युवराज शर्मा
नेपालमा शिक्षण संस्थाहरुमा पढ्ने विद्यार्थीहरु पढाइमाभन्दा खेलकुदमा धेरै रुचि गर्छन् । चाहे त्यो विद्यार्थीको सामुदायिक स्कुलमा पढ्ने होस् वा संस्थागत बोर्डिङ स्कुलमा पढ्ने होस्, उसको झुकाव पढाइभनदा खेलकुदमा ध्यान गएको अभिभावकहरुको भनाइ सुन्नमा आउँछ । कतिपयका बाबुआमा अबेरसम्म छोराछोरी घरमा आएन भने खोज्न जान्छन् । उनीहरुलाई धेरै चिन्ता हुन्छ । त्यसमा पनि सहरबजारमा बस्ने बाबुआमा भएमा झन सडक दुर्घटनाको जोखिम बढ्दो छ ।
मोटरसाइकल, कार, जीप, बस, भ्यान, टिप्पर, ट्रकजस्ता साधनहरु गति सीमित गरेर गुडाउँदैनन् भने सडक कमजोर भएकाले खाल्टाखुल्टीले गर्दा यातायातका साधनहरु उछिट्टिएर ठक्कर दिने, घाइते बनाउने दुर्घटना बजार क्षेत्रमा बढिरहेको छ । ट्राफिक नियम पालना गर्दैनन् ।
छाडा प्रवृत्तिका वाहन चालकहरु छन् । धेरैजसोमा ट्राफिक नियम पालन नगर्ने प्रचलन बढेको छ । यसले के देखाउँछ भने चालकहरुमा उन्मात बढेकाले ट्राफिकको पालना गर्दैनन् । जेब्राक्रसिङ विद्यार्थीहरु घाइते हुन्छन् भने कतिपयले मृत्यु वरण गर्छन् । यसैमा चालकको लापरवाही मानिन्छ । खास गरी स्याना यातायातका साधनहरुका चालकमा लापरवाही बढेको छ तर तीनै तहका सरकार मौन छन् ।
विद्यार्थीहरुमा पठनपाठन गराउने दायित्व र जिम्मेवारी शिक्षकहरुको हो । सामुदायिक स्कुललाई स्थानीय सरकारले हेर्छ भने संस्थागत बोर्डिङ स्कुललार्य प्याब्सन र एनप्याब्सनको निर्देशन चल्छ । सामुदायिक स्कुलहरु राजनीतिक व्यक्तिका भर्ती केन्द्र भएका पनि छन् । जहाँ पार्टीका कार्यकर्ता, झोले र हुतिहारावर्गका छोराछोरी, बुहारी, भान्जाभान्जीहरुले जागिर थापेका हुन्छन् । उनीहरुमा पढाउने ज्ञान र सिपको अभाव भए पनि कागजी योग्यता छ । यहाँ एउटा स्कुलको अवस्था दर्शाउन चाहन्छु । जो स्कुल सामुदायिक हो । जहाँ कक्षा १ देखि १० सम्मका विद्यार्थी पढ्छन् ।
त्यस स्कुलमा १९ जना शिक्षक, महिला र पुरुष पनि छन् । उनीहरु नेताका भक्त हुन् । शिक्षकहरुले पढाउने विषयगत रुटिङ छ । आ–आफ्नो विषय पढाउँछन् तर विद्यार्थीहरु पढाइभन्दा खेलकुद प्यारो ठान्छन् । उनीहरुको पढ्ने झुकावभन्दा खेल्ने झुकाव बढेको छ । खेलमा क्रिकेट खेल्न रुचि गर्छन् तर स्कुलमा त्यसतर्फका खेल सामग्रीहरु छैनन् ।
स्कुलले प्रबन्ध पनि गर्दैन । पढाइको व्यवस्थापकीय कार्यभार प्रधानाध्यापकको हो । उसले पनि नजानेर हो वा अल्छी भएर हो, शिक्षण व्यवस्थापनमा ध्यान दिन्नन् । विद्यार्थीहरुमा शिक्षण व्यवस्थापन मिलेको पाएनन् । उनीहरुमा पढाइप्रति निराश हुन्छन् । पढाइ छोडेर खेलकुदमा झुकाव राख्छन् । वर्तमान समयमा बढिरहेको क्रिकेट खेल हो । विद्यार्थीहरुको झुकाव पढाइभन्दा क्रिकेट केलमा रुचि बढेको पाइन्छ ।
नेपालमा व्यवस्थाको परिवर्तन गर्न राजनीतिक दलहरुका नेताहरु अग्रसर भए र व्यवस्थाको परिवर्तन गरे तर शिक्षण संस्थाहरुको सुधार गरेनन् । राजनीति गर्ने अखडा शिक्षण संस्थाहरुलाई बनाएर आफ्ना मानिसहरुलाई भर्तीकेन्द्र बनाएका छन् । शिक्षामा परिवर्तन गर्न प्रणाली, व्यवस्थापन र नीति नियम, ऐन कानुन आवश्यक पर्छ ।
शिक्षा ऐन २०२८ सालमा बनेको हो । अहिलेसम्म सङ्घीय संसद्बाट नयाँ ऐन आउन सकेको छैन । शिक्षा ऐन २०२८ ले दिएको अधिकारका आधारमा नियमावलीमा परिवर्तन गरेर शिक्षालाई निजीकरण गरी प्राइभेटाइजेसन गराइयो । अब संस्गत बोर्डिङ स्कुलको महङ्खव बढ्यो भने सामुदायिक स्कुलहरु पनि समाजोपयोगी भएनन् । यस्तो अवस्था शिक्षामा देखिएकोले विद्यार्थीहरुको पढ्ने झुकाव घट्यो र खेलकुद गर्ने अग्रसरता भयो ।
सामुदायिक वा संस्थागत बोर्डिङ स्कुलहरुमा पढ्ने विद्यार्थीहरु दुई कुराले पढ्ने रुचि गर्दैनन् । उनीहरुमा साथीसङ्गीहरुसँग घुमफिर गर्ने, खेलकुदमा रमाउने र मोबाइलमा फ्रिफायर खेल खेल्न रुचि गर्ने, विद्यार्थीहरुको स्वभाव पाइन्छ । यस्ता स्वभाव बढ्दै गएमा विद्यार्थीहरुले पढाइ छोड्छन् भन्ने हेक्का बुवाआमा वा अभिभावकहरुलाई थाहा हुन्न । उनीहरुले जान्न पनि सक्दैनन् ।
कतिपय अभिभावकहरु ज्ञान र सिपका अभावमा छन् भने कतिपय बाबुआमा पनि विषयगत ज्ञानका कमजोर छन् । त्यसको फाइदा उठाउने धेरै विद्यार्थीहरु पनि छन् । बाबुआमा र शिक्षकहरुले त्यस्ता पढ्न रुचि नगर्ने विद्यार्थीहरुलाई तह लगाएर विषयगत अध्ययनमा ध्यान केन्द्रित गराउन सकेको पाइन्न । धेरै स्कुलहरुमा पढ्ने विद्यार्थीहरुमा कक्षा ६÷७ देखि पडाइमा कमजोर भएपछि खेलकुदमा रुचि गर्छन् । कतिपय स्कुलले आफ्नो स्कुलको खेलकुदमा टिम तयार गर्न त्यस्तै खाले विद्यार्थीहरुलाई उत्साहित गर्छन् । शिक्षकहरुले भन्छन्– पढाइ र खेलकुद साथसाथै लैजानु पर्छ ।
नेपालका धेरै स्कुलहरुमा खेलकुद, हाजिरीजवाफ, क्विज कन्टेस्ट, वादविवाद, प्रवचन, साहित्यिक कार्यक्रम जस्ता अतिरिक्त ज्ञान र सिप सिकाउँछन् । यस्ता विषयमा ज्ञान गर्नु गराउनु राम्रो पक्ष भए पनि विद्यार्थीहरुमा खेलकुद गर्नेहरुमा चरित्रहीन कार्यमा लाग्न सक्छन् भन्ने सामाजिक मान्यता छ । चरित्रको ख्याल गरेर साथीसङ्गीको गलत प्रभावमा विद्यार्थी पर्नु हुन्न भनाइ समाजको छ ।
भोलिको राष्ट्रका धर्णधारहरु चरित्रहीन भएपछि राष्ट्र अपवादमा रहन्छ । विद्यार्थीहरुले पढेर ज्ञान, गुणी भएर समाज, राष्ट्र र नागरिकको सेवा गर्नु पर्छ । बालापनको व्यवहारले आफ्नो भविष्य उज्ज्वल बनाउन सकिन्छ । भोलिका दिनमा आफ्नो भविष्य उज्यालो बनाउन सकिएन भने उसल व्यक्ति बन्न सकिन्न भन्ने ज्ञान गर्नु पर्छ । विद्यार्थीहरुको जीवन नै अध्ययन गरेर ज्ञान र सिपको विकास गर्ने हो । पढ्ने समयलाई खेलकुदमा रमाउनु हुँदैन । खेलकुदभन्दा पढाइ प्यारो हुनु पर्छ ।