थियो ।
तुलसीपुर उपमहानगरपालिका वीरेन्द्र चोक स्थित यादव स्टोरका सञ्चालक यादव गौतमका अनुसार गत वर्ष ६५ रुपैयाँ प्रतिकिलो पर्ने मैदाको भाउ यो वर्ष ७५ रुपैयाँ प्रतिकिलो भएको छ । गत वर्ष सय रुपैयाँ पर्ने पामोलियन पोका तेलको मूल्य सय रुपैयाँ थियो भने यो वर्ष एक सय २० रुपैयाँ पुगेको छ । दाँतेओखरको मूल्य पाँच सय रुपैयाँ प्रतिकिलोबाट सात सय रुपैयाँ प्रतिकिलो, काजुको मूल्य प्रतिकिलो १४ सय रुपैयाँबाट बढेर १७ सय रुपैयाँ पुगेको छ ।
यसैगरी पाँच लिटरको ग्यालेनको तेल एक हजार रुपैयाँबाट १२ सय रुपैयाँ पुगेको गौतमले बताए । छोडा, नरिवल, चक्लेट, किसमिसलगायत सवै किराना आइटमको भाउमा अस्वाभाविक वृद्धि भएको छ । यति साह्रो मूल्य किन बढेको ? यसको जिज्ञासामा यादव स्टोरका सञ्चालक गौतम भन्छन्, ‘माथिबाटै बढेको हो, हामीले त तोकिएको मुनाफा खाएर बेच्नै प¥यो ।’
विशेष गरी पर्वका समयमा दैनिक उपभोग्य सामग्रीको मूल्य अस्वाभाविक रूपमा वृद्धि हुने गरेको गृहिणीहरू बताउँछन् । दसैँताका पनि तरकारी तथा फलफूलको मूल्य आकाशिएको थियो । तर पूर्णिमामा केही तल झरेको तरकारी तथा फलफूलको मूल्य तिहार दैलोमा आउँदै गर्दा फेरि आकाशिएको तुलसीपुर उपमहानगरपालिका–१८ की स्थानीय गृहिणी बिमला केसीले भनिन् । दसैँमा टमाटरको मूल्य प्रतिकिलो एक सय ८० रुपैयाँसम्म पुगेको थियो तर दसैँपछि फेरि ८० रुपैयाँ प्रतिकिलोसम्म झ¥यो । अहिले तिहारको लक्ष्मीपूजा आउनासाथ फेरि ८० मा झरेको टमाटरको मूल्य प्रतिकिलो एक सय ५० रुपैयाँ पुगेको उनको अभिव्यक्ति थियो ।
यसैगरी पर्व नजिकिँदै गर्दा काउली, सिमी, बोडी, भिन्डीलगायत फलफूलको मूल्यमा पनि अस्वाभाविक मूल्य वृद्धि हुने गरेको छ । यो मात्र होइन, दाल, चामल, तेल मैदालगायतका दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक मूल्य वृद्धि भएको उपभोक्ताको गुनासो हुन्छ तर यस्ता अवसरमा मूल्य वृद्धिलाई निगमन गर्ने र नियन्त्रण गर्ने निकाय भने मौन छन् । स्थानीय सरकार र स्थानीय प्रशासनले पर्व लक्षित अनुगमनलाई तीव्रता दिए पनि समग्रमा मूल्यको अस्वाभाविक वृद्धिका विषयमा भने सोधखोज गर्ने गरेको पाइँदैन । यही कारण विशेष गरी तरकारीको मूल्य वृद्धिमा बिचौलियाहरूको मुख्य हात हुने गरेको खुद्रा व्यवसायीले बताएका छन् । ‘तरकारी तथा फलफूलमा सबैभन्दा बढी मुनाफा लिने बिचौलियाहरू नै हुन्, यो कारोबारमा न त तरकारी उत्पादक किसानले सही रूपमा लागत मूल्य पाउँछन्, न त उपभोक्ताले नै सहज र सस्तोमा तरकारी उपभोग गर्न पाउछन्’, तुलसीपुरका एक खुद्रा तरकारी व्यवसायीले भने । पर्वमा हुने अस्वाभाविक मूल्य वृद्धिलाई नियन्त्रण गर्न स्थानीय सरकार र प्रशासन पनि सचेत हुनु पर्ने उपभोक्ताको सुझाव छ ।