किनेको मूल्यमै बिक्री

अमरराज आचार्य

दाङ, १३ बैशाख । उज्यालोविहानी फाउण्डेशन दाङले कृषकहरुबाटै किनेको मूल्यमा उपभोक्तालाई तरकारी बेच्ने गरेको छ । लकडाउनको कारण कृषकहरुले उत्पादन गरेका कृषिजन्य वस्तु खेर जान नदिनका लागि यस प्रकारको कार्य थालेको फाउण्डेशनका अध्यक्ष डा गिररोदन एमसीले बताए । ‘यसले गर्दा कृषकको उत्पादन पनि खेर नजाने र उपभोक्ताहरुले पनि सस्तोमा तरकारी पाउने छन्’ एमसीले भने ‘यो अभियान लकडाउनको अवधिभर सञ्चालन हुने छ ।’ फाउण्डेशनले त्यसका लागि उपभोक्ताहरुसँग अर्डर लिने र त्यो माग बराबरको तरकारी कृषकसँग लिने भएको छ । अहिले धेरै उपभोक्ताहरुबाट माग आउन सुरु गरेको समेत फाउण्डेशनले जनाएको छ ।

‘कृषकबाट किनेर उपभोक्तासम्म पु¥याउँदा एक पैसा पनि बढी लिएको छैन’ एमसीले भने ‘गाडीबाट ढुवानी गर्दा लाग्ने खर्च समेत यस अभियानमा लागेका युवाहरुले नै व्यवस्थापन गरेका छन् ।’ कृषकले उत्पादन गरेको तरकारी उपभोक्तासम्म पु¥याउनका लागि २ वटा गाडी र १ वटा स्कुटी र एउटा मोटरसाइकल प्रयोग गरिएको फाउण्डेशनका सचिव तुला विकले बताए । तरकारी ल्याउनका लागि समिर सिद्धिकीले तेल हालिदिएर सहयोग गरेका छन् ।

अहिले ढिकपुर तथा लमही क्षेत्रबाट तरकारी ल्याउने काम फाउण्डेशनले गरेको छ । उपभोक्ताहरुबाट अनलाइन तथा टेलिफोनबाट मागको अर्डर लिने गरेका विकले बताए । अहिले काँक्रा २० रुपैयाँ केजी, टमाटर २५ रुपैयाँ केजी, करेला ६५ रुपैयाँ केजी, लौका २० रुपैयाँ केजी, भिण्डी ६० रुपैयाँ केजी, बोडी ४५ रुपैयाँ केजी र बन्दा १५ रुपैयाँ केजी विक्री गरेको उनले बताए । अभियानमा २५ जना युवाहरु जोडिएका छन् । यस प्रकारको सेवा घोराही क्षेत्रमा प्रदान गरिएको फाउण्डेशनले जनाएको छ । फाउण्डेशनले लकडाउनको कारण समस्यामा परेकालाई चामल, दाल, नून, तेललगायतको खाद्य सामग्री सहयोग गरेको छ ।

यसैगरेर २५ पिस पिपिई अस्पतालमा सहयोग ७ सय पिस मास्क प्रदान तथा अन्य विपद्मा परेकालाई समेत सहयोग गर्दै आएको उनले बताए ।