सडकको सीमा मापदण्डबारे ध्यानाकर्षणपत्र

गोरक्ष समाचारदाता
दाङ, १० कात्तिक । राप्ती राजमार्ग अन्तर्गत पर्ने तुलसीपुरको एयरपोर्टदेखि वीरेन्द्र चोकसम्मको सडकको सीमा मापदण्डबारे तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्कालाई स्थानीयले ध्यानाकर्षणपत्र बुझाएका छन् । स्थानीयले सडकको मापदण्ड तत्कालीन समयमा तुलसीपुर नगर विकास समितिले तोकेको नै हुनु पर्ने मागसहित नगर प्रमुख खड्कालाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

ध्यानाकर्षणपत्रमा तत्कालीन तुलसीपुर नगरपालिकाले सहरी क्षेत्र विस्तारको क्रममा वडा नम्बर ५ सीमानादेखि टरिगाउँ विमानस्थलसम्म सडक केन्द्रबिन्दुको दायाँबायाँ कायम गरेको १५÷१५ मिटर सीमालाई मान्यता दिनु पर्ने रहेको राप्ती राजमार्ग सरोकार मञ्चका अध्यक्ष नवराज लामिछानले बताए । मञ्चका अध्यक्ष लामिछानेले सडकको मापदण्डबारे अन्योलता हुँदा सवारी दुर्घटनाको जोखिम बढेको, घरभाडामा लगाउन नसकेको, घरजग्गा बिक्रीवितरणमा समस्या हुने गरेको, दुर्घटनाको जोखिम बढेको, घर नक्सापास रोकिएकोलगायतका समस्या रहेको बताए ।

मापदण्ड अनुसारको सडकमा स्तरोन्नति समयानुकूल हुनु पर्ने, कालोपत्रेको दायाँवायाँ नाला निर्माण हुनु पर्ने, १५ मिटरभित्रका खाडल पुर्नु पर्ने ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ । ध्यानार्षणपत्रमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ र ६ का ७ वटा टोल विकास संस्थाका दुई ९४ जनाले संयुक्तरूपमा हस्ताक्षर गरेका छन् । तुलसीपुर उद्योग वाणिजय संघका पूर्व अध्यक्ष उत्तमकुमार श्रेष्ठले ‘क’ लाइनमा बनेका धेरै संरचना अहिलेकै मापदण्ड अनुसार नक्सापास भएर बनेको हुँदा नयाँ मापदण्ड लागु भएमा ठुलो क्षति हुने बताए । त्यस अवसरमा सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्रबहादुर विष्टले राप्ती राजमार्गको पछिल्लो मापदण्डबारे जानकारी नभएको र अहिले नै भन्न नसकिने अवस्था रहेको बताए ।

उनले पछिल्लो मापदण्ड अनुसार राजमार्गको केन्द्रदेखि दायाँबायाँ २५÷२५ मिटर रहेको र त्यसमा पनि पक्की संरचना बनाउँदा करिब ६ मिटर छोड्नु पर्ने मापदण्ड रहेको बताए । उनले सङ्घीय सरकारको कार्य क्षेत्रभित्र पर्ने भएकाले पनि स्थानीय सरकारको पहुँचभित्र नभएको बताए । तुलसीपुर बजारलाई सुन्दर र व्यवस्थित बनाउन स्थानीय सरकारले आवश्यक पहल कदम थाल्ने बताए । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्र प्रमुख शिवनारायण गोशलीले सडकको स्तरोन्नति हुँदा विद्युतका संरचना हटाउने बताए । कार्यक्रमको सहजीकरण पत्रकार चेतन रेग्मीले गरेका थिए ।