मानिस सबै प्राणीभन्दा श्रेष्ठ हो

 एकराज शर्मा अधिकारी

धर्मलाई धारण गर्ने हुनाले मानिस पशुभन्दा श्रेष्ठ हो । जसबाट यस लोकको उन्नति र परलोकमा कल्याण हुन्छ । जहाँ सुख, शान्ति र आनन्द प्राप्त हुन्छ भने त्यो धर्म हो । यस लोक र परलोक सबैलाई धर्मले अडाएको छ । हामीले प्रतिकर्म व्यवस्थालाई स्वीकारेका छौँ । जन्म, मृत्यु स्वीकारेका छौं । यस लोक र परलोकलाई स्वीकारेका छौँ ।

आगोको उष्णतालाई धारणा गरेका छौँ । पानीले शीतलतालाई धारणा गरेको छ, धारणा गर्नु नै धर्म हो । धर्म नभए कुनै वस्तुको अस्तित्व नै रहँदैन । धर्मलाई धारण गर्नु पर्छ । सनातन धर्म नै सार्वभौम धर्म हो । धर्म परिवर्तन हुँदैन । यो अविनाशी धर्म हो, धर्म कहिलै पनि नाश हुँदैन । अरु सबै नाश हुन्छन् । यो परिवर्तनशील संसारमा जेजति वस्तु छन् सबै नाश हुन्छन् । ज्ञानी मानिसले धर्मको पालना गर्नु पर्छ, आनन्द र सुखको इच्छा हुनु मानिसको जन्मजात स्वभाव हो ।

आजकालको वैज्ञानिक युगमा वैज्ञानिकहरुले मानवको सुखभोगको लागि आकाशमा उड्ने वायुयान बनाए । माछा जस्तो पानीमा हिँड्ने जहाज बनाए । जमिनमा छिटो हिँड्ने गाडीमोटर बनाए । टाढाको मानिससँग भेट हुने टेलिफोन र टाढाको कुरा देखिने टेलिभिजन बनाए । बाह्य प्रकृतिलाई विज्ञानले जितिसकेको छ । विज्ञानले गर्न नसक्ने कुरा केही छैन । आजकाल बाहिर सुखसुविधा छ तर भित्र सुख र शान्ति छैन । भित्र मात्र होइन सारा विश्वमा सुख–शान्ति छैन ।

सर्वाङ्ग युद्ध छ, कहिले विश्वयुद्ध हुन्छ भन्ने डर छ । अणुबम पनि बनेका छन् नबनाउने देशले पनि बनाउने तरखरमा छन् । मान्छेमा भोक र तृष्णा बढ्दै गएको छ । त्यसैले भौतिक उन्नति भए पनि मानिसमा सुख, शान्ति छैन । मानिसले सजिलैसँग इच्छालाई त्याग गर्न सक्दैन । शरीर जीर्ण भए पनि मानिसको इच्छा जीर्ण हुँदैन । मर्ने बेलासम्म पनि तृष्णा छाड्न सक्दैन । यस्तो तृष्णारुपी रोगलाई धर्मको माध्यमबाट छोड्न सकिन्छ, होइन भने असम्भव छ । धर्म सत्य रुप हो, प्रकाश रुप हो । अधर्म अन्धकार रुप हो । अन्धकारमा केही देखिँदैन, जस्तो बादलले ढाकिएको आकाशमा सूर्य देखिँदैन त्यस्तै अज्ञानले ढाकिएको आँखाले सत्य देखिँदैन ।

धर्ममा शान्ति छ । जुन देशमा धर्म छ, जुन देशका नागरिकले धर्मको आचरण गर्दछन् त्यस देशमा लक्ष्मीको बास हुन्छ । त्यस देशको उन्नति र प्रगति हुन्छ । जुन देशमा अधर्म छ त्यस देशमा अशान्ति हुन्छ, त्यस देशले प्रगति गर्न सक्दैन । धर्मले आफ्नो उद्धार पनि हुन्छ । विश्वको कल्याण पनि हुन्छ । जसले कर्तव्यलाई त्याग गरेर अधिकार मात्र खोज्छ त्यसले शान्ति प्राप्त गर्न सक्दैन । धर्म पनि दुई किसिमका हुन्छन् । सामान्य धर्म र विशेष धर्म । सामान्य धर्म सनातन धर्म हो । सबैले पालना गर्नु पर्छ । विशेष धर्म सम्प्रदाय अनुसार जाति अनुसार फरक फरक हुन्छन् । हिन्दु, मुस्लिम, इसाई, बुद्ध आदिका धर्म र धर्मग्रन्थ अलगअलग हुन्छन् । सामान्य धर्म सबैको एउटै हुन्छ ।

धर्मको पालना गर्न कठिनाइ अवश्य हुन्छ तर यो कुरा भुल्नु हुँदैन कि हामी सबै एउटैका सन्तान हौँ । सनातन धर्म हामी सबैको धर्म हो । वर्णआश्रम व्यवस्था वैदिक धर्मको विशेषता हो । यो कुरा विज्ञानले अनुमोदन गरेको छ । सबै धर्म सनातन धर्मभित्र नै पर्दछन् । अर्काको धर्मलाई हानी नपुग्ने गरी आफ्नो धर्मको पालना गर्नु पर्छ । हामी सबै एउटैका सन्तान हौँ ।

जेठो, कान्छो दाजुभाइ जस्तो भएर आफ्नो–आफ्नो धर्म पालना गर्नु पर्छ । यसैमा विश्वको कल्याण छ । हिंसा नगर्नु, सत्य बोल्नु, रिस नगर्नु, धैर्य धारणा गर्नु, क्षमा दिनु, इन्द्रीयलाई बसमा राख्नु, नचोर्न,ु अध्ययन गर्नु, पवित्र रहनु, आत्माको चिन्तन गर्नु यी सबै धर्मका लक्षण हुन् । धर्मले गर्दा मानिस पशुभन्दा श्रेष्ठ भएको हो । तडकभडकले मानिस श्रेष्ठ भएको होइन । अग्लो घरमा बसेर श्रेष्ठ भएको होइन । राम्रो गाडीमा चढेर श्रेष्ठ भएको होइन । विश्वलाई संहार गर्ने हतियार बनाएर मानिस श्रेष्ठ भएको होइन ।

मानिसले बुद्धि छ भनेर घमण्ड गर्नु हुँदैन । बुद्धिले नै आज संसारलाई बिगारेको छ । जति मानिसले बुद्धिको प्रयोग गरेका छन् त्यति मानिसले अनर्थ गरेको छ । त्यति पशुले पनि गर्न सक्दैन । पशुले सो जातिलाई जतिसुकै भोको भए पनि खाँदैन तर मानिसले मानिसलाई खान लागिसक्यो । मानिस विवेकले श्रेष्ठ हुन्छ धर्मले श्रेष्ठ हुन्छ । कर्तव्य र अकर्तव्य विचार गर्नाले श्रेष्ठ हुन्छ । ईश्वरको अनुभूति गर्ने क्षमता भए मानिस श्रेष्ठ हुन्छ । मानिस मृत्युको मुखमा गइसकेको छ तैपनि थाहा पाउँदैन ।

मानिसले आफ्नो उद्धार आफैँ गर्न सक्छ । पशुले गर्न सक्दैन । त्यसैले मानिस पशुभन्दा श्रेष्ठ हो । आजकालका प्रगतिशील मानिसले धर्मलाई अफिम भन्दछन् । धर्मद्वारा नै चित्त शुद्ध हुन्छ र आत्माको अनुभूति हुन्छ भन्ने कुरा थाहा छैन । मन र इन्द्रीयको पछि लाग्छन् । मन र इन्द्रीयले विनाशतिर लैजान्छ । रोकसोक र अशान्ति निम्त्याउँछ । मनले मनपरी गर्न सिकाउँछ । छिटै मृत्युको मुखमा पु¥याइदिन्छ । मनलाई आफ्नो अधीन गराउनु पर्छ । धर्म नै मानिसको जीवनको आधार हो । धर्मले नै मानिसलाई पशुभन्दा श्रेष्ठ बनाएको छ ।