लीलाधर वली
दाङ, १३ बैशाख । जिल्लामा अलपत्र परेका विकास निर्माणको काम सुरु भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण जिल्लामा विगत एक महिनादेखि विकास निर्माणका काम रोकिएको थियो । सरकारले चैत ११ गतेदेखि घोषणा गरेको लकडाउन बैशाख १५ गतेसम्म कायम नै छ । केही दिन अघि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले गौरव र अन्य विकासे योजनाको काम सुरु गर्ने निर्णयसँगै रोकिएको विकास निर्माणको काम सुरु भएको हो ।
राष्ट्रिय गौरवका आयोजनासँगै सडक, सिंचाईलगायतका अत्यावश्यक विकास निर्माणका कामहरु सुरु गर्ने सर्वदलीय निर्णयानुसार जिल्लामा विकास निर्माणको काम अघि बढाइएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । मदन भण्डारी लोकमार्ग, घोराही–तुलसीपुर सडकखण्डको सडक विस्तार, देउखुरीको लमही–कोइलावास सडकखण्डसँगै अन्य विकास निर्माणको कामलाई अघि बढाइने भएको छ । त्यस्तै स्थानीय तहहरुले पनि आफ्नो पालिकाहरुको विकास निर्माणको कामलाई अघि बढाएका छन् । तुलसीपुर–अमिलिया सडकखण्ड, देउखुरीमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमहीदेखि शिवखोलासम्म सडकको मर्मतको काम, दंगीशरणको बैबाङ र घोराहीको सेवारखोलामा पुल निर्माणको काम सुरु भएको सडक डिभिजन कार्यालय दाङका प्रमुख निरज शाक्यले बताए । बाँकी अन्य विकास निर्माणका आयोजनाहरुको जिल्ला प्रशासन कार्यालयबाट अनुमतिका लागि प्रक्रियामा रहेका समेत उनले बताए ।
सडक र पुल निर्माणको कामका लागि प्रशासन कार्यालयबाट पास लिएर विकास निर्माणको कामलाई सुरु गरिएको उनले बताए । ‘विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण दाङमा करिब एक महिना काम बन्द भएको थियो’–प्रमुख शाक्यले भने–‘एक महिना काम रोकिँदा धेरै योजना रोएिका थिए, अहिले पुनः सुरु गरेका छौँ ।’ उनका अनुसार पहिले चरणमा ४–५ वटा विकास निर्माणका आयोजनाहरुको अनुमति लिएर काम सुरु गरिएको हो ।
निर्माणको काममा गएका मजदुरहरुलाई कोरोना भाइरसबाट बच्नका लागि माक्स, पञ्जासँगै सेनेटाइजर प्रयोग गर्दै सम्बन्धित ठाउँमै बस्ने गरी काममा लगाइएको छ । ‘कोरोना भाइरसको संक्रमणबाट बच्न सोसल डिस्टेन्स कायम राखेर विकास निर्माणको कामलाई अघि बढाएका छौं’–उनले भने–‘काममा खटिने कामदारहरु सम्बन्धित ठाउँमै बस्नेछन् ।’ उनीहरुको नियमित स्वास्थ्य परीक्षण समेत गरिने भएको छ । त्यस्तै काममा बाहिरका कामदारलाई प्रयोग नगरिने समेत कार्यालयले जनाएको छ ।
त्यस्तै पूर्वाधार विकास कार्यालय दाङ अन्तर्गतका विकास निर्माणका आयोजनाहरु सुरु हुने प्रक्रियामा छन् । कोरोनाको त्रासका कारण रोकिएका विकास निर्माणका आयोजनाहरु सुरु गर्न निर्माण कम्पनीहरुलाई खबर गरेको पूर्वाधार विकास कार्यालय दाङका प्रमुख बासुदेव भण्डारीले बताए । ‘लकडाउनको घोषणापछि रोकिएका विकास निर्माणका कामहरु सुरु गर्न निर्माण कम्पनीहरुलाई खबर गरिसकेका छौं’–कार्यालय प्रमुख भण्डारीले भने–‘खबर पाएपछि निर्माण कम्पनीहरुले काम गर्ने इच्छा देखाउनुभएको छ, त्यही अनुसार जिल्ला प्रशासन कार्यालय दाङबाट अनुमति लिने प्रक्रियामा छौँ ।’ जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त भएपछि काम सुरु गर्ने समेत प्रमुख भण्डारीले बताए । उनकाअनुसार पूर्वाधार कार्यालय अन्तर्गत ७० बढी आयोजनाहरु निर्माणका क्रममा अलपत्र छन् । चालु आर्थिक वर्ष सकिन अब झण्डै अढाई महिना बाँकी छ । तर जिल्लामा अधिकांश विकास निर्माणका योजना अलपत्र छन् । स्थानीय तहले गर्ने विकास निर्माणका अधिकांश विकासे काम पनि अपूरा नै छन् । केही स्थानीय तहले ५० प्रतिशत विकास निर्माणको काम गरेका छैनन् ।