मेरो खुशी : प्रज्ञा प्रतिष्ठानले दिएको गोल्ड मेडल ….
महिना गते मलाई याद भएन तर मिति २०४३ साल हो । त्यो बेलाको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय लोकनृत्य प्रतियोगिताको आयोजना गरेको थियो । त्यसमा हामी रोल्पाली पनि थियौँ । त्योबेला चौधै अञ्चलको सहभागिता रहेको थियो । त्यसमा हामी राप्ती अञ्चलको रोल्पा फस्ट भएका थियौँ । प्रज्ञा प्रतिष्ठानले म टिमको नेतृत्व गर्ने र नृत्य प्रतियोगितामा फस्ट भएकाले गोल्ड मेडल दियो ।
त्यो गोल्डमेडल बोकेर हामी त्योबेला खुसीले नाच्दै न्यूरोडदेखि भोटेबहालसम्म पुगेका थियौँ । हामीले उत्सव मनाउँदा पनि रोल्पाकै गित गाएका थियौँ । त्यो गित मलाई आज पनि याद छ । ‘डाँडै माथि घर, राप्ती अञ्चल रोल्पा जिल्ला घर’, यही गित गाउँदै हामीले गोल्ड मेडल बोकेर काठमाडौको मुटुमा एक फन्को लगाएका थियौँ । लेखिदिनु होला, मेरो खुसी भनौँ वा अविस्मरणीय विगतको क्षण भनेकै त्यही हो । किनकि हामीले त्योबेला पिछडिएको रोल्पालाई नृत्यको माध्यमबाट मुलुकभर चिनाउने अवसर पायौँ । रोल्पामा पनि लोक नृत्यका प्रतिभा छन् भन्ने त्यसले देखाएको थियौँ । यो अर्थमा पनि मेरो अविस्मरणीय खुसी त्यही प्रज्ञा प्रतिष्ठानले दिएको गोल्ड मेडल हो ।
त्यसो त जीवनमा अरु धेरै खुसीका क्षण पनि छन्, म सँग । अर्को खुसीको क्षण भनेको रोल्पा जिल्लामै पहिलो पटक बोर्डिङ स्कुल खोल्दाको क्षण हो । अंग्रेजी माध्यमबाट रोल्पामा पनि पढाइ हुनुपर्छ भन्ने मान्यताका साथ २०४३ सालमा सदरमुकाम लिवाङमा बोर्डिङ स्कुल खोलेँ । त्यसको नाम थियो, तुलसी इंग्लीस बोर्डिङ स्कुल रोल्पा लिवाङ । पहिलो पटक जिल्ला सदरमुकाममा बोर्डिङ स्कुल खुल्दा सिँगै रोल्पाका शिक्षाप्रेमी खुसीले गदगद भएका थिए ।
त्यो स्कुल खोल्दा रोल्पाबासीबाट मैले धेरै धन्यवाद पनि पाएँ । जिल्लामा एउटा पनि अंग्रेजी माध्यमको बोर्डिङ स्कुल नहुँदा कतिपयले बोर्डिङ पढ्न जिल्ला बाहिर पनि जानु पथ्र्यो । त्यो स्कुल खुलेपछि यो क्रम रोकियो पनि । जुन स्कुल अझै पनि सञ्चालन मै छ । म संस्थापक भएर सञ्चालन गरेको त्यो बोर्डिङ स्कुल पनि मेरो खुसीकै क्षण बन्यो । मैले अझै पनि त्यो स्कुललाई सधै सम्झिरहन्छु । अहिले त रोल्पामा यस्ता धेरै बोर्डिङ स्कुल खुलेका छन् तर सुरुवात सबैभन्दा खुसीको क्षण मात्र होइन, एउटा अविस्मरणीय शैक्षिक इतिहासनै बन्दो रहेछ ।
त्यसो त म २०३६ सालदेखि नै विद्यार्थी आन्दोलनका माध्यमबाट राजनीतिमा जोडिएको मान्छे । २०३६ को परिवर्तनको नेतृत्व होस् वा २०४६ सालको बहुदलीय व्यवस्था प्राप्तीका लागि भएको एतिहासिक जनआन्दोलनको सफलता पनि मेरा खुसीका अविस्मरणीय क्षण हुन् । राजनीतिमा लाग्नुको प्रेरणा मैले मेरा आदरणीय बाजेलाई दिन चाहन्छु । मेरा बाजे औंसे घर्तीमगरलाई पनि मैले राजनीतिको प्रेरणाका रुपमा लिएको छु ।
अर्थात बाजे मेरो खर्को खुसी । मेरा बाजे त्योबेला पनि राणा शासन विरोधी आन्दोलनमा लागेकै कारण जेल सजाय समेत भोग्नु भएको थियो । उहाँले हामीलाई पनि पछि सम्झाइरहनुहुन्थ्यो, हामीले राणा शासन त फाल्यौँ, तर अलिेको पञ्चायती व्यवस्था पनि ठिक छैन । त्यसैले बहुदलीय राज्य व्यवस्था ल्याउनु पर्छ भनेर हामीलाई सधै प्रेरणा दिइरहनुहुन्थ्यो । त्यही प्रेरणाले मलाई विद्यार्थी राजनीति, पार्टी राजनीतिदेखि अहिले नयाँ संघिय लोकतान्त्रिक गणतन्त्रमा प्रदेश प्रमुखको जिम्मेवारीसम्म पनि पु¥याएको छ । हो मेरो राजनीतिको प्रेरणा बाजे आँेसे घर्तीमगर पनि मेरो खुसी ।
त्यसो त खुसी एउटा संघर्ष हो, खुसी एउटा नयाँ कामको सुरुवात हो, खुसी एउटा कार्यको सफलता हो तर यो पाउनलाई सधै कर्म गर्नुपर्छ । त्यसैले म सधै कर्ममा विश्वास गर्ने मान्छे हो, भाग्यमा विश्वास गर्ने मान्छे होइन । मेहनतको फल जहिल्यै पनि मिठो हुन्छ । यसैले मेहनेतलाई पनि मैले खुसीसँग जोड्न चाहन्छु ।
कति लेख्नुहुन्छ, खुसीका क्षण, मैले तपाईलाई एक घण्टामा सबथोक स्मरण गराउन असमर्थ छु । सायद मेरो बायोडाटा तपाइको पत्रिकाको त्यो कलममा अट्दैन होला जस्तो लाग्छ । माथि उल्लिखित खुसीका अविस्मरणीय क्षण हुन् रोल्पा जिल्ला हालको माडिगाउँ गाउँपालिका घर्तीगाउँमा जन्मिएका कृष्ण घर्ती मगरका । हाल उनी लुम्बिनी प्रदेश प्रमुखको जिम्मेवारीमा छन् । मेहनेतले मान्छेलाई कहिल्यै ठग्दैन भन्ने पनि यसले देखाएको छ ।
कुनैबेला दाङ जिल्लामा पनि नेपाली कांग्रेसका केन्द्रीय नेता सहितको कार्यक्रम हुँदा छत्रे टोपि लगाएर ट्यावमा तस्वीर खिच्ने सक्रिय राजनीतिज्ञ उनै कृष्ण घर्तीको राजनीतिक इतिहास अलिकै लामो छ । त्यसो त उनी राजनीतिमा मात्र नभएर शिक्षा तथा सामाजिक अभियानमा जोडिएका अभियन्ता पनि हुन् । रोल्पा जिल्लाकै घर्तीगाउँमा प्रावि तहको अध्ययन पूरा गरेका घर्तीले हाइस्कुल पास रोल्पाको लिवाङ हाइस्कुलबाट गरे । त्यसपछि उनको उच्च शिक्षा भारतको गोरखपुरबाट पूरा भयो ।
उनी त्यहाँबाट स्नातक तहसम्मको पढाइ पूुरा गरे सँगै राजनीतिलाई पनि एक पछि अर्को फड्को मार्दै लगे । नेविसंघको राजनीति हँुदै उनी रोल्पा जिल्ला नेपाली कांग्रेस क्षेत्र नं २ को सचिव, नेपाली कांग्रेस रोल्पाको जिल्ला सदस्य, हुँदै २०४८ सालदेखि निरन्तर २०६७ सालसम्म नेपाली कांग्रेस महासमिति सदस्य पनि भए । २०५९ सालदेखि लगातार २०७२ सालसम्म नेपाली कांग्रेस रोल्पा जिल्लाको सभापतिको कुशल जिम्मेवारी पनि निर्वाह गरे । २०५९ सालदेखि २०६२ सालसम्म नेपाली कांग्रेसको आमन्ख्त्रीत केन्द्रीय सदस्यको जिम्मेवारीमा पनि रहे ।
केन्द्रीय सल्लाहकार परिषदको सदस्य बने अनि नेपाली कांग्रेसले गठन गरेको नागरिक सरोकार मञ्चको जिल्ला संयोजक समेत बने । जिल्ला खेलकुद विकास समितिको संस्थापक अध्यक्षको जिम्मेवारीमा रहेका कृष्ण घर्तीको खेल क्षेत्रमा पनि उत्तिकै रुचि देखिन्छ । उनी मध्यपश्चिम खेलकुद विकास समितिको सदस्य पनि बने । त्यसो त उनी २०४९ सालको स्थानयि तह निर्वाचनमा गा.वि.स अध्यक्ष समेत निर्वाचित भए । २०५९ सालमा जिल्ला विकास सभापतिमा झग्गुप्रसाद सुवेदीको प्रत्यासीका रुपमा पनि उम्मेदवार बनेका थिए । यद्धपि विजयी बन्न सकेनन् । कारण त्योबेला रोल्पा जिल्लामा माओवादी जनआन्दोलनको दबदबा थियो ।
यस्तो दबदबाबिच पनि रोल्पा जिल्लामा नेपाली कांग्रेसलाई बचाइराख्ने उनै कृष्णबहादुर हुन् । जुन अत्यन्तै मिलनसार, मिजासिला र निर्भय आफ्ना अभिव्यक्ति राख्न सक्ने व्यक्तित्व पनि हुन् । द्वन्द्वकालमा उनी करिब ३५ घण्टा माओवादीको अपहरणमा पनि परे तर पछि उनलाई स्थानीयको छलफलबाट मुक्त बनाइयो । उनी राजनीतिक यात्राकै क्रममा हर्टौडा सिमेन्ट कारखानाको बोर्ड अफ डाइरेक्टर पनि बने ।
नेपाल रेडक्रस सोसायिटि रोल्पाको उपसभापति बनेका उनी नेपाल रेडक्रस सोसाइटिका आजिवन सदस्य पनि हुन् । त्यस्तै रोल्पाको सुनछहारी युवा क्लवको पनि उनी संस्थापक अध्यक्ष हुन् । हरेक क्षेत्रमा विषयगत दख्खल राख्ने व्यक्तित्व भएकै कारण उनलाई पछिल्लो समयमा सरकारले उनलाई प्रदेश प्रमुख जस्तो सम्मानित पदमा नियुक्त ग¥यो । घर्ती भन्छन्, यो पद चाहि मेरो अविस्मरणीय खुसी नलेखिदिनु होला । खुसीका क्षण त यस अघिनै भनिसके । बाँकी कुरा पनि छन् । पछि भेटमा गरौँला है ।
प्रस्तुति : खेमराज रिजाल