गोरक्ष समाचारदाता
दाङ, ५ कात्तिक । दाङमा महिला उद्यमीले करिब तीन करोड मूल्य बराबरको खसी–बोका बिक्री गरेका छन् । दसैँको अवसरमा जिल्लाका विभिन्न सामाजिक उद्यमी महिला सहकारीमार्फत् दुई करोड ९२ लाख ७० हजार नौ सय ५८ रुपैयाँ मूल्य बराबरको खसी–बोका बिक्री गरेका हुन् । जसमा एक हजार छ सय ६८ वटा खसी–बोका बिक्री भएका छन् ।
जिल्लामा सबैभन्दा धेरै खसी–बोका बिक्री गर्नेमा लमही नगरपालिका–९ रिहारमा रहेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था रहेको छ । कर्मठले दसैँमा एक करोड आठ लाख ५० हजार दुई सय १७ रुपैयाँ पाँच पैसा रुपैयाँको पाँच सय ८७ वटा खसी–बोका बिक्री गरेको आइएएलभिसी परियोजनाकी बजार सहजकर्ता बसन्ता मगरले जानकारी दिएकी छन् ।
बजार सहजकर्ता मगरका अनुसार लमही नगरपालिका–७ कप्तानगञ्जÞमा रहेको दिपन्न सामाजिक उद्यमी महिला सहकारी संस्थाले ६८ लाख ३४ हजार सात सय २२ रुपैयाँको चार सय एक वटा, लमहीकै वडा नं. १ सुनडबरीमा रहेको नीलकमल सामाजिक उद्यमी महिला सहकारी संस्थाले ३६ लाख २३ हजार एक सय ४५ रुपैयाँको दुई सय सात वटा खसी–बोका बिक्री गरेको छ ।
यसैगरी राजपुर गाउँपालिका–५ जङ्ग्रहवामा रहेको बेला राजपुर सामाजिक उद्यमी महिला सहकारी संस्थाले ३६ लाख ७३ हजार चार सय ६६ रुपैयाँको दुई सय एक वटा, गढवा गाउँपालिका–६ गढवामा रहेको गढवा सामाजिक उद्यमी महिला सहकारी संस्थाले २८ लाख ४७ हजार ९० रुपैयाँको एक सय ७० वटा, लमही नगपालिका–२ केरुनियामा रहेको समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्थाले आठ लाख तीन हजार ४५ रुपैयाँ मूल्यको ४७ वटा, घोराही उपमहानगरपालिका–२ झिङ्नीमा रहेको सुधार सामाजिक उद्यमी महिला सहकारी संस्थाले तीन लाख ६६ हजार सात सय तीन रुपैयाँ सात पैसाको २० वटा र घोराही उपमहानगरपालिका–१३ वनगाउँमा रहेको ज्यामिरे सामाजिक उद्यमी महिला सहकारी संस्थाले दुई लाख ७१ हजार ७६ रुपैयाँको २० वटा खसी–बोका दसैको अवसरमा बिक्री गरेको बाजार व्यवस्थापक मगरले जानकारी दिएकी छन् ।
गाउँ–गाउँमा महिला उद्यमीले उत्पादन गरेका खसी–बोका तुलसीपुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँगै व्यवसायीले खरिद गरेका हुन् । जिल्लामा खरिद गरेका खसी–बोका काठमाडौंलगायतका विभिन्न ठाउँमा पठाउने गरेका छन् ।
सहकारी संस्थाले महिला उद्यमीलाई बाख्रापालनदेखि बजारीकरणमा सहयोग गरेपछि जिल्लामा खसी–बोकाको उत्पादनमा वृद्धि भएको भन्दै बजार सहजकर्ता मगरले भनिन्, ‘पहिलेको तुलनामा पछिल्लो समय जिल्लामा व्यावसायिक रूपमा खसी–बोका उत्पादन बढ्दै गएको छ । यसले महिलालाई आत्मनिर्भर बन्न सहयोग गरेको छ ।’ अहिलेसम्म सहकारीले दसैँलाई लक्षित गरेर खसी–बोका बजारीकरण गरेको भन्दै तिहारका लागि आवश्यक थप खसी–बोका बिक्रीको तयारीमा रहेको बताइन् ।
गाउँघरमा महिलाले पालेका खसी–बोका सहकारी संस्थाले बजारीकरणमा सहयोग गर्न थालेपछि व्यावसायिक रूपमा बाख्रापालन बढ्दै गएको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाका बजार व्यवस्थापक हेमनारायण चौधरीले बताए ।
बजार व्यवस्थापक चौधरीका अनुसार सहकारीमा आबद्ध प्रत्येक सदस्यले कम्तिमा ४÷५ देखि ३५÷४० वटासम्म माउ बाख्रा पाल्ने गरेका छन् । तिनै माउ बाख्राबाट उत्पादन भएका बोका र खसी बिक्री गरेर राम्रो आम्दानी गर्दै आएको चौधरीले बताए । उनका अनुसार सहकारीमा आबद्ध करिब एक सय ४५ बढी महिलाले करिब छ सय खसी–बोका बिक्री गरेका हुन् ।
देउखुरीमा बाख्रापालनका लागि घाँसको समस्या नहुने भएकाले पछिल्लो समयमा अधिकांश महिला व्यावसायिक बाख्रापालनमा जोडिएको लमही नगरपालिका–७ कप्तानगञ्ज निवासी सीता पुनले बताइन् । व्यावसायिक रूपमा जति बाख्रा पाले पनि बिक्रीमा समस्या नहुने भएपछि विगत केही वर्षदेखि व्यावसायिक बाख्रापालनमा जोडिएको बताइन् ।
बाख्रापालन गर्दा आम्दानी समेत राम्रो भइरहेको उनले बताइन् । ‘महिलाले पालेका खसी तथा बोकाको बजारीकरणमा सहकारी संस्थाले सहयोग गर्ने भएपछि बिक्रीमा समस्या हुँदैन । जसले गर्दा धेरै महिला व्यावसायिक बाख्रापालन जोडिनुभएको छ’, उनले भनिन्, ‘जति बाख्रापालन गरे पनि बिक्रीमा समस्या भएको छैन ।’
व्यावसायिक रूपमा गरिएको बाख्रापालनले घरका लागि राम्रो आम्दानी हुने गरेको बाइन् । आइएएलभिसी परियोजना ग्रामीण महिला उत्थान केन्द्र र हेफर इन्टरनेसनल नेपालको संयुक्त साझेदारीमा सञ्चालित छ ।