काठमाडौं, १४ बैशाख । समाजवादी पार्टीका नेता डा. सुरेन्द्र यादवलाई अपहरण गर्नेहरु बिरुद्ध दर्ता गर्न खोजिएको उजुरी लिन प्रहरीले अस्वीकार गरिदिएको छ । सांसद यादवलाई दुईजना सांसद र पूर्वप्रहरी महानिरीक्षकले अपरण गरेको भन्दै भर्खरै एकीकृत नेपाल समाजवादी पार्टीका शीर्ष नेताहरु डा.यादवका साथ काठमाडौंको टेकुस्थित प्रहरी कार्यालय पुगेका थिए ।
काठमाडौं प्रहरी परिसरका प्रमुख श्याम ज्ञवालीले घटनाको सुरुवात महोत्तरीबाट भएको भन्दै त्यहीँ जाहेरी दिन आग्रह गर्दै त्यहाँ पुगेका पीडित र नेताहरुलाई फर्काइदिएका छन् । जाहेरी लिन नमानेपछि नेताहरु आक्रोशपूर्ण प्रतिक्रिया दिँदै फर्केका थिए ।
सो पार्टीका नेता डा. बाबुराम भट्टराईले ‘ओलीतन्त्रमा कसैले पनि न्याय नपाउने’ ठोकुवासहितको प्रतिक्रिया दिएका छन् । ‘अहिलेको घटना बहालवाला सांसद जो प्रधानमन्त्री निकट छन् र पूर्वप्रहरी महानिरीक्षकको संलग्नतामा घटेको हो । यसको छानविन र अनुसन्धान गर्न हामीले जाहेरी दिन लागेका थियौं । यो सरकारवादी मुद्दा पर्छ । यो राज्य आफैंले मुद्दा अघि बढाउन सक्थ्यो’ उनले भनेका छन् ।
त्यसैगरी अपहरणमा परेका सांसद डा. यादवले भने अनुसन्धानबाट आफूलाई गलत प्रमाणित गर्न चुनौती दिएका छन् ।