बालुवा प्रशोधन उद्योगको बदमासी, डम्पीङका लागि लिजमा लिएको जग्गामा उत्खनन्

शिवराज खनाल
लमही,१४ बैशाख । लमही नगरपालिका–७ फचकपुर स्थित बगारबाबा बालुवा प्रशोधन उद्योगले निजी आवादी जग्गाबाट नदिजन्य पदार्थ अबैध उत्खनन् गरेको फेला परेको छ ।
फचकपुर स्थित उक्त बालुवा प्रशोधन उद्योगले सम्बन्धित जग्गा धनिलाई जानकारी नै नदिई जग्गाबाट नदिजन्य पदार्थ उत्खनन् गरिएको रहस्य फेला परेको हो ।

उक्त जग्गामा नदिजन्य पदार्थ डम्पिङ्ग गर्ने भनी उद्योगले ठेक्का लिएको थियो । तर, डम्पिङ्ग गर्ने भनी ठेक्कामा लिईएको जग्गा नै जग्गा धनिलाई थाहानै नदिइ उत्खनन् गरिदिएपछि सम्बन्धित जग्गा धनीहरुले उद्योग सञ्चालकलाई क्षतिपुर्तीसहित कारबाहीको माग समेत गरेका छन् ।

लमही नगरपालिका–७ का गोपाल केसी, डिल्लीबहादुर केसी र तिलकराम केसीको १८ कठ्ठा ९ धुर क्षेत्रफल रहेको जग्गामा उद्योगले ठुलो खाडल बना नदिजन्य पदार्थ उत्खन्नको काम गरिरहेको छ । बढीमा ६० देखि ८० सेन्टिमिटर गहिराईसम्म नदिजन्य पदार्थ उत्खनन् गर्नुपर्ने कार्यबिधिमा भएपनि उद्योगले ३.४ मिटर गहिराईसम्म उत्खनन् गर्ने काम गरेको छ । यो नियम विपरित रहेको लमही नगरपालिका स्तरिय नदिजन्य पदार्थ उत्खनन् तथा बिक्रि बितरण अनुगमन समितिका सदस्य किशोर कुमार घर्ती मगरले बताएका छन ।

घर्तिको नेतृत्वमा स्थानियसहितको टोलीले आइतवार उक्त क्षेत्रको अगुमनसँगै उत्खनन् गरिएको क्षेत्रको नापजोग समेत गरेको छ । घर्तिले उत्खनन् स्थलको परिमाण निकाली जरिवानासहित उद्योगले राजस्व तिर्नुपर्ने बताएका छन । अबैध चोरी निकासी गर्न कसैलाई पनि अधिकार नभएको उनले बताएका छन ।

क्रसर उद्योगका सञ्चालक खिम बहादुर बुढाथोकीले माछा पालनको लागि उत्खनन् गरिएको बताएपनि उक्त जग्गाबाट गिट्टी बालुवा निकालिएको छ ।
लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, उपप्रमुख देवका बेलबासे, सांसद दामा शर्मा, जिल्ला समन्वय समितिका पदाधिकारी र अन्यको टोली उक्त क्षेत्रको अनुगमन गरेको हो । नगरप्रमुख केसीले उत्खनन् अबैधानिक रहेको र कारबाहीको लागि तत्काल कदम् चालिने बताए ।

यता लमही नगरपालिका–७ का वडाध्यक्ष मोहन गिरिले वडा कार्यालयले उत्खनन्का लागी कुनै किसिमको सिफारिस नगरेको स्पष्ट पारेका छन । उद्योगले उक्त जग्गा उत्खननका लागि कुनै पनि कागजी प्रक्रिया पूरा नगरेको अध्यक्ष गिरीले बताएका छन ।

निजि जग्गा उत्खननका लागि छिमेकी जग्गा धनी सँगपनि सहमति लिनुपर्ने हुन्छ ।