calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

हाम्रो अभियान दृष्टिक्रान्तिः अध्यक्ष गिरी

मुलुकमा धेरै राजनीतिक क्रान्तिहरु भए, भोक मेटाउनका लागि खाद्य क्रान्तिहरु भए । सामाजिक न्यायका लागि पनि क्रान्ति भए । तर पछिल्लो समयमा नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित राप्ती आँखा अस्पताल भने पछिल्लो समयमा दृष्टिक्रान्तिको अभियानमा लागेको छ । दाङको रक्षाचौरमा आँखा स्वास्थ्यका लागि मुख्य अस्पताल सञ्चालन गर्दै आएको संघले दातृनिकाय र नेपाल सरकारको केही सहयोगमा लमही र कपिलबस्तुमा पनि आँखा अस्पताल सञ्चालन गरिसकेको छ ।

साथै राइट टु भिजन अभियानअन्तर्गत अस्पतालले पाँच नं. प्रदेश मात्रै नभएर ६ नं. प्रदेशमा समेत आफ्नो घुम्ती सेवा विस्तार गरेको छ । सहज आँखा उपचारका लागि कर्णालीमै पनि आँखा उपचार घरदैलो कार्यक्रमसमेत थालिसकेको छ । नेपालमा अन्धोपन निवारणका लागि झण्डै चार दशक पहिला नेपालमा २०३५ सालमा चैत १३ गते नेपाल नेत्रज्योति संघ मुनाफारहित एवं लोक कल्याणकारी संस्थाको स्थापना भएको थियो । सोही संस्थाअन्तर्गत दाङमा पनि २०४१ सालमा नेपाल नेत्रज्योति संघ जिल्ला शाखा गठन भएको थियो ।

त्यस्तै रुकुम पश्चिम, पूर्व, सल्यान, रोल्पा, घोराहीमा आँखा उपचार केन्द्र र कोइलावासमा साप्ताहिक क्लिनिकको माध्यमबाट आँखाका बिरामीलाई निरन्तररुपमा सेवा प्रदान गरिरहेको छ । संघअन्तर्गत सञ्चालित अस्पतालले दुर्गम तथा विकट स्थान कर्णालीसम्म पुगेर निःशुल्क आँखा शिविरहरु गर्दै आएको छ । पैसा नभएका नागरिकहरुलाई सहयोगी निकाय जुटाएर उपचार सेवा समेत प्रवाह गर्दै आएको नेपाल नेत्रज्योति संघको एउटै मिसन भनेको पैसा नभएर कुनै पनि व्यक्ति अन्धो हुनु नपरोस् भन्नेमा केन्द्रित छ । यसै विषयमा केन्द्रित रहेर गोरक्षकर्मी खेमराज रिजालले नेपाल नेत्रज्योति संघ दाङका अध्यक्ष कृष्णकुमार गिरीसँग गरेको कुराकानीको सारसंक्षेप…

स्वागत छ गोरक्षको सातावार्तामा ?

धन्यवाद तपाई एवं तपाईको लोकप्रिय गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परिवारलाई । तपाईको पत्रिकामार्फत आम पाठकहरुलाई हाम्रो सेवा सेवा–सुविधाका विषयमा केही कुरा सार्वजनिक गर्ने मौका प्रदान गर्नुभएकोमा ।

नेपाल नेत्रज्योति संघ कस्तो संस्था हो र यसले अहिले के काम गरिरहेको ?

सबैभन्दा पहिले अब हामीहरु पछिल्लो समयमा दृष्टिक्रान्तिको अभियानमा लागिरहेका छौं । नेपाल नेत्रज्योति संघ नेपालमा अन्धोपन निवारणका लागि झण्डै चार दशक पहिला नेपालमा २०३५ सालमा चैत १३ गते स्थापना भएको संस्था हो । नेपाल नेत्रज्योति संघ मुनाफारहित एवं लोककल्याणकारी संस्थाको रुपमा स्थापना भएको पनि मैले यहाँलाई अवगत गराउन चाहन्छु । सोही संस्थाअन्तर्गत दाङमा पनि २०४१ सालमा नेपाल नेत्रज्योति संघ जिल्ला शाखा गठन भएको थियो । यस संस्थाअन्तर्गत हाल नेपालका विभिन्न स्थानमा आँखा अस्पतालहरु स्थापना भएका छन् । हाल आँखा स्वास्थ्य सेवाका साथै कान सेवा पनि दिइरहेको छ । यसै अस्पताललाई स्तरवृद्धि गरी आम आँखा रोगीहरुको विशिष्ट उपचार समेत यहीँ होस् भन्ने मैले चाहन्छु । त्यसैअनुरुप मास्टर प्लान बनाएर अघि बढिरहेका छौं ।

आँखा स्वास्थ्यसम्वन्धी कस्ता–कस्ता सेवाहरु यहीँबाट प्रवाह गर्नुभएको छ ?

हामीहरुले अस्पतालबाट अत्याधुनिक प्राविधि फ्याकोबाट अप्रेशन, मोतियाविन्दुका शल्यक्रियापछि पलाउने जालोको उपचार सेवा, आँखाको अल्ट्रासाउन्ड सेवा, आँखाको दृष्टि नशाको जाँच, आँखाको दृष्टि पर्दामा भएको समस्याको लागि ग्रीन लेजर सेवा, तीनवटै अस्पतालमा ल्याव र कानको सेवा दिइरहेका छौं भने अन्य सामान्य सर्जरीहरु पनि यहाँ हुने गरेका छन् ।

पछिल्लो समयमा स्थानीय सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने प्रत्यत्न गर्नुभएको छ, के–के काम गर्दै हुनुहुन्छ स्थानीय सरकारको साझेदारीमा ?

हो हामीहरुले पछिल्लो समयमा दातृ निकायको सहयोग सँगसँगै प्रदेश, स्थानीय सरकारहरुसँग विभिन्न योजनाहरु अगाडि सारेका छौं । दाङमा करिब १ हजार बढीलाई उज्यालो प्रदान गरिसकेको छौं । यो सुरुवात पहिलो हो नेपालमै हामीहरुले तुलसीपुर उपमहानगरपालिकाबाट गरेका हौ । सबै स्थानीय निकायमा यसको सुरुवात भएको छ । साथै पूर्वाधार विकास कोषबाट लमही आँखा अस्पतालको कर्मचारी आवास भवनको लागि आर्थिक सहयोग प्राप्त भएको छ ।

यसै गरी प्रदेश ५ र कर्णाली प्रदेशमा रहेको दृष्टिविहीनताको समस्यालाई कम गर्न पेश गरिएको प्रस्ताव र प्रस्तुतीकरणको विषयमा सहयोग गर्ने सकारात्मक प्रतिवद्धता प्राप्त भएको छ कार्यक्रमको भौतिक निर्माण तथा विकासको लागि प्रस्तुत गरिएको प्रस्तावहरुको विषयमा पनि केन्द्र, प्रदेश तथा स्थानीय सरकारहरुबाट सकारात्मक प्रतिवद्धता प्राप्त भएका छन् । अस्पतालको भौतिक विकास तथा निर्माणको लागि यस वर्ष पनि एनएविपी नर्वे, तुलसीपुर उपमहानगरपालिका, स्थानीय दाताहरुको पनि सहयोग प्राप्त भएको छ ।

अर्को कुरा राष्ट्रिय स्वास्थ्य नीति २०७६ अन्र्तगत आँखाको प्राथमिक उपचार सेवालाई आधारभूत स्वास्थ्य सेवामा एकीकृत गरिनेछ भन्ने कुरालाई मध्यनजर गर्दै आँखा उपचार केन्द्र पूर्व रुकुमको सिस्ने गाउँपालिका सँगको सहकार्यमा आँखाको प्राथमिक उपचार सेवालाई आधारभूत स्वास्थ्य सेवामा शुरुवात गरिएको छ । रोल्पा, सल्यान र रुकुम पश्चिममा पनि यस्को सुरुवात गर्ने प्रक्रियामा छौं । त्यस्तै कोही पनि पैसाको अभावका कारण उपचार सेवाबाट बञ्चित हुनुनपर्ने गरी हामीहरुले सबैसँग सहाकार्य गरेका छौं ।

आँखा अस्पताललाई सहयोग गर्दै आएको दातृ निकायले सहयोग घटाउँदै गएको छ भने कुरा आएको छ, के अस्पताल आफैमा आत्मनिर्भर हुन सक्छ ?

समग्ररुपमा दातृ निकायको सहयोग आजभन्दा पाँच वर्ष र अहिलेको अवस्थालाई तुलनात्मकरुपमा हर्ने हो भने सहयोगको रकम लगभग उस्तै रहेको छ । पाँच वर्षअघि कार्यक्रमको आकार सानो थियो र सोही मुताविक लागत पनि कम थियो अर्थात कुल लागतको करिब ४० प्रतिशत दातृ निकायको सहयोग रहेको थियो भने अहिले कार्यक्रमहरु बढेर गएको छ, बिरामीहरुको संख्या पनि बढेको छ, आँखा उपचारको सेवाहरु पनि थपिएका छन् र सोही मुताविक आवश्यक प्राविधिक जनशक्तिहरु पनि थपिएका छन् जसको कारण कार्यक्रमको लागत बढ्नु स्वाभाविक हो तर दातृ निकायको सहयोगको अनुपात हिजोको र आजको अनुपातमा लगभग समान रहेकोले कूल लागतको लगभग करिब १५ प्रतिशतमात्र दातृ निकायको सहयोग रहेको छ ।
यसरी दातृ निकायको सहयोगबाट कभर गरिने खर्चको प्रतिशत भने कमी हुँदै गएको छ । अस्पतालको आन्तरिक श्रोत भनेको विरामीहरुबाट लिइने न्यूनतम शुल्क हो र उक्त शुल्कबाट प्राप्त आम्दानीले मात्र अस्पताल चल्ने अवस्था छैन् । त्यसैले हामीहरुले फेरि पनि दातृ निकाय एनएवीपी, नर्वेलाई सहयोगको लागि अनुरोध गरेको छौं । हामीहरुलाई दातृ निकायहरुको पनि सहयोग आवश्यक पर्छ, त्यस्तै स्थानीय दाता, सरकारको पनि सहयोग हामीलाई आवश्यक छ । सबैको सहयोग र सहकार्य भयो भने अस्पताल सञ्चालन गर्न कठिन छैन् । हामीहरुले सबैका साथ र सहयोग चाहेका छौं, हुन्छ भन्नेमा पनि ढुक्क छौं ।

हालसम्म अस्पतालको उपलब्धि के रहयो आँखा स्वास्थ्यमा ?

तपाईले राम्रो कुरा उठाउनुभयो । हामीहरुले नेपाल नेत्रज्योति संघ दाङअन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल तथा यसअन्तर्गतका अस्पताल र उपचार केन्द्रले हालसम्म २७ लाख ७६ हजार २८४ जनालाई आँखा उपचार सेवा उपलब्ध गराइसकेका छौं । १ लाख ७६ हजार बढी मोतियाविन्दुको शल्यक्रिया गरी उज्यालो प्रदान गरेका छौं । दुर्गम क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर, आँखा उपचारसम्बन्धी सचेतना तालिम सञ्चालन गर्नुका साथै राप्तीमा रहेको ०.८७ प्रतिशत अन्धोपनलाई घटाएर हाल १३ प्रतिशतमा ल्याउन सफल पारेका छौ ।

अस्पतालको गुरुयोजना बनाएका छौ भने त्यस्तै तिनवटै अस्पतालको भौतिक विकासमा हामीहरु लागेका छौं । हाम्रो मिसन मैले यसअघि नै भनिसकेको छु, नेपाल नेत्रज्योति संघसँग आवद्ध अस्पतालहरुमा पैसा नभएर कुनै पनि नागरिकले अन्धो रहनुपर्ने छैन । किनकि समग्रमा भन्नुपर्दा राइट टु साइट हाम्रो अभियान हो । आवश्यकता हेरेर सबै अस्पतालमा स्थानीय सरकारसँगको सहकार्यमा सम्भवतः यो अभियान अघि सारेका छौं । अहिलेसम्म स्थानीय सरकार र प्रदेश सरकारले हामीलाई सहयोग गरेर देखाएको सदाशयतामा पनि धन्यवाद दिन चाहन्छौं ।

भौतिक विकास र गुरुयोजना निर्माण गरेका छौं भन्नुभयो के–के गर्नुभएको छ ?

हामीहरुले लमही आँखा अस्पतालको गुरुयोजना सम्पन्न गरेका छौं, सोहीअनुरुप यस क्षेत्रका सभासदज्यूहरुबाट प्राप्त रकमले कर्मचारी आवास भवन बन्ने क्रममा छ । त्यस्तै छन्द कालेबाबु नारायणी आँखा अस्पतालमा करिब ५ करोड बढी लागतमा गुरुयोजनाअन्र्तगत वार्ड भवन पहिलो चरणको काम सम्पन्न गरेका छौं । त्यस्तै राप्ती आँखा अस्पतालको दीर्घकालीन गुरुयोजना तथा ओपिडी भवन निर्माण करिब ५ करोड ३० लाखमा शुरु गरेका छौं । त्यस्तै अन्य दीर्घकालीन लक्ष्यहरु हाम्रा छन् ।

दीर्घकालीन लक्ष्यहरु भन्नुभयो नि, के–के छन् ?

हामीहरुले अहिले नेत्र सहायक विषयको पढाई सञ्चालन गरेका छौं । अब हामीहरुले फ्याको ट्रेनिङ सेन्टरको रुपमा अस्पतालाई विकास गर्ने, नेत्र विशेषज्ञ ट्रेनिङ सेन्टरको रुपमा अस्पताललाई विकास गर्ने र सन् २०२४ सम्ममा आत्मनिर्भर गराउने लक्ष्यहरु रहेका छन् । यसमा पनि हामीले विभिन्न दातृ निकाय, संघीय सरकार र स्थानीय सरकारको समेत सहयोग र सहकार्यको अपेक्षा गरेका छौं । किनकि हामी एउटा गैरसरकारी संस्थाका रुपमा स्थापित भएर सञ्चालनमा आए पनि अन्ततः नेपाल सरकारको सहयोगविना चल्ने अवस्था नहुन सक्छ, त्यसैले सरकारी निकायको सहयोग र सहकार्य अपरिहार्य हो भन्ने हाम्रो मान्यता हो ।

अन्तमा केही भन्नु छ ?

सर्वप्रथमत तपाई अनि तपाईको पत्रिकालाई धन्यवाद दिन चाहन्छु किनकि नेपाल नेत्रज्योति संघ र यस संस्थाद्वारा सञ्चालित आँखा अस्पताल रक्षाचौर र यस मातहतमा सञ्चालित आँखा अस्पतालहरुका गतिविधिका विषयमा केही करा राख्ने अवसर प्रदान गर्नु भएकोमा । हामीहरु निरन्तर आँखा स्वास्थ्य सेवालाई कसरी प्रभावकारी र सर्वसुलभ गराउन सकिन्छ भन्नेमा छौं । त्यसमा दातृ निकाय एनएवीपी नर्वे, आइकेयर, केन्द्र प्रदेश सरकार र स्थानीय दाताहरुको साथ र सहयोग हामीलाई आवश्यक छ ।

नेपालमा अन्धोपन निवारणका लागि विगतका बर्षहरुमा दिइरहेको सेवालाई निरन्तरता दिँदै थप नयाँ सेवा सुविधाहरुलाई जनताका माझ पु¥याउने प्रयासमा हामी सक्रियताका साथ लागिरहेको छौ । यस कार्यमा हामीहरुलाई हौसला प्रदान गर्ने नेपाल नेत्रज्योति संघ केन्द्र, दातृ निकायका प्रतिनिधि, स्थानीय सरकार, दाङबाट प्रतिनिधित्व गर्नुहुने माननीय सांसदज्यूहरु, राजनीतिक दल एवं नेपाल नेत्रज्योति संघ दाङका आजीवन सदस्यज्यूहरु, नेत्र विशेषज्ञ, कर्मचारीहरुप्रति हार्दिक आभार प्रकट गर्दछु । त्यसमा तपाईहरु सञ्चारकर्मीको पनि हातेमालो र सधै सकारात्मक सहयोगको हामीहरुलाई आवश्यक छ ।