के.पी. सुवेदी
कोरोना भाइरसले विश्वका सबैजसो मुलुकमा महामारीको रुप लिएपछि स्वास्थ्यको क्षेत्रमा गम्भीर प्रकारको चुनौती थपिएको छ । मौसमी भाइरसको अनुमान गर्दागर्दै यसले लाखौँको ज्यान लिन थालेपछि अहिलेसम्म यसका बारेमा गर्ने गरिएका अनुमान र प्राप्त तथ्यहरुले यसको अध्ययन अनुसन्धान अझै पूरा भएको छैन भन्ने देखाइसकेको छ । हुन पनि जबसम्म यसको औषधि पत्ता लाग्दैन तबसम्म यसको जोखिम कम भएको मान्ने आधार केलाई मान्ने ? पहिले पनि भाइरस विरुद्धको अहिलेसम्म औषधि बनेको छैन ।
शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएको व्यक्तिको शरीरमा प्रवेश गरी आफ्नो प्रभाव देखाउने भएकोले रोगसँग लड्ने शक्ति तयार गर्ने खानपान, रहन–सहन र पारस्परिक दूरी उचित मात्रमा राखेर बाँच्ने र बचाउने जीवन शैली बनाउन सिक्नुपर्ने देखिएको छ । सम्भवतः यसको औषधि प्रमाणित भएछ भने पनि उपचारको लागि नभई रोकथामको लागि मात्र हुनेछ । अहिलेसम्म पनि भाइरसको विरुद्ध खोपहरु नै प्रयुक्त भइआएका छन् र कोरोनाको विरुद्ध पनि खोपहरु परीक्षणको क्रममा रहेको बताइएको छ । सर्वप्रथम चीनको चुहान प्रान्तमा देखिए लगत्तै यसको विविध अनुसन्धानमा खटिरहेका वैज्ञानिक तथा भाइरसको विशेषज्ञहरुले सकेसम्म चाँडो यसलाई निष्प्रभावी बनाउने प्रयास गर्दैछन् । सस्तो प्रयासको जतिसुकै प्रशंसा गरे पनि कमै हुन्छ भन्नेजस्तो लाग्छ । किनकि अरुको भलाईमा निःस्वार्थपूर्वक अनुसन्धान गरिरहेका ती असाधारण मानिसहरु हुन् । कोरोना विरुद्धको खोप मानिसमा परीक्षण भइरेको र नतिजा बाँकी रहेको बताइन्छ ।
कोरोनाले अहिलेसम्म २ लाख भन्दा बढी मानिसहरु मारिइसकेको तथ्याड्ढ छ तर औपचारिक तथ्याड्ढमा सामेल नभएका वा वदनियत बस लुकाइएका घटना यसमा समावेश छैनन् । यतिधेरै मानिसको मृत्यु कोरोनाका कारणले विश्वका विभिन्न मुलुकमा बढिरहँदा नेपालमा एकजना पनि मरेको छैन । झण्डै पचास जनामा संक्रमण देखिँदा एकजना पनि नमरेको सायद नेपाल पहिलो मुलुक हुनसक्छ । मर्न त शंका गरी अस्पताल भरना गरिएका केही सिकिस्त विरामी मरेका थिए । तर उनीहरुको कोरोना परीक्षणको नतिजा छैन भन्ने आयो भनियो । जे होस् यहाँको अवस्थालाई मध्यनजर गर्दा कोरोना प्राणघातक रोग हो भनेर नमान्दा पनि हुने रहेछ । तर विश्वका केही सम्पन्न मुलुकहरुको तस्वीर हेर्ने हो जस्तै संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स, इटली, स्पेन आदि थुप्रै देशमा दिनकै मानिसहरु सयौँको र हजारौँको संख्यमा मरिरहेको सुनिन्छ । सुदृढ स्वास्थ्य संस्थाहरु र उपकरण हुँदाहुँदै तिनीहरु नपुगेर हाहाकार मच्चिएको समाचार आइरहेका छन् । ती सबैलाई विचार गर्दा त्यहाँ जस्तै गम्भीर लक्षणका विरामी हुने हो भने यहाँ औषतमा धेरैको मृत्यु अवश्यम्भावी छ । त्यतिखेरको सम्भावना टार्न हामीले सक्ने छैनौँ । त्यसैले हाम्रा लागि प्राणघातक हुने हो र यसबाट संक्रमण बढ्दै गर्दा यसका बारेमा नजानिकनै धेरै अफवाह फैलाइएको छ । प्रायः संसारभरि बन्दाबन्दी गरेर यसलाई फैलिनबाट रोक्ने प्रयास जो भइरहेको छ ।
यहीबीचमा लहडमा धेरैलाई अरुभन्दा धेरै जान्ने हुन पनि मन छ । केही दिन अगाडि हाम्रो प्रधानमन्त्री कोरोनाको विशेषज्ञ जसरी प्रस्तुत भएर प्रवचन गरेको पनि सुनियो । हाम्रा प्रधानमन्त्री त के विश्व स्वास्थ्य संगठनको विज्ञ टोली समेत कोरोना सम्बन्धमा निष्कर्षमा पुग्न सकिरहेको देखिन्न । सुरुमा चिसोबाट लाग्ने र गर्मीमा स्वतः निष्क्रिय भएर जाने एउटा चिसो याममा लाग्ने नयाँ खालको रुघाखोकी भन्दाभन्दै धेरै मानिस श्वासप्रश्वासको जटिल समस्या बनेर मर्न थालेपछि गम्भीर स्वास्थ्य संकटको अवस्था महशुस गरिएको थियो । तर फरक यहाँ के रह्यो भने विश्व स्वास्थ्य संगठनले गम्भिरता देखाउँदै सन् २०२४ सम्म रहनसक्ने अनुमान गरिरहेको छ । साथै हाम्रो स्वास्थ्यमा थपिएको यो चुनौती झेल्न हाम्रो आफ्नै रणनीति र सुरक्षाकवचको विकास गर्नुपर्ने छ । हाम्रो खाना, नाना र अन्य आवश्यकता पूर्ति गर्न सधैँ वा २÷४ वर्ष बन्द गरेर भित्रै बसेर त हामीलाई कसैले खान दिँदैन । कसैलाई भ्रम हुन सक्छ, हाम्रो सरकारले खान दिन्छ । औषधि उपचार गर्छ । नेपालीमा उखान छ, ‘आफ्नो त कुन गति कान्छा बाउको भाङ्ग्राको धोती’ भनेझै सहायता दिने दाता मुलुकहरु आफै महामारीसँग जुधिरहेका, विप्रेषणका स्रोत बनेको वैदेशिक रोजगार बन्द हुने अवस्था, देशभित्र राजश्व तिर्ने उद्योग व्यवसाय बन्द हुने र आयात नहुने अवस्थामा आम्दानीको स्रोत बन्द, पर्यटन पनि बन्द भएपछि सञ्चित कोषले सरकारले कसरी राहत दिएर जनतालाई पाल्ने ? सरकारलाई आफ्नै प्रशासनिक खर्च चलाउन नसकिने अवस्था आउँदैन कसले भन्छ ? फेरि सरकार जनताका समस्यप्रति कति इमानदार छ ? देखियो नि महामारीलाई आफ्नो शक्ति सञ्चय र धन सञ्चयमा प्रयोग गर्न खोजेको । कानुनले अपराध भनेर व्याख्या गर्ने कार्य पनि गर्न सक्दारहेछन् ।
सडकमा अलपत्र परेका नागरिकको उद्धार गर्न जसरी नागरिक अघि सरे सरकार बाधक बन्ने अवस्था पनि पछिल्ला दिनमा रहन सकेन । भोलिका दिनमा भोकमरीले कोही नमरुन् भनेर नागरिक आफै जागरुक हुनुपर्छ र आफ्नो सुरक्षाका तरिकाहरु अपनाएर उत्पादनमा जोडिने वातावरण बनाउन सरकारलाई दबाब दिनुपर्छ । स्वदेशी तथा विदेशी विद्वान्हरुले खबरदारी गरिरहेको परिवेशमा सरकार यसतर्फ गम्भीर भएन भने नागरि स्तरबाट घचघच्याउन आवश्यक भइसकेको छ । नत्र रोगले नमरेका भोकले मर्ने दिन आउन सक्छ ।