मेट्रो कलेजको कानूनी सचेतना
गोरक्ष समाचारदाता
तुलसीपुर, १६ असोज । रुकुम झुल्नेटामा रहेको युवा जनजागरण माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत प्रतिमा केसीले फुर्सदको समयमा सामाजिक सञ्जाल चलाउने गर्छिन तर उनलाई यसले निम्त्याउने कानुनी जटिलताबारे केही पनि थाहा थिएन ।
सामाजिक सञ्जालका कानुनी प्रावधान र समाजमा घटेका घटनाबारे जानकारी पाएपछि अहिले उनी सजग भएर सामाजिक सञ्जाल चलाउने गर्दछिन् । सरस्वती मावि बागचौरमा अध्ययन गर्ने बिमला पुनलाई सा–साना घटना पनि महिला हिंसा हुन सक्छन् भन्नेबारे थाहै थिएन । कानुनी सचेतना कार्यक्रमाबाट त्यसबारे जानकारी पाएपछि उनी अहिले सजग भएकी छिन् ।
तुलसीपुर मेट्रो कलेज कानून सङ्कायका विद्यार्थीले गाउँ–गाउँ पुगेर कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिरहेका छन् । कलेजको बिएएलएलबी चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थी दिपेश खड्काले सल्यान र रुकुमका विभिन्न विद्यालयमा पुगेर विद्यार्थीलाई अत्यावश्यक कानूनी प्रावधानबारे जानकारी गराएका छन् । उनले विद्यार्थीलाई बालविवाह, बाल अधिकार र साइबर कानूनसम्बन्धी जानकारी दिएका छन् ।
रुकुम झुल्नेटाको युवा जनजागरण मावि, सल्यान दार्मा गाउँपालिकाको मधु सहिद स्मृति मावि, शिवरथ सल्यानको सरस्वती मावि र सल्यान गोठीवनको सुर्योदय माविका करिव पाँच सय विद्यार्थीलाई उनले कानुनी सचेतना प्रदान गरेका हुन् । कलेजले केही समय पहिले तुलसीपुर उपमहानगरपालिका भित्रका एक हजार आमाहरूलाई कानुनी सचेतना कार्यक्रम प्रदान गरेको थियो ।