Goraksha

National Daily

तरकारीमा बढ्दो विषादी रोक्न माग

गोरक्ष समाचारदाता
दाङ, १० कात्तिक । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङले तरकारीमा बढ्दो विषादी रोक्न माग गरेको छ । तरकारीमा बढ्दो विषादी प्रयोग रोक्दै नागरिकको स्वास्थ्य र कृषकको आर्थिक अवस्थामा सुधार ल्याउने गरी कार्यक्रम ल्याउन माग गर्दै घोराही उपमहानगरपालिका नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ ।

जिल्ला अध्यक्ष लव अधिकारीको नेतृत्वमा शुक्रवार घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीलाई भेट गरेर तरकारी तथा फलफूलमा बढ्दो विषादीको प्रयोग रोक्न र मानव स्वास्थ्यमा गम्भीर बन्न ध्यानाकषण गराउँदै सातबुँदे ज्ञापनपत्र बुझाएको हो । तरकारी, फलफूल, दुग्धजन्य र कतिपय खाद्यवस्तुहरू खुला रूपमा बिक्रीवितरण रोक्नु पर्ने, पछिल्लो समय क्यान्सर जस्तो भयानक डरलाग्दो रोगका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्नुका कारण विषादीयुक्त तरकारी, फलफूल र दुग्धजन्य वस्तुको दुष्प्रभाव देखिएको हुँदा विषादी प्रयोगसम्बन्धी मापडण्ड पालना गर्न गराउन नेपाल घरेलु तथा साना उद्योग महासंघले स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ ।

ज्ञापनपत्रमा उपमहानगरपालिकाले आवश्यकता अनुसार तरकारी, फलफूल दुग्धजन्य वा खाद्यवस्तुमा विषादी प्रयोग भए नभएको साथै उक्त वस्तुमा पोषणको तत्व परीक्षण गर्ने अत्याधुनिक ल्याव तत्काल सञ्चालनमा ल्याउन व्यवस्था मिलाउन अनुरोध गरिएको छ । यसैगरी कृषक तथा बिक्रेतालाई, कृषकले उत्पादन गरेका तरकारी फलफूल, खाद्यवस्तु र दुग्धजन्य वस्तुमा बिक्री गर्नु अगाडि स्टिकर टाँस गर्ने र सागसब्जीमा डोरीको ठाउँमा स्टिकरले बाँध्ने व्यवस्था अनिवार्य गर्न र उक्त स्टिकरमा उत्पादकको नाम, ठेगाना, सम्पर्क नम्बर, सम्भव भएसम्म पान नम्बर, उत्पादन मिति र मूल्य उल्लेख गरी स्टिकर छपाइ गरी तरकारी, फलफूल, खाद्यवस्तु र दुग्धजन्य वस्तुमा उक्त स्टिकर टाँसेर वा बाँधेर मात्र बिक्री वितरण गर्ने वातावरण सिर्जना गर्न अनुरोध गरिएको छ ।

भारतलगायत अन्य मुलुकमा उत्पादित तरकारी, फलफूल दुग्धजन्य वा खाद्यवस्तुमा समेत विशेष निगरानी गर्न स्टिकर टाँस गर्न अनिवार्य गर्न पनि भनिएको छ । विषादी प्रयोगसम्बन्धी मापदण्ड उल्लङ्घन गर्ने कृषि फर्म वा बिक्रेतालाई कारबाहीको दायरामा ल्याउने, अर्गानिक उत्पादकलाई प्रोत्साहन गर्ने, पुरस्कृत गर्ने र त्यसका आधारमा अनुदान र सुविधा प्रदान गर्ने व्यवस्था मिलाउन ज्ञापनपत्र बुझाएको महासंघका अध्यक्ष अधिकारीले बताए ।

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख चौधरीले नागरिकको स्वास्थ्य बचाउने अभियानमा पालिकाको साथ रहने भन्दै कृषकले उत्पादन गरेका तरकारी, फलफूल तथा दुग्धजन्य वस्तुको वैज्ञानिक परीक्षण गर्न बजारीकरण थप प्रभावकारी बनाउन लागिरहेको बताए । नगर प्रमुख चौधरीले त्यसका लागि कार्यपालिका बैठकसँगै सरोकारका निकायसँग आवश्यक छलफल परामर्श गरी कार्यान्वयन गर्ने बताए । ज्ञापनपत्र बुझाउन महासंघका अध्यक्ष अधिकारीसँगै महासचिव सीता मल्ल, महासंघका सदस्यहरू रेश्मीराज पाण्डे, सञ्जय बोहोरा, विष्णु थापा, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका कार्यक्रम संयोजक प्रदीप मजगैयाँलगायतको सहभागिता थियो ।