मस्जिद सुनसान, घरमै नमाज

दाङ, १३ बैशाख । मुस्लिम समुदायको पर्व रमजान शनिवारदेखि सुरु भएको छ । एक महिनासम्म मनाइने रमजान पर्व मुस्लिम समुदायले यो वर्ष घरमै नमाज पढेर मनाउँदै छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन सक्ने भन्दै सरकारले लकडाउनको घोषणा गरेपछि मुस्लिम समुदायले घरमै नमाज पढेर पर्व मनाउन थालेका छन् । दाङमा मुस्लिम समुदायले घरमै बसेर पर्व मनाउन सुरु गरेको मानवअधिकारकर्मी तथा नेपाल मुस्लिम संगठनकी केन्द्रीय सचिवालय सदस्य साजिदा सिद्धिकीले जानकारी दिएकी छिन् । उनकाअनुसार घोराहीमा रहेका दुईवटै मस्जिदहरु सुनसान रहेका छन् ।

कोरोना भाइरसको सक्रमण फैलनसक्ने डरका कारण देशभरका मस्जिदहरु बन्द रहेकाले मुस्लिम समुदायले आ–आफ्नै घरमा बसेर रमजान पर्व मनाउन थालेका उनले बताइन् । ‘यो वर्ष अघिल्ला वर्षहरु जस्ता रमजानमा खुशियाली छैन, ललकडाउनका कारण घरमै पर्व मनाउन थालेका छौं’–उनले भनिन्–‘मस्जिदसम्म जान नसेक पनि घरमै नमाज पढेर मनाउन थालेका छौँ ।’ विगतका वर्षहरुमा मुस्जिदहरुमा गएर सामूहिक रुपमा नमान पढ्ने तथा आफन्तकोमा गएर भेटघाट गर्ने गरिन्थ्यो । अहिले नमाज पढ्दा विश्वमा महामारीका रुपमा देखिएको कोरोना भाइरस रोकथामको कामना गरेको समेत बताइन ।

मुस्लिम धर्मावलम्बीहरु यो पर्वमा एक महिनासम्म निरहार ब्रत बस्ने गर्दछन् । अहिले मस्जिदहरुमा नमाज पढ्नका लागि मौलनाहरु मात्र बस्ने गरेका छन् । यो पर्वमा मुस्लिम समुदायले आफ्नो कमाइएको दश प्रतिशत रकम मुस्लिम समुदायका गरिब परिवारलाई दान गर्ने गर्दछन् ।