खेमराज रिजाल
तुलसीपुर, २० असोज । शुक्रवार साँझ पख तरकारी किन्न तुलसीपुर पुगेको थिएँ । खासमा मलाई टमाटर आवश्यक थियो, सहज भाउमा पाएँ । सधै झैँ म तुलसीपुरको घोराही चोक आसपास तरकारी किन्छु, उही भारतीय मुलका ठेला व्यापारीको पसलमा ।
गाउँमा टमाटरको भाउ एक सय रुपैयाँ प्रतिकिलो भनेपछि तरकारी लिन तुलसीपुरको त्यही पसलमा पुगेँ । ‘टमाटरको भाउ कति हो भैया ?’, उनले भने ‘४० रुप्पे पाउ दाइ ।’ ‘किलोको नि ?’ उनले भने, ‘१ सय ४० रुप्पे ।’ हो मैले त्यही ठेलामा चार महिना अघि सयको चार किलो टमाटर किनेको थिएँ । भैगो बरु अम्चुर हालेर खाउँला अमिलैका लागि त हो, टमाटर । विद्युत कार्यालयको पर्खाल बाहिरको सडक–पेटीमा साँझ–बिहान ताजा र नयाँ तरकारीको व्यापार हुन्छ । मेरा आँखा टक्क घ्यु–करेलीमा रोकिए । कसैले यसलाई बरेला पनि भन्छन्, पहाडतिर मिठी करेला । ‘कति हो बैनी घ्युकरेलाको भाउ ?’ उनले पनि पाउमै उत्तर दिइन्, ‘एक पाउको चालिस रुपैयाँ हो दाइ, लैजानुस् भर्खरै सल्यानबाट ल्याएको हो ।’
फेरि अर्को पसलमा श्राद्धे सिमीमा मेरा आँखा रोकिए, मन लोभियो । किनकि यो सिमीको झोल रसिलो हुन्छ । मैले सोधे, ‘कति हो दाइ ! यो सिमीको भाउ ?’, पसले दाइले भने, ‘५० रुप्पे पाउ हो, तपार्इँलाई चालिसमा दिउँला ।’ यसको अर्थ अचेल तरकारी व्यापारीले तरकारीको भाउ किलोमा बोल्दैनन् । किनकि किलोको भाउ बोल्दा ग्राहक झस्किन्छन् भनेर पाउमा भाउ बोलिदिन्छन् ।
म जसरी एकपछि अर्को तरकारी पसलमा भाउ चाहारिरहेको थिएँ त्यसैगरी नै दर्जनौँ गृहिणीहरू पसलैपिच्छे तरकारीको भाउ सोध्दै हिँडिरहेका देखिन्थे । खासमा जति पसल चाहारे पनि भाउ उस्तै हो । भाउमा बजारभरि एकरुपता छ । किसानबाट त तरकारी अलिक सस्तोमा ल्याउँछन् होला तर बिचौलियाको मुनाफा भाग लगाउँदा जाँदा अन्तिममा सेकिने त हाम्रो भान्सा नै हो ।
हो, मेरा बा ९२ वर्षको उमेरमा बित्नु भयो । उहाँ रहुन्जेल हामीले कहिलै खुर्सानी बजारबाट किनेनौँ । एउटा अकबरे खुर्सानी र अरू दुई बोट लामा खुर्सानीले हाम्रो परिवारलाई वर्षभरि पुग्थ्यो तर मेरा जग्गा हुँदा पनि वर्षभरि खुर्सानी किन्ने आदत बसेको छ । बारी बाँझै छ तर खुर्सानीका लागि सधैँ बजार धाउने अभ्यास ममा अर्थात हामी सबैमा विकास भएको छ । हाम्रा बाका पालामा प्युठानबाट खुर्सानी कोइलाबास नाका हुँदै भारत पु¥याइन्थ्यो । सट्टामा उताबाट नुन ल्याइन्थ्यो तर अहिले हाम्रा भन्सामा भारतीय तरकारीको संप्रभुत्व बढेको छ । दुई बोट खुर्सानी वर्षमा दुई सिजन फल्दा करिब करिब सधैँ हरियो खुर्सानी घरकै उत्पादनले पुग्थ्यो । मुलाको सिन्कीले एक÷दुइ महिना पुग्थ्यो । तोरीको सुकासागले एक÷दुइ महिना गुज्रन्थ्यो । त्यसपछिको सिजनमा बारीमै हरियो तरकारीले पुग्थ्यो । तरकारी फलाउने ती बाँझा जमिनले भने हामीलाई सरापीरहेका छन् ।
रामकुमारी झाँक्रीले भनेजस्तै ‘नेपालमा चौबिस लाख युवा काम नगरी बसेका छन् ।’ हो, मलाई पनि त्यस्तै लाग्छ । किनकि म जस्ता धेरैले जग्गा बाँझो राखेर बजारमा खुर्सानी किन्न जान्छौँ । आलु, काउली, बोडी, सिमी सबथोक किन्ने बानीमा हामी रमाइरहेका छौँ । बेसार समेत आयात हुन थालेको छ । किन हो कुन्नि, हामीले आफू बेकाम बसेर सधैँ सरकारलाई दोष दिइरहनुमा रमाइरहेका छौँ । दिनभरि फेसबुकमा स्टाटस लेख्न भ्याउनेले एक बोट खुर्सानी रोपेर त्यसलाई मलजल गर्न हामी तयार छैनौँ ।
‘पर्व नजिकिएर होला सायद, बजारमा दैनिक उपभोग्य सामाग्रीका चर्को भाउ’, सँगै तरकारी किन्न गएकी तुलसीपुर उपमहानगरपालिका–१८ मनिकापुरकी गृहिणी बिमला केसीले भन्दै दिइन् । खासमा मलाई यसमा विश्वास छैन । पर्वका नाममा हामीले धेरै खुर्सानी उपभोग गर्ने होइन नि । उनको उत्तर थियो, ‘त्यसो त हो दाइ ।’ उनले कारण पनि खोतलिन, ‘जुन बेला हामीले सयको चार किलो टमाटर किन्थ्यौँ र पनि टमाटर किसानले टमाटर नबिकेर बारीमै सडाउँथे, त्यो बेला ठाउँठाउँमा कोल्डस्टोर भैदिएको भए अहिले यतिको चर्को भाउ हामीले खेप्नु पर्ने थिएन होला ।’ हो, बिमलाको तर्क पनि एक हिसाबले सही हो तर हामी खासमा अल्छी भइदिँदा हाम्रो मान्सा महँगो भएको हो ।
आफ्नो परिवारलाई तरकारी घरमै फलाउने पौरखी गृहिणीहरू पनि मैले देखेको छु । काठमाडौंको कीर्तिपुरमा मेरा दाजुको चार आना जग्गामा बनेको एउटा तीनतले घर छ । घरको छतैभरि जहिले पनि लटरम्म तरकारी फलेका देखिन्छन् । एउटा गमलामा धनिया, अर्को गमलामा खुर्सानी, फुटेको प्लास्टिकको बाल्टिनमा माटो भरी बनाएर लौका समेत रोपिएको छ । धेरै नफल्ला तर त्यही एउटा गमलामा फलेको खुर्सानीले मेरी भाउजुले कम्तिमा ९ महिना गुजार्छिन् । त्यही एउटा गमलामा वर्षमा चार सिजन धनिया रोपिन्छ, त्यसैले हरियो धनियाको आपूर्ति गरेको छ ।
भाउजु त उदाहरण मात्रै हुन्, अचेल सहर–बजारमा तरकारीको भाउ छोइ नसक्नु हुनथालेपछि त्यताका गृहिणीहरू जग्गा नभए पनि घरको छतमा तरकारी फलाउने अभ्यास गरेको देखिन्छ । अहिले राजधानीका घरहरूमा हेर्ने हो भने सबैका घरको छतमा कुनै न कुनै जातको तरकारी फलेको मैले स्वयम् देखेको छु तर हामी आफ्नै खाली जग्गा हुँदा पनि तरकारी किन्न तुलसीपुर धाउनु पर्ने ? मैले आफैँले आफैँलाइ धिक्कारी रहेँ । मैले निधो गरेँ कि यो वर्ष कम्तिमा चार बोट खुर्सानीलाई गतिलो स्याहार गरी हुर्काउने छु । खुर्सानी किन्न कहिलै बजार आउने छैन ।
यति भनिरहनुमा मलाइ एक जना नेपाल प्रहरीका डिआइजी कुवेरसिंह कडायतले पनि अघिल्लो दिन हौस्याएका थिए । मेरो पुरानो घर पश्चिम पहाडी जिल्ला हो तर अहिले बजारमा घर छ । घरकै छतमा मैले पाँच वडा ड्रागन फ्रुट हुर्काएर फलाइसकेको छु, प्लास्टिकको बाल्टिनमा । गरेपछि हुँदोरहेछ भन्ने मलाइ लाग्छ । यो उनको सुझावलाई म जस्तै सबै नेपालीले आत्मसात गर्ने हो भने सायद हाम्रो भान्सा यति महँगो हुन्थेन कि ?