तरकारी कृषकहरुले आफ्नो उत्पादनले बजार नपाउँदा समस्यामा परेको गुनासो गर्न थालेका छन् । तरकारी उत्पादनको सिजनको मुखैमा आएर भएको लकडाउनका कारण पर्याप्त तरकारी खपत हुन नसक्दा उनीहरुको त्यस्तो गुनासो आउनु स्वाभाविक हो । यो गुनासोलाई सम्बोधन गर्दै तरकारीका लागि बजार निर्माण गरिदिनका लागि केही प्रयत्नहरु पनि हुन थालेका छन् । उद्योग वाणिज्य संघले किसानको घरमै गएर तरकारी उठाएर ल्याउनका लागि पास उपलब्ध गराएर सहज बनाएको तथा कृषि कार्यालयले नै कृषि एम्बुलेन्स बनाएर तरकारी ढुवानीमा सहयोग गरेका खबरहरु पनि यो बीचमा आएका छन् । व्यावसायिक ढङ्गले तरकारी उत्पादन गर्ने किसानहरुको दैलोसम्म पुगेर बजारमा तरकारी ल्याउने तथा आवश्यकता अनुसार माग भयो भने गाउँ र टोलमा पनि पु¥याउने गरी यी प्रयासहरुलाई चुस्त दुरुस्त राख्नुपर्ने देखिन्छ ।
लकडाउनका बीचमा पनि तरकारीको आपूर्ति गर्ने, त्यसको भण्डारण गर्ने हो भने दाङ क्रमशः तरकारीमा आत्मनिर्भर बन्ने सम्भावना रहेको पनि प्रष्टसँग देखिएको छ । अहिले भारतबाट तरकारी आयात करिब करिब छैन । तर तरकारीको अभाव भयो भन्ने हाहाकार पनि सुनिएको छैन । उता किसानको फर्महरुमा छिप्पिन लागेको, कुहिन लागेको भन्ने जानकारीहरु आइरहेका छन् । भोलि अवस्था सहज भयो र होटेल, रेष्टुरेण्ट, पार्टी प्यालेसहरु नियमित सञ्चालन हुनथाल्यो भने स्वाभाविक रुपमा तरकारीको माग बढ्ने छ । अहिलेको उत्पादनलाई भण्डारण गर्ने केही उपाय हुने तथा बेमौसमी तरकारी खेतीलाई पनि प्रबद्र्धन गर्ने हो भने तरकारीमा आत्मनिर्भर बन्नसक्ने देखिएको छ । समस्याले पाठ पढाउँछ भनेझँै यतिबेला हामीले सिक्नुपर्ने दुई कुरा छन् । तरकारीमा आत्मनिर्भर हुनका लागि हामिले बेमौसमी र मौसमी दुवै तरकारी खेतीलाई प्रोत्साहन गर्नुपर्ने रहेछ । अर्को, तरकारीको बजार विस्तार र केही समयका लागि हरियो तरकारी भण्डारण गर्ने व्यवस्था पनि मिलाउन सक्नुपर्ने रहेछ । अहिलेका कोल्डस्टोरहरु हरियो तरकारी एक हप्तासम्म मात्र रहने जानकारी आएका छन् । तर, अलि लामो समयसम्म राख्न मिल्ने उपाय पक्कै हुन्छन् नै । ती उपायहरुको खोजी गरेर त्यो व्यवस्था हामीले मिलाउन सक्यौँ भने तरकारीका सन्दर्भमा हामीले ठूलो व्यवस्थापन गर्न सक्ने छौँ । यो असम्भव कुरा पनि हैन । इमानदार प्रयत्न र कृषकहरुका समस्याका साथी बन्ने गरी राज्यका मेकानिज्महरुले काम गरे भने यो सम्भव छ । यो प्रक्रियामा व्यावसायिक संगठनहरु र विज्ञहरुको भूमिका पनि उत्तिकै रहन्छ÷रहनु पर्दछ ।
यसका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरु निर्माणहरु गरेर साझा रुपमा अगाडि बढ्नुपर्ने हुन्छ । अल्पकालीन योनामा अहिले व्यावसायिक किसानहरुको उत्पादनलाई बजार पु¥याउन मद्दत गर्ने र उनीहरु आर्थिक रुपमा घाटामा गए भने क्षतिपूर्तिको व्यवस्था गरिनु पर्छ । यो क्षतिपूर्तिले किसानको उत्साह बढाउने काम गर्ने छ । यसैगरी मध्यकालीन र दीर्घकालीन योजनाहरु पनि क्रमशः तयार गर्नेतर्फ सोच बनाउँदै जानु पर्दछ ।