कृषकलाई बिउ उत्पादनदेखि प्याकेजिङमा अनुदानका कार्यक्रम

गोरक्ष समाचारदाता
दाङ, ६ कात्तिक । जिल्लामा कृषि ज्ञान केन्द्रले कृषकलाई बिउ उत्पादनदेखि प्याकेजिङसम्म अनुदान दिने भएको छ । कृषि व्यवसायमा आकर्षणसँगै उत्पादन बढाउन कृषि ज्ञान केन्द्र दाङले किसानलाई चालु आर्थिक वर्षमा बिउ उत्पादनदेखि प्याकेजिङसम्म विभिन्न कार्यक्रममा अनुदान दिन थालेको हो ।

अनुदानका लागि कृषि ज्ञान केन्द्रले ३० दिनको समय दिएर सूचना समेत प्रकाशन गरेको छ । यही कार्तिक १४ गतेसम्मलाई समय दिएर सूचना प्रकाशन गरेर प्रस्ताव आह्वान गरिएको कृषि ज्ञान केन्द्र दाङका बरिष्ठ कृषि प्रसार अधिकृत आशा भण्डारीले जानकारी दिएकी छिन् । अनुदानका लागि कृषि उत्पादन बजारीकरण नियमन प्रविधि प्रसार कार्यक्रमतर्फ दुई करोड ३५ लाख ११ हजार, संघको सशर्त अनुदान १४ लाख २५ हजार, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत नौ लाख ५० हजार बजेट रहेको छ ।

कृषि उत्पादन बजारीकरण नियमन, प्रविधि प्रसार कार्यक्रम अन्तर्गत व्यावसायिक तरकारी प्रवर्धन कार्यक्रमका लागि १० लाख, कार्यक्रम कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन खर्च एक लाख २० हजार, विभिन्न समिति, सञ्जाल सरोकारवालाको बैठकका लागि एक लाख बजेट रहेको छ । जिल्लास्तरीय अगुवा कृषक तालिमका लागि तीन लाख, जिल्लामा रहेका एग्रोभेट सञ्चालकलाई विषादीसम्बन्धी पुनर्ताजगी तालिमका लागि ७५ हजार बजेट रहेको छ । यसैगरी व्यावसायिक कृषि विकास तालिम (वस्तुगत सहयोगसहित) लमही नगरपालिकाका लागि पाँच लाख, व्यावसायिक कृषि विकास तालिम (वस्तुगत सहयो सहित) बंगलाचुलीका लागि पाँच लाख घुम्ती स्थलगत तालिम एक लाख ६० हजार रहेको छ ।

यसैगरी विपद्बाट क्षति पुगेका कृषक, उद्यमी, फर्म, समूह, सहकारीलाई पुनःस्थापनाका लागि दुई लाख, महिला लक्षित उन्नत किट वितरण कार्यक्रमका लागि चार लाख ५० हजार, लक्षित समुदाय विशेष आयआर्जन कार्यक्रमका लागि १० लाख, सिँचाइसहित कृषि विकास कार्यक्रमका लागि ५० लाख, कृषि प्रविधि प्रदर्शनका लागि दुई लाख बजेट रहेको छ । फलफूल बगैँचा सुदृढीकरण कार्यक्रमका लागि एक लाख, माटो व्यवस्थापन कार्यक्रमका लागि आठ लाख, कृषि सामग्री, मल, बिउ, नियमन र प्रतिवेदन तयारका लागि एक लाख ६० हजार, आवश्यकतामा आधारित कृषि पशुपन्छी विकास कार्यक्रमका लागि छ लाख रहेको छ ।

यसैगरी बिउ आलुको ढुवानी, बोरा तथा शीतभण्डार शुल्कमा सहयोग कार्यक्रमका लागि तीन लाख, बाली उपचार शिविरका लागि एक लाख ६० हजार, हिउँदे, वर्ष फलफूलका बिरुवा वितरणका लागि तीन लाख बजेट रहेको छ । यसैगरी बाली संरक्षण सेवाका लागि एक लाख, विगतमा सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रम हस्तान्तरण तथा फलोअप कार्यक्रममा एक लाख २० हजार, मुक्त कमैया कम्लहरी आयआर्जन कार्यक्रमका लागि पाँच लाख, करारखेती कार्यक्रमका लागि नौ लाख बजेट रहेको छ ।

कृषक प्राविधिक भेटघाट कार्यक्रमका लागि एक लाख २० हजार, व्यावसायिक तरकारी प्रवर्धन कार्यक्रम (तुलसीपुर उपमहानगरपालिका) का लागि २० लाख, मिनी ल्याब सञ्चालनका लागि एक लाख, पिबिएस आलुको बिउ वितरणका लागि एक लाख, बाली वस्तु विशेष सघन व्यावसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम (तोरी, तरकारी) का लागि ४५ लाख बजेट रहेको छ ।

अनुगमन मूल्याङ्कन तथा कार्यक्रम कार्यान्वयन भ्रमण खर्च तीन लाख १८ हजार, महिला कृषक समूह कृषि सामग्री वितरण तुलसीपुर–१२ का लागि पाँच लाख बजेट विनियोजन गरिएको छ । संघ सशर्त अनुदानतर्फ उन्नत बिउ उत्पादनमा प्रोत्साहन अनुदान कार्यक्रमका लागि १४ लाख २५ हजार बजेट रहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ब्लक विकास कार्यक्रम अन्तर्गत कृषिमा नयाँ ब्लक विकास कार्यक्रम सञ्चालनका लागि नौ लाख ५० हजार बजेट रहेको कार्यालयले जनाएको छ ।