आर्थिक क्षेत्रलाई चलायमानसँगै व्यावसायिक हकहितमा काम गछौँ : अध्यक्ष भण्डारी [अन्तर्वार्ता]
चेम्वर अफ कमर्श तुलसीपुरमा करिब ६ वर्ष पहिले स्थापना भई संस्था हो । यसले विभिन्न गतिविधि गर्दै आएको छ । पछिल्लो समयमा व्यवसायीक हकहित र अन्य सामाजिक कार्य यसले गर्दै आएको छ । तुलसीपुरमा स्थापना भएदेखि नै यसले विभिन्न विपद् परेका व्यक्ति तथा अन्य समुदायमा पनि सहयोग गर्दै आएको छ ।
वाणिज्य संंगठनको रुपमा स्थापित तुलसीपुर चेम्वर अफ कमर्शमा भरखरै नयाँ नेतृत्व पनि चयन भएको छ । तुलसीपुर चेम्वर अफ कमर्शमा संस्थापक सदस्य, सचिव हुँदै अध्यक्षमा चयन भएका युवा व्यवसायी विगत २ दशकदेखि व्यवसायीमा संलग्न अध्यक्ष ऋषिराज भण्डारीसँग चेम्वर अफ कमर्शले गर्ने कार्य व्यवसायीक समस्या तथा भावि योजनाका विषयमा गोरक्षकर्मी बालाराम खड्काले गरिएको संक्षिप्त कुराकानी ।
स्वागत छ यहाँलाई सातावार्तामा ?
धन्यवाद यहाँ अनि यहाँको पत्रिकालाई मेरा कुराहरू राख्न दिएकोमा ।
तुलसीपुर चेम्वर अफ कमर्शको अध्यक्षमा जिम्मेवारी पाउँनु भएको छ यसलाई कसरी लिनुभएको छ ?
हो, म हालै सम्पन्न अधिवेशनबाट तुलसीपुर चेम्वर अफ कमर्शको अध्यक्षमा चयन भएको छु । यसलाई मैले अवसर र चुनौती दुवै रुपले लिएको छु । म यस संस्थामा स्थापना कालदेखि निरन्तर लागेको छु । मैले चेम्वरको तदर्थ समितिदेखि सदस्य, सचिव हुँदै अहिले अध्यक्षको जिम्मेवारीमा यसमा आवद्ध व्यवसायीले पु¥याउनु भएको छ । यो अवसरलाई मैले भरपुर रुपमा सदुपयोग गरी व्यवसायीक हकहित र संस्थाको उद्देश्य लक्ष्य पूरा गर्नेमा म लाग्ने छु ।
चेम्वर अफ कमर्श कस्तो संस्थाको यसले के काम गर्छ ?
यो उद्योग वाणिज्य संघ जस्तै व्यवसायीकको हकहितका लागि काम गर्ने अग्रणी वाणिज्य संगठनको रुपमा स्थापित संस्था हो । नेपाल चेम्बर अफ कमर्शको स्थापना २००७ सालमा आश्विन २७ गते भएको थियो । जुन समयमा मुलुकमा राणा शासन कायम थियो ।
तसर्थ नेपाल चेम्वर प्रजातन्त्रभन्दा पनि जेठो मानिन्छ । २०१२ अर्थात् सन् १९५५ मा उद्योग र वाणिज्य सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन नेपाल चेम्वरको अगुवाईमा भएको थियो । यसको इतिहास लामो छ । चेम्वर स्थापना भएदेखि नै वाणिज्य क्षेत्रको विकास र आर्थिक सम्वृद्धि तथा अन्य व्यावसायीक गतिविधिका क्षेत्रमा अग्रणी एवम महत्वपूर्ण भूमिका खेल्दै आएको पाइन्छ ।
नेपाल चेम्वर अफ कमर्शले नेपाल सरकारलाई औद्योगिक, वाणिज्य र अन्य वित्तीय मामिलाका लागि नीति नियम तर्जुमा गर्न सुझाव र सल्लाह प्रदान गरिरहेको छ । यसका साथै नेपाल चेम्बर अफ कमर्स ‘चेम्वर आन्दोलन’ लाई अभियानको रुपमा विस्तार गर्न र व्यवसायिक क्षेत्रको सशक्तिकरणका लागि विभिन्न गतिविधि प्रोत्साहित गर्न समर्पित रहदै आएको देखिन्छ । चेम्वरले निजी र सरकारी क्षेत्रबिच पुलको भूमिका निर्वाह गरिरहेको पनि छ ।
यो कहाँ–कहाँ छ र तुलसीपुरमा कति सदस्य छन् ?
चेम्वर अफ कमर्शले प्रदेश, जिल्ला तथा नगर चेम्वर अफ कमर्श, वस्तुगत संघ, आवद्ध संघलगायत द्धिपक्षीय वाणिज्य तथा उद्योग संघको प्रतिनिधित्व गर्दछ । रजिष्टर्ड फर्म, व्यापार र उद्योग क्षेत्रका संघ संस्था, द्धिपक्षीय व्यापार तथा उद्योग संघ चेम्वरसँग आवद्ध रहेका छन् । नेपाल चेम्वर अफ कमर्शले ७० वटा अन्तर्राष्ट्रिय चेम्वर अफ कमर्शसँग आर्थिक क्रियाकलाप विस्तार गर्न समझदारी पत्रमार्फत् सम्बन्ध स्थापित गरेको छ । ७ प्रदेश, ६७ जिल्ला र विभिन्न नगरमा चेम्वर गठन भइसकेको छ । तुलसीपुरमा हाल करिब साढे ३ सय व्यवसायी यसमा आवद्ध हुनुहुन्छ ।
तपाई अध्यक्ष भई सकेपछि अबको भावियोजना र व्यवसायीक हकहितका लागे के गर्ने योजना छन् ?
मैले पहिले पनि भने चेम्वर अफ कमर्श एक व्यवसायीको छाता संगठन हो । हामीले गर्ने भनेकै व्यवसायीक हकहित र सामाजिक कार्य हो । हामीले यसअघि पनि विभिन्न सामाजिक संस्थासंग मिलेर विभिन्न सामाजिक कार्य गरेका छौँ । त्यस्तै व्यवसायीकका समस्याको विषयमा विभिन्न समयमा आवाज उठाएका छौँ र अब पनि व्यवसायीक हकहितका लागि खबरदारी गर्दै बजार व्यवस्थापन र व्यवसायीका पिर मर्कालाई बुझेर त्यसको समस्या समाधान गर्नेमा लाग्ने छौँ ।
म अध्यक्ष भएपछि मैले पहिलो कुरा त यहाँको स्थानीय सरकारसँग मिलेर बजार व्यवस्थापनदेखि हामीले स्थानीय सरकारलाई परेको समयमा सहयोगी भूमिकाको रुपमा काम गर्ने छौँ । अहिले पनि तुलसीपुरमा विभिन्न व्यवसायीक समस्या छन् । जस्तो अहिले तुलसीपुरमा नापतौल विभागको इकाई नहुँदा नेपालगञ्ज व्यवसायी जानु पर्ने अवस्था छ । त्यसको इकाई तुलसीपुरमा ल्याउने हाम्रो प्रयास रहने छ ।
त्यस्तै अहिले आर्थिक मन्दी र अन्य कारणले व्यवसायीक पलायन भइरहेको अवस्था छ । यसलाई रोकन र व्यवसायीका मर्काको विषयमा हामीले काम गर्ने छौँ । अर्को कुरा सुरक्षित सुन्दर तुलसीपुर कसरी बनाउने भन्ने विषयमा पनि हामीले सम्बन्धित निकायसँग सहकार्य गरी सहयोग गर्ने छौँ ।
त्यस्तै तुलसीपुरमा विभिन्न समस्या छन त्यसको समाधानको विषयमा हाम्रो पहल हुने छ । चेम्वरको आफ्नै कार्यालय बनाउने तयारी छ । त्यसका लागि सबैसँग समन्वय गर्ने र मेला महोत्सव लगाएर आर्थिक संकलन गर्ने योजनामा छौँ ।
तुलसीपुरमा व्यवसायीक समस्या के–के छन् कसरी समाधान गर्नुहुन्छ ?
हामीले चाहेर मात्र केही हुन सक्दैन यहाँ थुप्रै समस्या छन् । जस्तो अहिले व्यवसायी र घरधनीबिच भाडाका कुरा छन्, फुटपात व्यवस्थापन लगायतका कुरा छन् । त्यस्तै कर सम्बन्धी कुरा छन् । हामीले व्यवसायी र घरधनीबिच भाडाको विषयमा त्यसको समस्या सामाधान गर्नेदेखि तुलसीपुर उपमहानगरपालिकामा कर तिरेका दर्ता भएका व्यवसायीको सुरक्षा र झोले व्यवसायीलाई रोक्नका लागि पहल आवश्यक छ ।
त्यस्तै तुलसीपुर सुरक्षित छ भन्ने बनाउन र यहाँ व्यवसायीक लगानीको वातावरण गराउन पनि त्यतिकै आवश्यक छ । यहाँ होटल तथा अन्य उद्योगमा लगानी लगाउने वातावरण सिर्जना गर्ने तथा यही सबै बास बस्ने अवस्था कसरी बनाउन सकिन्छ भन्नेमा हाम्रो पहल हुने छ । त्यस्तै अर्को समस्या तुलसीपुर बजार संसाझै बन्द हुन्छ त्यसलाई सुरक्षा निकाय तथा स्थानीय सरकारसँग समन्वय गरी कसरी कम्तीमा पनि १० बजेसम्म खुलाउन सकिन्छ भनेर लागेका छौँ । त्यसका लागि सुरक्षाका लागि सडक बत्तीदेखि सिसि क्यामेरा राख्नका लागि पहल र सहयोग गर्ने छौँ ।
जिल्लाका मुख्य समस्या के छन् ? मैले पहिले पनि भने हामीका धेरै समस्या छन् । केही सहजै पूरा गर्न सकिने छन् भने केही अलि जटिल छन् । तुलसीपुरमा रहेको विमानस्थलको स्तरोन्नतिदेखि घोराही तुलसीपुरको चारलेन सडक निर्माणदेखि जिल्लामा लगानीमैत्री वातावरण सिर्जनाका लागि पहल गर्ने छौँ । कोरोना पछि व्यवसाय थलिएको छ । धेरै व्यवसायी सटर बन्द गर्नु पर्ने अवस्था छ । यो किन र कसरी भयो यो विषयमा पनि गहन छलफल गर्नु पर्ने छ । त्यस्तै यहाँ बजार अनुगमनलाई नियमित गराउने र मूल्यवृद्धिलाई कसरी रोक्न सकिन्छ भन्नेमा पनि समस्या छ ।
हामीले कर तिरेका छौँ तर हाम्रो लागि स्थानीय सरकारले पनि सोही अनुसार हामीलाई सेवा सुविधा दिनु पर्ने हुन्छ त्यसमा पनि हामीले आवश्यक सहयोग र सहजीकरण गर्ने छौँ । तुलसीपुरमा नियमित हवाई यातायातलाई भरपर्दो बनाउने र उद्योग व्यवसायलाई चलायमान बनाउनका लागि पहल आवश्यक छ । त्यसका लागि के सहयोग गर्नुपर्छ सहयोग गर्न तयार छौँ ।
अन्तमा केही भन्नु छ ?
अन्तमा मेरा कुरा राख्ने अवसर दिएकोमा तपाई अनि तपाईको पत्रिकालाई धन्यवाद । सवैले तुलसीपुरलाई सुन्दर र सुरक्षित तुलसीपुरसँगै सबै व्यवसायीको हकहित हुने गरी लागौँ । हामीले स्थानीय सरकार र अहिले देखिएका समस्यालाई हल गर्न कहाँ के सहयोग र सहजीकरण गर्नुपर्छ तयार छाँै ।
चेम्वर अफ कमर्श तुलसीपुरमा करिब ६ वर्ष पहिले स्थापना भएको संस्था हो । जिल्ला आर्थिक क्षेत्रलाई चलायमान र व्यवसायिक हकहितका लागि विभिन्न गतिविधि गर्दै आएको छ । सबै व्यवसायीक सघसंंगठन मिलेर जिल्लाको आर्थिक क्षेत्रलाई चलायमान बनाउनेदेखि लगानीमैत्री वातावरणका लागि पहल गराँै भन्न चाहान्छु ।