भुवन पोख्रेल
आधुनिक विश्व निकै तडकभडभपूर्ण र विकसित छ । आधुनिकताको रङले रङ्गिएको छ । व्यक्तिगत स्वतन्त्रता छ, लेख्न, बोल्न र असन्तुष्टि व्यक्त गर्न एक क्लिक काफी छ । विश्व समुदाय एउटा गाउँकै रुपमा परिणत भएको छ । विज्ञान र प्रविधिको द्रुत विकासले हामी आश्चर्यको विश्व, संसरमा परिणत हुँदै छौँ ।
अहिले बालक, युवा, वृद्ध सबैका हातहातमा मोबाइल र घरघरमा इन्टरनेट जडान गरिएका छन् । दुनिया भर्चुअल संसारमा रमाउने भइसकेको छ । रियल संसारका मानिस र समाजसँग अलग्गिँदै र भर्चुअल संसारमा रमाउँदै र हराउँदै गइरहेको छ । यसले मानिसको मानसिक स्वास्थ्यमा समेत समस्या पैदा गरिरहेको छ । भर्चुअल संसारका लागि आवश्यक पर्ने कुराहरु परिपूर्ति हुनासाथ मानिस रियल संसारबाट हराउँदै गएको साँचो हो ।
भर्चुअल रियालिटी एउटा यस्तो प्रविधि हो जसले कम्प्युटरमा बनाएका संसार र त्यहा रहेका स्थान परिवेश, दृश्य र पात्रहरु यही हामै्र अगाडि भएको छ । भर्चुअल चिज वास्तविक रुपमा हामीसँगै छन् भन्ने अनुभूति गराउँछ । भर्चुअल रियालिटीको अर्थ वास्तविकता जस्तै हो । यो साच्चिकै जस्तो देखिए वा अनुभव भए पनि यो वास्तविक संसारको अनुभव भने होइन । यसको अर्थ प्राविधिको प्रयोगबाट प्राप्त गर्न सकिने एक विशिष्ट प्रकारको वास्तविक अनुभूति हो । यो मानिसले कम्प्युटरमा डिजाइन गरेको एक काल्पनिक परिवेश मात्रै हो । भर्चुअल रियालिटीको दुनियामा पुग्दा जोकोहीलाई पनि आफू त्यही वातावरणमा छु जस्तो अनुभव हुन्छ ।
नेपालमा इन्टरनेट भनेको नै फेसबुक चलाउने हो भन्ने धारणा व्याप्त छ । आयआर्जन राम्रो भएको परिवारको पनि इन्टरनेटलाई शैक्षिक, व्यापारिक र रोजगारीका लागि नभएर फेसबुक र मनोरञ्जनकै लागि प्रयोग गरेको केही अध्ययनले देखाएको छ । सामाजिक सञ्जालले मानव जीवनलाई जति सहजता र सुविधा दिएको छ त्यति नै चुनौती र जटिलता पनि थपिएको छ । भर्चुअल संसारले वास्तविक सम्बन्धलाई भत्काउँदै छ । सामाजिक सञ्जालको अनावश्यक प्रयोगले परिवारका सदस्यबिच दूरी बढाउन ठुलो भूमिका खेलेको छ ।
हिजोआज हामी बढी भर्चुअल, कमर्सियल हुँदै गएका छौँ । आफ्नो घरभित्र के हुँदैछ भन्ने थाहा हुँदैन तर बाहिरी संसारमा के हुँदैछ भन्ने बारेमा जानकार हुन्छौँ । परिवारका सदस्यहरुबिच एक आपसमा कुराकानी गरेर रमाउनुको साटो सामाजिक सञ्जाल, फेसबुक, इन्स्टाग्राम, भाइवर, मेसेन्जर, युटुव, इमो आदिमा रमाउँछौँ । परिवारको सबै सदस्यहरुसँग सँगै बस्दा पनि ध्यान जति हातको मोबाइलमा हुन्छ । कसैलाई कसैसँग बोल्ने फुर्सदै हुँदैन । भावनात्मक दूरी बढ्दो छ । सामाजिक सञ्जालले विश्वसँग सम्बन्ध जोड्यो तर आफैलाई बिर्सियो । आफन्तको वा साथीभाइकोमा जाँदा पहिले सन्चोविसन्चो होइन, वाइफाईको पासवर्ड सोधिन्छ ।
सामाजिक सञ्जालले मान्छेलाई अझ बढी असामाजिक बनाइरहेको छ । वास्तविक सम्बन्धहरु भत्काउँदै सीमित दायराभित्र खुम्च्याइदिएको छ । सामाजिक सञलको गेममा मस्त हुने बालक युवा, वयस्क वास्तविक नजिकमा के भइरहेको छ, उनीहरुलाई थाहा हुँदैन । यसले सामाजिकीकरणको प्रक्रियालाई नै चुनौती थपिदिइएको छ । मानवीय संवेदनालाई ख्याल नगरी मिडिया, फोटो खिच्ने सामाजिक सञ्जालमा राख्ने, लाइक, कमेन्ट, सेयर बटन थिच्नमै केन्द्रित हुन्छौँ ।
कुनै दुर्घटना भएको ठाउँमा सहयोग गर्ने हातभन्दा मोबाइल समातेर सेल्फी खिच्ने हातहरु बढी देखिन्छन् । जसले मानवीय संवेदना कमजोर भएको देखिन्छ । विकसित मुलुकमा सामाजिक सञ्जालका नकारात्मक असरबारे बेलैमा सचेत बनाइन्छ भने हाम्रो जस्तो किासोन्मुख मुलुकमा सामाजिक सञ्जालको लत सङ्क्रमणको रुपमा बढ्दै छ । प्रविधिको सही प्रयोगभन्दा यसको दुरुपयोग बढी रहेको छ । सामाजिक सञ्जालको बढी लतले मानिसभित्र रहेको सिर्जनात्मक प्रतिभा पनि हराउँदै गएको छ ।
अहिलेको आधुनिक समाजमा सामाजिक सञ्जालबिना जोकोहीको जीवन अधुरो छ । साथीभाइ, आफन्त, सहकर्मी आदिसँग सम्पर्कमा रहन पनि सामाजिक सञ्जालभन्दा सजिलो उपायहरु हुन सक्देन । सामाजिक सञ्जालको प्रयोग बन्द नै गराउनुभन्दा यसको नियमन गरी उचित प्रयोग गर्न आजको आवश्यकता हो । बहुआयामिक उपयोगिता भएका सामाजिक सञ्जाल त्यति नै खतर्नाक पनि छन् । कामकाज र दैनि सम्पर्क सामाजिक सञ्जालका स्वस्थ प्रयोग हुन् तर केही मानिस कुनै ठोस प्रयोजन र उद्देश्यबिना नै सामाजिक सञ्जालमा घण्टौा बिताउँछन् ।
सामाजिक सञ्जालले बढाइदिएको पहुँचले पनि आवश्यकताभन्दा बढी नै मानिसबिच सम्पर्क हुने गरेको छ । न्युजफिड स्क्रोल गर्दागर्दै साथीहरुसँग च्याट गर्दागर्दै र अपलोड गरेका फोटोमा आएको कमेन्टमा धन्यवाद दिँदादिँदै मानिसले समय बितेको पत्तै हुँदैन । यो सामाजिक सञ्जालको लतको सङ्केत हो ।
सामाजिक सञ्जालको लतका कारण बेखुसी, आत्मसम्मानको कमी, चिन्ता, डिप्रेसन र अनिद्रा जस्ता मानसिक समस्या देखापर्न सक्ने अनुसन्धानले देखाएको छ । सामाजिक सञ्जालको लत कुनै लागूपदार्थको लतभन्दा खास फरक छैन । मानिसमा लागूपदार्थभन्दा पनि त्यसका कारण मस्तिष्कमा सिर्जना हुने डिपामिन नामक पदार्थका कारण लत लाग्ने गर्दछ ।
डोपामिन खुसीको पदार्थ हो । यसले मानिसलाई आनन्दित महसुस गराउँछ । एक पटकको आनन्दले मानिस अघाउँदैन । कुनै पनि कुराले डोपामिन दिन्छ भन्ने मस्तिष्कलाई ज्ञान भए पनि त्यसको माग भइरहन्छ, त्यो बारम्बार गर्न मन लाग्छ । फेसबुक, ट्विटर, इन्सटाग्राम, ह्वाट्सेट, स्न्याप, टिकटक आदि चर्चित सामाजिक सञ्जालहुन् । यसको प्रयोग दिनानुदिन बढ्दै गइरहेको छ । सामाजिक सञ्जालमा आउने प्रतिक्रियाले मानिसलाई सम्मानको अनुभूति गराउँछ । तपाईँलाई के मन पर्छ, तपाईँका रुचि केमा छ त्यस्तै सामग्री सामाजिक सञ्जालमा भएको कृत्रिम बुद्धिमत्ताले पस्कँदै जान्छ । मानिस झन आकर्षित बन्छ ।
स्मार्टफोन र इन्टरनेटको सुविधा भएपछि त मानिसहरु आफ्नो कामधन्दा भुलेर घण्टौँ सामाजिक सञ्जालमा भुल्न थालेका छन् । प्रविधिको विकाससँग विशेषस गरी युवाहर सामाजिक सञ्जालको कूलतमा फँस्दै छन् । सामाजिक सञ्जालले मानिसको दिमागलाई नराम्रोसँग असर गर्छ । यदि तपाईँले सामाजिक सञ्जालमा कुनै खानेकुराको तस्बिर देख्नुभयो भने भोक बढाउँछ । उक्त खानेकुरा खाउँखाउँ लागेर गलत समयमा भोक पैदा गर्दछ । सामाजिक सञ्जालले मान्छेको खुसीमा पनि असर गर्दछ । सामाजिक सञ्जालले कुनै मानिसलाई भावनात्मक ढङ्गले दुःखी पनि तुल्याउँछ । यसले सोच्ने क्षमतामा असर पु¥याउँछ । मानिसको खुसीलाई खोस्न सक्छ ।
सामाजिक सञ्जालको प्रयोग गर्ने मानिसले पैसा धेरै खर्च गर्ने बानी बढाउँछ । उसका आवश्यकता प्रभावित भइदिन्छ । अरुको देखासिकी गर्ने बानी बढ्छ । आत्मकेन्द्रित आवश्यताभन्दा बाह्य आवश्यकता मानिस असन्तुष्ट भइदिन्छ । जति पैसाले पनि नपुग्ने अन्त्यमा हतास भई खुसी नै हराउँछ ।
आजभोलि मानिसहरु आफ्नो अहङ्कार र रबाफ देखाउन सामाजिक सञ्जालको प्रयोग गर्दछन् । जसको कारण उनीहरु भर्चुअल संसारमा रमाइरहेका हुन्छन् । जब वास्तविक संसार यो होइन भन्ने महसुस गर्दछन् र वास्तविक दुनियासँग सामना गर्नु पर्दा उनीहरु दुःखी हुन्छन् ।
सामाजिक सञ्जालको बढी प्रयोग गर्ने मानिसले अरुको इष्र्या गर्ने गर्दछन् । हामी धेरैजसो आफूलाई अरु मानिससँग आफ्नो तुलना गर्ने गर्छौँ, यस्तो बानीले पनि हामीलाई दुःखी बनाउँछ । धेरैजसो मानिसहरु सामाजिक सञ्जालमा अरु मानिसलाई देखेर मानिसको जीवनशैली र उनीहरुको तस्विरहरु देखेर इष्र्यालु हुन्छ । सामाजिक सञ्जालमा अरुले प्रयोग गरेका सामानहरु देखेपछि धेरै मनमा आफ्नो साथमा पर्याप्त चीजहरु रहेको महसुस हुन्छ र उनीहरुलाई धेरै चीजहरुको आवश्यकता छ भन्ने हुन्छ तर खासमा यस्तो हुँदैन । सामाजिक सञ्जालमा अरुको जीवनलाई देख्दा उठ्ने भावनाले तपाईको खुसीहरुलाई प्रभावित गर्छ ।
लामो समयसम्म सामाजि सञ्जालमा समय बिताउँदा मानिसहरुले आफूलाई एक्लो महसुस गर्दछन् । उनीहरु निराश र क्रोधित महसुस गर्दछन् । यो सब उनीहरुले आफूलाई अरुहरुसँग तुलना गर्दछन् । जबदेखि सामाजिक सञ्जाल प्लेटफर्ममा मानिसहरुको कुराकानी सुरु हुन्छ त्यतिखेरदेखि उही मानिससँग पनि वास्तविक जीवनमा गरिने कुराकानी पातलिँदै जान्छ । सामाजिक सञ्जालमार्फत राम्रो अन्तरक्रिया गर्ने व्यक्ति वास्तविक संसारमा प्रत्यक्ष भेटघाट हुँदा अन्तरक्रिया गर्न गाह्रो मान्छन् ।
यसो भन्दै गर्दा सामाजिक सञ्जालको प्रयोगले व्यक्तिलार्य बेफाइदा मात्र होइन दुव्र्यसनमुक्त भइ सही ढङ्गले प्रयोग गर्न जान्दा फाइदा पनि पुग्छ । सामाजि सञ्जाललाई बन्द गर्नेतर्फ शक्ति खर्चिनुभन्दा देशको गरिमा र अखण्डतालाई कायम राख्ने गरी कानुनी रुपमा व्यवस्थित गर्नु आवश्यक छ । सामाजिक सञ्जालको माध्यमले आम जनताले अभिव्यक्ति स्वतन्त्रता प्राप्त गरेका छन् । सामाजिक सञ्जालमा आउने अफवाहपूर्ण समाचार, चरित्रहत्या, राष्ट्र विरोधी गतिविधि आदिलाई सही मार्गमा ल्याउन कानुन आवश्यक छ । सामाजिक सञ्जालमा अश्लिता प्रदर्शन गर्ने माध्यमले नैतिकतामा ह्रास आइरहेको छ ।
आफूले के उद्देश्यका लागि सामाजिक सञ्जालको खाता खोलेको हो त्यसमा स्पष्ट हुनु जरुरी छ । सामाजिक सञ्जालमा व्यक्तगत सूचना र गोपनियताका कुराहरु नियन्त्रणमा राख्नु पर्छ, फुत्कन दिनु हुँदैन । यसको प्रयोगमा सावधानी प्रक्रिया अपनाउनु पर्छ । सामाजिक सञ्जालमा देखिने जुनसुकै लिङ्क नथिच्ने, गल्ती भए सच्याउने, क्ष्मायाचना माग्ने, सामाजिक सञ्जालमा कुनै कुरा लेख्न र पोस्ट गर्नु अघि आफैलाई प्रश्न गर्ने गर्नु पर्छ ।
साइबर नैतिकता इन्टरनेट र सामाजिक सञ्जालमा गरिने असल व्यवहार हो । यससम्बन्धी नीति नियमको पालना गर्ने भन्ने बुझिन्छ । सामाजिक सञ्जालले छिटोछरितो सूचना आदानप्रदान गर्न, घरमै बसेर स्वदेश तथा विदेशमा प्रत्यक्ष सम्पर्क गर्न, घरमै बसेर अध्ययन, अध्यापन गर्न, खरिदविक्री गर्न, आफ्ना विचार र भावना राख्न सजिलो हुन्छ । त्यसैले सामाजिक सञ्जाललाई आफ्नो निहित स्वार्थ र मनोरञ्जनको साधन मात्र नबनाएर यसमा खर्च हुने समय उत्पादनशील विषयमा उपयोग गरौँ । निजी र सार्वजनिक सेवा प्रवाहमा समेत यसको प्रयोगबाट समुचित फाइदा लिन सकिन्छ । भाइरल हुनका लागि सूचना प्रणाली प्रयोग गरौँ । शिष्टता, मर्यादा र सद्भावको पनि ख्याल गरौँ ।