कर्णालीमा सय जनालाई उज्यालो प्रदान

बालाराम खड्का
तुलसीपुर, ८ कार्तिक । कर्णालीका सय जनालाई उज्यालो प्रदान गरिएको छ । मोतियाबिन्दुका कारण आँखा धमिलो तथा आँखा बन्द भएका कर्णाली प्रदेशका स्थानीयहरूले निःशुल्क रूपमा शल्यक्रिया शिविरमार्फत् नयाँ ज्योति तथा उज्यालो प्रदान गरिएको हो ।

नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा कर्णाली प्रदेशको चन्दननाथ आँखा अस्पतालमा भएको तीनदिने निःशुल्क मोतियाविन्दुको शल्यक्रियामा उनीहरूले सो सेवा पाएका हुन् । ने

पाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालको प्राविधिक सहयोग रिडले आई फाउन्डेसनको आर्थिक सहयोग तथा नेपाल नेत्रज्योति संघ जुम्ला शाखा चन्दननाथ आँखा अस्पतालमा भएको निःशुल्क आँखा शिविरमा सय जनाको मोतियाबिन्दुको शल्यक्रियाका साथै छ सय ११ जनाले आँखा जाँच गराएका थिए । घरआँगनमै निःशुल्क शल्यक्रिया आयोजना गरी कर्णालीबासीलाई आँखा स्वास्थ्य सेवा दिएकाले आफूहरू खुसी भएको स्थानीय धनबहादुर बस्नेतले बताए ।

‘यहाँका नागरिकलाई निःशुल्क आँखा शिविरमार्फत् सेवा दिनुभएको छ, सयौँलाई उज्यालो दिनुभयो, हामी खुसी छौँ’, उनले भने । कर्णाली प्रदेशको जुम्लादेखि डोल्पासम्मका सेवाग्राही सेवा लिन आएका थिए । घरआँगनमै आँखाको शल्यक्रिया सेवा पाएको भन्दै उनीहरूले खुसी व्यक्त गरे ।

यसैगरी नेपाल नेत्रज्योति संघ जुम्ला शाखाका सभापति जगदीश चौलागाईले यहाँका नागरिकलाई सेवा दिएकोमा धन्यवाद समेत दिए । निःशुल्क शल्यक्रिया शिविरमा आफूहरूले आँखाको शल्यक्रिया गर्न पाएको भन्दै सेवाग्राही बिना शाहीले खुसी व्यक्त गरिन् । नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले कर्णाली प्रदेशको अन्धोपन न्यूनिकरणका लागि आफूहरू लागिरहेको बताए ।

उनले राप्ती आँखा अस्पतालले विभिन्न दातृ निकायसँगको साझेदारीमा सहयोग जुटाएर शिविर आयोजना गरी यहाँको अन्धोपन न्यूनीकरण गर्ने गरेको बताए । निःशुल्क शल्यक्रिया शिविरमा नेत्र विशेषज्ञ डा हेमचन्द्र झाँ सहितको राप्ती आँखा अस्पतालको प्राविधिक टोलीले सेवा दिएको थियो ।

यसैगरी नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालको प्राविधिक सहयोग, नेपाल नेत्रज्योति संघ कालीकोटको आयोजना तथा रिडले आई फाउन्डेसनको आर्थिक सहयोगमा कात्तिक ८ गतेदेखि आँखा उपचार केन्द्र कालीकोटमा निःशुल्क शल्यक्रिया गरिने छ । शिविरमा लायन्स क्लब अफ स्वर्गद्वारी रक्षाचौर–४ तुलसीपुर, लायन्स क्लब अफ गोरक्ष देउखुरी लमही–५ र रेडक्रसलगायतका संस्थाले शिविरमा बिरामी व्यवस्थापनमा सहयोग गरेका थिए ।