चाडपर्व लक्षित सुरक्षा योजना, संवेदनशील क्षेत्रको विशेष निगरानी

गोरक्ष समाचारदाता
दाङ, २० असोज । दाङमा प्रहरीले चाडपर्वको समयमा हुन सक्ने सम्भावित घटनाहरू मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । चाडपर्वको समयमा हुन सक्ने चोरी, डकैती, सडक दुर्घटना, लुटपातलगायतका घटना हुन नदिन जिल्लामा संवेदनशील क्षेत्रको पहिचानसँगै विशेष निगरानीको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले शनिवार आयोजना गरेको सुरक्षा निकायका अधिकारी र सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवम् प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले चाडपर्वको समयमा हुन सक्ने सम्भावित जोखिमलाई रोक्नका लागि प्रहरी तयार गरेको बताएका हुन् । सुरक्षा योजना अनुसार चाडपर्वको समयमा विशेष गरी सर्वसाधारणको चहलपहल बढी हुने बैंक, सुनचाँदी पसल, यातायात क्षेत्रलगायतका विभिन्न स्थानलाई मध्यनजर गरेर सुरक्षा व्यवस्थालाई थप व्यवस्थितसँगै निगरानीमा राखिएको प्रहरी उपरीक्षक तिमिल्सिनाले बताए ।

यसैगरी दाङ प्रदेश राजधानी भएको क्षेत्र भएको र यहाँ भिआइपीहरूको पनि बसोबास हुने भएकाले उच्च सुरक्षा व्यवस्था गरिएको बताएका छन् । यसैगरी चाडपर्वको समयमा सर्वसाधारणले सास्ती भोग्नु नपरोस् भनेर जिल्लाका घोराही, तुलसीपुर, लमही र भालुबाङमा यात्रु सहायता कक्षको समेत स्थापना गरिएको उनले बताए । यात्रु सहायता कक्षले बसपार्कमा हुन सक्ने चोरीसँगै भिडभाड नियन्त्रणमा सहयोग गर्ने भन्दै प्रहरी उपरीक्षक तिमिल्सिनाले भने, ‘चाडपर्वको समयमा बढी भिडभाड हुने भएकाले जिल्लामा भएका बसपार्क स्थलमा यात्रु सहायता कक्ष स्थापना गरेका छौँ । यसले बसपार्क क्षेत्रमा हुने चोरीडकैतीसँगै बसका स्टाफले यात्रु खोस्ने प्रवृति रोक्नदेखि यात्रुलाई सहजीकरण गर्नेछ ।’

यसैगरी जिल्लामा भइरहेका लागूऔषध कारोबार, जुवातास, जबर्जस्ती करणी जस्ता घटना न्यूनीकरण गर्न प्रहरीले सक्रियताका साथ काम थालेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख तिमिल्सिनाले जानकारी दिएका थिए । जिल्लामा शान्ति सुरक्षा कायम, आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रविधिको प्रयोगलाई बढाउँदै लग्ने भन्दै त्यसका लागि स्थानीय तह, निजी क्षेत्रलगायतसँग सहकार्य गरेर अघि बढ्ने बताएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकरी कृष्णप्रसाद लम्सालले जिल्लाको शान्ति सुरक्षा सुव्यवस्थाका लागि आफूहरू सधैँ सचेत र सजक भएर काम गरिरहेको बताएका थिए । यतिबेला नेपालीको घरदैलोमा बडादसैँ आइसकेकाले यो बेला हुन सक्ने घटनालाई नियन्त्रण गर्न जिल्लाका सबै सुरक्षा निकायसहित जिल्ला प्रशासन कार्यालय अघि बढिसकेको बताए । यसमा रचनात्मक रूपमा सहयोग गर्न सञ्चारकर्मीलाई प्रमुख जिल्ला अधिकारी लम्सालले आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीले जिल्लाको सुरक्षा व्यवस्थालाई बलियो बनाएर आम नागरिकलाई सुरक्षित बनाउँदै सुसूचित गर्नेमा सञ्चारकर्मी र नेपाल पत्रकार महासंघ सधैँ सकारात्मक रहेको बताएका थिए । कार्यक्रममा बोल्ने अन्य वक्ताले सूचना सहज रूपमा आदानप्रदान, लागूऔषध नियन्त्रण, दुर्घटना न्यूनीकरणका लागि क्रियाशील बन्न प्रहरीलाई आग्रह गरेका थिए । कार्यक्रममा जिल्ला स्थित सशस्त्र प्रहरीका प्रमुखहरू, राष्ट्रिय अनुसन्धानका प्रमुखलगायत जिल्लाका सुरक्षा निकायका प्रमुखको सहभागिता थियो । कार्यक्रमको सहजीकरण जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक ईश्वर थापाले गरेका थिए ।

यसैबिच ६९औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दाङमा २७ जना प्रहरीले रक्तदान गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र घोराहीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका थिए ।