नारायणप्रसाद श्रेष्ठ
साधना जीवनलाई स्वःस्पूmर्त र गतिशील बनाउँदै शुद्ध विचार प्रवाह गराउने सशक्त माध्यम हो । मन, वचन र कर्मलाई एकाग्र गरी भविष्य निर्धारण गर्न जागरुक गराउने यो सजिलो आधार हो । ध्यान योगले विचारमा शुद्धता ल्याउँछ भने साधनाले प्राप्त हुने अनगणित विचारलाई छटनी गरी मनलाई चञ्चल हुनबाट बचाउँछ । पवित्र विचार र कर्मलाई सफलता उन्मुक बनाउँछ । कर्म नै जीवन हो भन्दै यसलाई साकार बनाउन मद्दत गर्दछ ।
मानिसले जव शुद्ध र पवित्र मनले साधनालाई अपनाउछ । तब उसले उत्तम गति प्राप्त गर्न सक्दछ । यसको लागि तन, मन र कर्मले परिपोषित शुद्ध मन राखी साधना गर्नु पर्दछ । एकाग्रह भई जब मानिसले आपूmलाई आफ्ना कर्ममा तल्लीन गराउँछ, समर्पित हुन्छ, तब त्यहाँ परिणाम देखापर्ने अवस्था रहन्छ । जब परिणाम आउन सुरु हुन्छ, त्यसपछिको साधना अझ सशक्त भई वातावरण स्वच्छ र निर्मल बन्दै जान्छ । तसर्थ गुरु, गुरुवा, गुरुआमाले देखाएको बाटोमा एकचित्त भई साधनारत हुने कोसिस गर्नु पर्दछ ।
गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वर यसै भनिएको होइन । गुरु दीक्षाबाट नै मानिसले सनातन सत्यको गोरेटो थाहा पाउन सक्छ । गुरु दीक्षाबाट नै मानिसले अनुराग, गौरा र पराभक्तिको अर्थ र परिभाषा बुझ्न सक्दछ । तप, तप र नियमनको आधार तयार गर्न सक्दछ । त्यसैले यसको लागि मनलाई शुद्ध र पवित्र बनाउन सक्नु पर्दछ । विक्षिप्त मनले साधना गर्न सकिदैन । विक्षिप्त मन भनेको आसुरी शक्तिले जन्माएको विकृति हो । स्वभावैले जव मानिसले आफ्नो बुद्धि र विवेकलाई क्षणिक लाभ र स्वार्थमा लगाउने सङ्कल्प गर्न सुरु हुन्छ ।
तब उसको चैतन्य मन विक्षिप्त हुन पुग्दछ । पाउने र मनोरञ्जन गर्ने उसको मानसिकता तीव्र हुँदै जान्छ, र हत्याउने सोचतर्फ उसको बुद्धि र विवेक प्रयोग हुन थाल्दछ । यस्तो भएमा उ स्वयम् क्षणिक आनन्द र भुलभुलैयामा भुलिरहने स्थिति सिर्जना हुन्छ । उसलाई बासना नै सुखको अनुभूति हुने विचार जाग्दछ । जसको कारण उ स्वयम् दुःख र कष्टको खाडलमा पुग्न बाध्य हुन्छ । पाउने र हत्याउने सोचमा गरिने साधनाले मानिस भ्रमित हुन गई आफ्नो सांस्कृति र आचरण नै भुल्ने अवस्था सिर्जना हुन्छ । जीवनले परिकल्पना गरेको यथार्थ भेटाउन नसकिने स्थिति हुन्छ । तसर्थ यस्तो मानसिकता बढाउनु भनेकै चित्त शुद्ध नहुनु हो । जसको कारण आत्मसन्तुष्टि, मृगतृष्णा बन्न पुग्दछ ।
बिराटरुपी मनलाई विग्रहरुपि मनसँग जोड्न साधनाले दिशानिर्देश गरिरहे पनि चैतन्य मनको यथार्थतालाई नबुझी मानिस आसुरी शक्तिको भोग विलाशको बसमा परिरहेको हुन्छ । साधना गर्नेतर्फ चिन्तन भए पनि मन, वचन र कर्म भने अन्यत्र मोडिरहेको हुन्छ । भागवत गीताका प्रणेता वेद व्यासले प्रेम योनीमा भट्किरहेको मानिसलाई उनीहरुले गर्ने आचरणमा सुधार ल्याउन १८ हजार श्लोकको ग्रन्थ तयार गरे ।
सुकदेवको माध्यम आत्मशुद्धीको बाटो अपनाउन सबैलाई आकृष्ट गर्न खोजेका पनि हुन् तर त्यसको महिमा र आदर्शलाई नबुझी केवल मानवीय आचारणले साधनालाई क्षणिक स्वार्थभित्र लुटपुटिन बाध्य बनाउन उद्धत रहे । वेद र शास्त्र रुपी वृक्षमा फलेको यथार्थ सत्य बुझ्न र बुझाउन नसकी त्यसको रसस्वादन नलिई भट्किएको आत्मारुपी चैतन्यलाई आडम्बरी विलाशीपनतर्फ आकृष्ट गराउँदै गए । मानिसले साधनालाई केवल बनावटीतर्फ धकेल्न लागे । वृक्षमा फलेको फलको महत्व नबुझी तथा फल कतिसम्म ग्रहण गर्न उपयुक्त हुन्छ, त्यसको सार तत्व के हो ? त्यतातिर ध्यान नदिई केवल भौतिक मान्यतालाई स्वीकार्ने जुन आचरण र प्रवृत्ति बढ्न थाल्यो, त्यसले आत्मविश्वास र श्रद्धामा हलचल पैदा भयो ।
फलस्वरुप प्रकृतिले दिन खोजेको उपहार एकातिर पन्छिँदै मानिसको चाहना अन्तैतिर मोडिँदै गयो । मानिसको तन, मन विक्षिप्त हुँदै गयो । नित्य र निरन्तर परिवर्तन भइरहने तन र मनभित्र विषमता बाहेक ज्ञानको भण्डारमा कमि हुँदै गयो । संस्कृति र संस्कारले परम्परादेखि निर्वाह हुँदै आएको साधनाले परिवर्तित रुप धारण गर्न पुग्यो । मानिसको मन, बुद्धि र विवेकमा बिर्काे लाग्न पुगी, प्रेमरुपी जीवनको गतिशीलतामा साधनाले पनि प्रभाव पार्न नसक्ने स्थिति भयो । फलस्वरुप मन विचलित भई साधना कागजी ज्ञानभित्र सीमित हुन पुग्यो ।
कर्मको फल दुई किसिमबाट प्रकट भएको हुन्छ । एउटा तत्कालै देख्न र ग्रहण गर्न, नतिजा प्राप्त गर्न सकिने किसिमले गरिन्छ भने अर्काे लामो समयपछि मात्र नतिजा प्राप्त हुने किसिमले गरिएको हुन्छ । कर्मवाट प्राप्त हुने फल एउटा क्षणभङ्गुर हुन्छ भने अर्काे स्थायी प्रकृतिको हुन्छ । खाना खाउ, भोक मेटिन्छ । पानी पिउ, प्यास मेटिन्छ । छाता ओढ, एक झर पानी र प्रचण्ड गर्मी ओत्छ । झुट बोल, एकछिन आफूलाई बहादुरीको महसुश हुन्छ, । अरुको मान मर्यादामा आच पुग्ने गरी बचन लगाउ, क्षणिक स्वार्थ पूरा भएको महसुस हुन्छ । कसैलाई होच्याउने, घोचपेच गरी उसको आत्मसम्मानमा ठेस पु¥याउन खोजे, क्षणिक आत्म सन्तुष्टि हुन्छ ।
मादक पदार्थ या लागूपदार्थ सेवन गर, यसले तुरुन्तै असर गर्दछ । न्यानो कपडा र आगो ताप शरीरमा स्फूर्त आउँछ । कसैलाई खुसी गराउनु छ भने चाकडी र चाप्लुसी गर, उ तिमीलाई विश्वास गर्न थाल्दछ । यी र यस्तै प्रकृतिका मानिसको कर्मले क्षणिक आत्मसन्तुष्टि बढाई विवेकलाई क्षणिकतातर्फ आकृष्ट गरेको हुन्छ तर सत्य त्यो होइन । आँपको वृक्ष लगाउ, त्यसले तत्काल फल दिँदैन । यसलाई हुर्कन बढ्न लामो समय लाग्छ ।
गोडमेलदेखि मल पानीको साहरा बिरुवालाई चाहिन्छ । जब यो सक्षम भएर फल दिन थाल्दछ । तब उसले जीवनभर निरन्तर फल दिइरहन्छ । उसलाई झटारो,हावाहुरीले लुछिरहे पनि उसले आफ्नो क्षमतालाई कमजोर नठानी निरन्तर फल दिइरहन्छ । सबैप्रतिको उसको सद्भाव एउटै किसिमको हुन्छ । निरन्तर फल दिइरहन्छ । त्यसैले क्षणिक कर्मले ल्याउने कुलत र गलत मानसिकता बढाउनेतर्फ सचेत रही पछिसम्म निरन्तर फल दिइरहने आपको वृक्ष झैँ योग साधनातर्फ निरन्तर लागिरहन पर्दछ ।
जव साधनालाई आफ्नो भविष्यसँग गाँसेर कर्मप्रधान भई मानिसको तन, मन र विवेक सक्षम हुन थाल्दछ । तब त्यहाँ स्थायी आनन्दको अनुभूति भई जीवन सार्थक बन्दछ । त्यसैले साधना गर्दा आफ्नो र अरुको मर्यादालाई पालन गरि कर्म निर्धारण गर्नु पर्दछ । जुन व्यक्तिले साधना के र किन गरिन्छ, यसको उपादेयता के हुन सक्छ, यस कुराको हेक्का राखी समर्पण गर्ने क्षमता राख्न सक्दछ, उसले जीवनलाई मर्यादित बनाई बाँच र बचाउको मान्यतामा आफूलाई निःस्वार्थ प्रदर्शन गर्न सक्दछ ।
अहिले पश्चिमी सभ्यताले प्रभाव पार्दै भौतिकवादप्रति मानिसको आचरण बढ्दै गएकोले हाम्रो संस्कृति र संस्कारले सिकाएको परम्परा लोप हुने अवस्थामा पुगेको छ । मानिसलाई किताबी ज्ञान बढेको छ तर जीवनको धरातल के हो, यो कसरी, कुन नियम पालना गर्दै अघि बढिरहेको छ, त्यसको हेक्का नरहने अवस्था छ । ढुङ्गा, माटो प्रकृतिसँग रमाउन, खेल्न सक्नु पर्दछ । माटो र प्रकृतिलाई आत्मसात गरी जीवनको आधारशीला बनाउन सक्नु पर्दछ भन्ने जानकारी छ तर मानविय चिन्तन पश्चिमी सभ्यताका कारण कमजोर बनेको छ । अहिले विकृति र विसङ्गतितर्फ मानिसको सोच दौडिरहेको छ ।
खानपान, लवाइ–खुवाइ, रहनसहन भडकिलो र उछृङ्खलतर्फ मोडिरहेको छ । हाम्रो परम्परा र संस्कृतिले सिकाएको अवधारणातर्फ पटक्कै मन गएको छैन । प्राचीन सभ्यता र ऋषिमुनि योगीले सिकाएको साधनातर्फ खासै चासो छैन । क्षणिक शान्तिको लागि विविध प्रपन्चमा उसको विचार फसिरहेको छ । जसले गर्दा उ आफू स्वयम् पतनउन्मुख भइरहेको छ । त्यसैले क्षणिक बहकाउले सत्यको अनादर गर्नु भनेको आफ्नै अस्तित्व कमजोर हुनु हो भन्ने ठानी प्रकृति प्रदत्त अधिकार र जिम्मेवारीलाई बुझी यसको गुण र दोषलाई छटनी गर्दै आपूmलाई प्रोत्साहित गर्न सक्नु पर्दछ ।
कर्म योग, ज्ञान योग र भक्ति योगलाई बुझेर यसको रसस्वादन गर्न आपूmलाई एकचित्त र तल्लीन बनाई साधनाबाट प्राप्त हुने खुसी र आनन्द लिन सक्नु पर्दछ । जीवनको आधारलाई बुझी असली बस्तुको पहिचान गर्न सक्नु पर्दछ । दिनहुँ अभ्यास गर्दै अन्तस्करणबाट ज्ञान र बुद्धियोगलाई आत्मसात गर्ने बानीको विकास गर्नु पर्दछ । तब मात्र जीवनले सही गोरेटो निर्धारण गर्दछ । मानिस स्वयम् विवेकशील र विलक्षण प्रतिभाको धनि भएर पनि जीवनको आधारभूत आवश्यक तत्वको यथार्थ नबुझी, जुन गतिविधि गर्दै छ, हिड्न नजान्ने, दौडन खोज्ने जुन प्रवृत्ति देखा पर्दैैछ यो आफैमा गलत कर्म हो । तसर्थ विस्तारै अघि बढ्दै सकारात्मक चिन्तन बढाई साधना गर्नु पर्दछ र आत्म सन्तुष्टिको अनुुभूति गर्न सक्नु पर्दछ ।
सगुन साकार, सगुन निराकार, निर्गुन निराकार भएर सृष्टिको चक्रमा गरिनुपर्ने कर्तव्यप्रति सधै चनाखो हुनु पर्दछ । साधनालाई अजर, अविनाशी, शक्तिको स्रोत ठानी आफ्नो कर्म र व्यवहारलाई परिष्कृत गर्नु पर्दछ । साधना साधन हो, साध्य होइन भन्नुभन्दा साधना जीवनलाई उत्तम गतिमा लैजाने एउटा सशक्त माध्यम हो भनि बुझी यसलाई साधना गर्नु पर्दछ । शान्तिका अग्रदूत गौतम बुद्धले साधनाबाट नै दिव्य ज्ञानको बोध गरि संसारलाई शान्तिको सन्देश दिन सफल भएको इतिहास भुल्नु हुँदैन । त्यहाँ नै जीवनले खोजेको सत्य भेटिन्छ । अस्तु ।