गुनासो आउन नदिने गरी काम गरौ : मन्त्री न्यौपाने

गोरक्ष समाचारदाता
दाङ, ८ कात्तिक । लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले प्रदेशको औचित्य पुष्टि गर्ने दायित्व कर्मचारीहरूको अहम् रहने बताएका छन् । उनले प्रदेशको औचित्य पुष्टि गर्ने गरी काम गर्न निर्देशन समेत दिए । मन्त्रालय र मन्त्रालय मातहतका कार्यालयको पहिलो त्रैमासिक प्रगति समीक्षा कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले प्रदेशलाई समृद्ध बनाएर यसको औचित्य पुष्टि गर्ने दायित्व र भूमिका अहम् रहने बताए ।

‘प्रदेशको समृद्धिका लागि कर्मचारीहरूको भूमिका अति महत्वपूर्ण रहन्छ’, मन्त्री न्यौपानेले भने, ‘आ–आफ्नो भूमिका र जिम्मेवारीप्रति प्रतिबद्ध रहेर सबैले काम गरौँ, प्रदेशमा अपेक्षित नतिजा हासिल गर्न सकिन्छ ।’ कार्यक्रममा सहभागी यातायात व्यवस्था कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूलाई आम नागरिकबाट कुनै पनि गुनासो नआउने वातावरण निर्माण गरेर काम गर्न निर्देशन दिए । यातायात कार्यालयबाट प्रदा हुँदै आएको सेवा सुविधाप्रति आम नागरिकको गुनासो रहेको भन्दै मन्त्री न्यौपानेले आम नागरिकबाट कुनै पनि गुनासो आउने गरी सेवा प्रवाहको व्यवस्थापन मिलाउन निर्देशन दिए ।

‘यातायात कार्यालयबाट प्रवाह भइरहेको सेवा सुविधा सहज रूपमा नआएको भनेर सेवाग्राहीबाट गुनासाहरू आइरहेका छन्’, मन्त्री न्यौपानले भने, ‘कार्यालयबाट प्रवाह भइरहेको सेवा सुविधा सहज रूपमा कसरी प्रवाह गर्न सकिन्छ भन्ने विषयमा योजना बनाऔँ, यसका लागि देखिने प्राविधिक समस्या केही छन् भने मन्त्रालय र कार्यालयबिच बलियो समन्वय गरौँ र सहज सेवा प्रवाहका लागि ठोस योजनाका साथ काम गरौँ ।’

यसैगरी उद्योगतर्फका कर्मचारीहरूलाई निर्देशन दिँदै मन्त्री न्यौपानेले उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गरेर कसरी उद्योगलाई चलायमान बनाउन सकिन्छ भन्ने विषयमा अध्ययन गर्न आग्रह गरे । अहिले नयाँ उद्योग दर्ताको क्रम कम भएको भन्दै मन्त्री न्यौपानेले कैयन उद्योग बन्द समेत भएकोतर्फ गम्भीर बन्नु पर्ने भन्दै मन्त्री न्यौपानेले रुग्न उद्योगहरूलाई चलायमान बनाउन के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न समेत उनले निर्देशन दिए । रुग्न उद्योगहरूलाई सञ्चालन गर्न सरकारले सहायता प्रदान गर्न सकिने विषय उल्लेख गर्दै मन्त्री न्यौपानेले भने, ‘यस्ता उद्योगहरूबारे अध्ययन गरौँ र के गर्दा रुग्न उद्योगहरूलाई चलायमान बनाउन सकिन्छ, यसबारे सोचौँ ।’ कार्यक्रममा सहभागी कार्यालय प्रमुखहरूले तीन महिनाका प्रगति विवरण पेस गरेका थिए ।