अम्विकेश्वरी मन्दिरमा पूजापाठ व्यवस्थित गरिने
गोरक्ष समाचारदाता
दाङ, १६ असोज । घोराही उपमहानगरपालिका–१८ अम्बापुरमा रहेको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको अम्बिकेश्वरी मन्दिरमा यो वर्ष बडादसैँैमा गरिने पूजापाठ थप व्यवस्थित गरिने भएको छ ।
अम्बिकेश्वरी मन्दिर संरक्षण तथा संवर्धन समिति अन्तर्गत प्रचारप्रसार उपसमितिले मङ्गलवार नवरात्रको समयमा गर्न थालिएको काम र मन्दिरको वर्तमान अवस्थाबारे जानकारी गराउन आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्दिरको महत्वलाई अझ माथि उठाउन सबैको साथ, सहयोग र सुझावलाई शिरोधार्य गरेर नवीन प्रयासबाट काम गर्न थालिएको जानकारी गराइएको हो ।
प्रचारप्रसार उपसमिति संयोजक निरजा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा मन्दिर संरक्षण तथा संवर्धन समितिका अध्यक्ष नारायणप्रसाद अधिकारीले दैनिक बिहानको समयमा तीन जना ब्राह्मणबाट भइरहेको चण्डीपाठको कामलाई निरन्तरता दिँदै यो वर्षको नवरात्रभर सन्ध्याकालीन महाआरती तीनजना ब्राह्मणबाट तीन सेट शृङ्गारिक महाआरती हुने, मन्दिरको दैनिक गतिविधि सबैले थाहा पाउने गरी सार्वजनिक गरिने बताए ।
यसैगरी हिजोका दिनमा पञ्चबलीको प्रसाद मन्दिर आफैँले राख्ने गरेकोमा पण्डितको सल्लाह र भक्तजनको सुझावका आधारमा अब पञ्चबलीको प्रसाद भक्तजनलाई पु¥याउने गरी नियमित प्रसाद वितरणमा पुजारीको हातबाट सबैलाई उपलब्ध गराउने योजना बनेको जानकारी दिएका छन् ।
पूजा सामग्री बिक्रीमा अस्वस्थ प्रतिस्पर्धा भइरहेको गुनासो सम्बोधन गर्न मूल्य निर्धारण गरेर न्यूनतम मूल्यमा पूजा सामग्री बिक्री गर्ने निर्णय भएको पनि उनले जानकारी दिए । अम्बिकेश्वरी मन्दिरमा पूजा कसरी गर्ने भन्नेबारे पुस्तिका तयार पारेर शास्त्रीय मान्यतामा रही काम गर्ने गरी पुजारी, ब्राह्मणलाई प्रशिक्षित गरिने, नवरात्रभर ट्राफिक व्यवस्थापन र सुरक्षा व्यवस्थाका लागि सरोकारवाला निकायसँग समन्वय, सहकार्य हुने जानकारी गराउँदै अध्यक्ष अधिकारीले पूजाआजाका लागि आउने भक्तजनका सवारी साधन मोटरसाइकल, अटोरिक्सा, कार, जिपको उचित पार्किङको निःशुल्क व्यवस्था गरिएको बताएका छन् । मन्दिरमा आउने कुनै पनि भक्तजनले एक घण्टाभन्दा धेरै समय लाइन लाग्ने अवस्था नहुने गरी पूजा व्यवस्थापनको काम गर्ने योजना बनाएको बताएका हुन् ।
अम्बिकेश्वरीलाई देवी दुर्गाको अवतार मानिने भएकाले मन्दिर शक्तिपीठका रूपमा प्रशिद्ध रहेको छ । विशेष गरी नवरात्रि पर्वको समयमा अम्बिकेश्वरी मन्दिरमा ठुलो सङ्ख्यामा भक्तजनको भिड लाग्ने गर्दछ । शक्तिपीठ मन्दिर भएकाले यो स्थान देवीको शक्तिको स्थानको रूपमा मानिन्छ । मान्यता अनुसार देवीले विभिन्न रूपमा प्रकट भएर भक्तजनको मनोकामना पूरा गर्ने विश्वास गरिन्छ ।
नवरात्रि, दसैँ, तिज र अन्य प्रमुख हिन्दू पर्वहरूमा विशेष पूजा, हवन र भजनकीर्तनको आयोजना गरिने हुँदा यसको आफ्नै महत्व रहेको छ । पुरानो ऐतिहासिक अम्बिकेश्वरी मन्दिरको स्थापना कहिले भयो भन्ने स्पष्ट विवरण नभए पनि १८६३ मा मन्दिरमा चढाएको घण्टले पनि सयौँ वर्ष पुरानो मन्दिर हो भन्ने आधार देखिएको छ । कार्यक्रमको सहजीकरण सचिव दामोदर भुसालले गरेका थिए ।