Goraksha

National Daily

ज्येष्ठ नागरिकको अधिकार कार्यान्वयन गर्ने प्रतिबद्धता

सुशील बस्नेत
तुलसीपुर, १६ असोज । ज्येष्ठ नागरिकका लागि राप्ती लाइफ केयर अस्पताल तुलसीपुरले कम्तिमा १० देखि २५ प्रतिशतसम्म छुट दिने भएको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा बुधवार मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा अस्पतालका प्रबन्ध निर्देशक जीवन भण्डारीले १० देखि २५ प्रतिशत सुविधा स्वीकार गर्दै सम्झौता गर्न ज्येष्ठ नागरिक समाजलाई औपचारिक रूपमा आह्वान गरे ।

‘नीजि अस्पतालका आफ्नै समस्या भए पनि सामाजिक उत्तरदायित्वलाई बहन गर्ने उद्देश्यले आजको यो कार्यक्रमबाट ६० वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकलाई अस्पतालबाट दिइने सुविधामा १० देखि २५ प्रतिशतसम्म छुट दिने घोषणा गर्छु’, उनले भने । त्यसबाहेक विपन्न र सहाराविहीन अवस्थाका एकल तथा दम्पत्ति ज्येष्ठ नागरिकलाई भने ज्येष्ठ नागरिक समाजको सिफारिसमा सम्पूर्ण छुट उपलब्ध गराइने उनल प्रतिबद्धता जनाए ।

नेपाल बैङ्कर्स एसोसिएसन तुलसीपुरका अध्यक्ष एवम् लक्ष्मी विकास बैंकका शाखा प्रमुख रञ्जन कोइरालालले बैंकको कार्यविधिबारे जानकारी दिए । २० हजार रुपैयाँसम्मको ओपिडी सेवा, अस्पतालमा भर्ना भएको बिल बुझाए ८० हजारसम्म र दुर्घटना बिमाबापत पाँच लाख रुपैयाँको सुविधाको व्यवस्था रहेको तर अझै पनि जानकारी नहुँदा लिनेको सङ्ख्या अत्यधिक कम भएको कोइरालाको भनाइ छ ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुर विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले ज्येष्ठ नागरिकका लागि सामाजिक सेवा इकाइ सञ्चालन गरेको भए पनि प्रभावकारी हुन नसकेको स्वीकार गरे । ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट र ८० वर्षमाथि ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार भए पनि कार्यान्वयन गर्न पैसाको अभावले समस्या भएको बताए । डायलायसिस सेवाबापतको रकमको अभाव भएको उनको भनाइ छ ।

५० शय्याको अस्पतालको जनशक्तिबाट दुई सय शय्याको सेवा दिन कठिन रहको उनले बताए । ज्येष्ठ नागरिकले सबैभन्दा बढी यातायात सेवाबारे गुनासो गरेका थिए । कार्यक्रममा सहभागी त्रिशिदेश्वरी राप्ती यातायात प्रालिका सचिव प्रितम श्रेष्ठ र अम्बिकेश्वरी यातायात प्रालिका भीमबहादुर खत्रीले प्रयास भइरहेको भए पनि कहीँकतै त्रुटि भए तत्काल जानकारी गराउन आग्रह गरे ।

मानव अधिकार तथा शान्ति समाज दाङ शाखाका सभापति कोमल डिसीको सभापतित्वमा भएको कार्यक्रममा ज्येष्ठ नागरिक पूर्णबहादुर खडका, कृष्ण केसी, शेषमणि रिजाल, गोबर्धन गौतम, भीष्मप्रसाद अधिकारी, केशव डाँगी, नेत्रमणि शर्माले ज्येष्ठ नागरिकका लागि भएका राम्रा पक्ष र सुधार गर्नु पर्ने पक्षबारे ध्यानाकर्षण गराएका थिए ।

शान्ति समाजका निवर्तमान बरिष्ठ उपसभापति सुशील बस्नेतले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी गराए । सदस्य भीमलाल मरासिनीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव माधव बस्नेतले गरेका थिए । मानव अधिकार तथा शान्ति समाजले प्रत्येक वर्ष अक्टोबर १ तारिखका दिन अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउँदै आएको छ ।