बन्धु चन्द आठौं पटक पक्राउ

दाङ,१४ बैशाख । बिप्लव निकट नेकपाको भातृ संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धुकुमारी चन्दलाई प्रहरीले पुन पक्राउ गरेको छ ।

यस अघि विभिन्न जिल्लाबाट पक्राउ पर्दै आएकी चन्दलाई आइतवार दाङ प्रहरीले आठौं पटक पक्राउ गरेको हो । सार्वजनिक मुद्धामा २५ दिन प्रहरी हिरासतमा बसेकी चन्दलाई आज आइतवार जिल्ला प्रशासन कार्यालय दाङले थुना मुक्त गर्न आदेश दिएको थियो ।

जिल्ला प्रशासनय कार्यालय दाङको आदेश अनुसार दुई हजार रुपैया धरौटीमा छुटेकी चन्दलाई प्रहरीले पुनः जिल्ला प्रशासन कार्यालय दाङको गेटबाट पक्राउ गरेको हो ।

२०७५ साल चैत ११ गते अछाम जिल्लाबाट पक्राउ परेकी चन्द लाई जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयले पटक–पटक थुनामुक्त गर्न आदेश दिने गरेपनि प्रहरीले पक्राउ गर्दै आएको छ । पक्राउ परेकी चन्द्रलाई सम्वन्धीत जिल्लामा नराखेर बाहिरी जिल्ला लैजाने प्रहरीको तयारी छ ।