Goraksha

National Daily

‘नेविसंघको क्षेत्रीय अध्यक्ष’

त्यो वेला मैले प्यूठान जिल्लाको ओखरकोटस्थित बालशिक्षा मावि मच्छिमा अध्ययन गर्दै थिएँ । कक्षा ९ मा पढ्दै गर्दा मेरो राजनीतिक झुकाव बढिसकेको थियो । त्यसै प्रसंगमा मैले नेपाल विद्यार्थी संघको क्षेत्रीय अध्यक्ष बन्ने अवसर पाएँ । सायद मलाई लाग्छ, त्यही नै मेरो सबैभन्दा खुसीको क्षण थियो ।

नौ कक्षामा पढ्दै गर्दा मैले एउटा पार्टीको भातृसंगठनको राजनीति सम्हाल्न पाएको थिएँ । त्यही राजनीतिले मलाई अहिले तुलसीपुरमा पनि तरुण नेताका रुपमा स्थापित गराएको छ । सधै राजनीतिक अभियानमा क्रियाशील, सधै हँसिलो र जोश जागरका साथ नेतृत्वदायक भूमिकामा लाग्ने व्यक्ति मुक्तिप्रसाद न्यौपाने । उनलाई मैले बाटोमा देख्नबित्तिकै उनले मुस्कुराउँदै दाङको राजनीतिक माहोलको विषयमा केही कुरा भने ।

उनका खुसीका पलहरु सोध्न नपाउँदै उनलाई फोन आयो आज विद्यालयमा बैंठक छ । उनले म एकछिन बिजी छु भन्दै आफ्ना खुसीका पलहरु साट्न थाले । प्यूठान जिल्ला हाल झिम्रुक गाउँपालिका –७ मा २०३२ सालमा जन्मिएका मुक्तिप्रसाद न्यौपाने हाल तुलसीपुर–९ दोघरेमा बस्दै आएका छन् । सानैदेखि विद्यार्थी राजनीति शुरु गरेका न्यौपानेले विभिन्न शिक्षा तथा सामाजिक संघसंस्थाको समेत नेतृत्व गरेका छन् । मेरो खुसी सानै उमेरमा पनि विद्यार्थी राजनीतिमा लागेर क्षेत्रीय अध्यक्ष हुँदाको लेखी दिनुहोला ।

प्यूठानजस्तो ठाउँमा त्यसमा पनि नेपाल विद्यार्थी सघको संगठन बनाउनु आफ्ना लागि निकै ठूलो चुनौती थियो । किनकि प्यूठान जिल्लानै कम्युनिष्टको गढ भनेर चिनिन्थ्यो । मोहन विक्रम सिंहको राजनीतिक उद्गम थलो, मोहन बैधको पनि राजनीतिक उद्गम थलो, लिलामणि पोख्रेलको पनि राजनीतिक पृष्ठभूमि बनेका स्थान तथा बामदेव गौतमजस्ता कम्युनिष्ठ नेताहरुको पनि कार्यक्षत्र रहेको प्यूठानमा नेविसंघको राजनीति फैलाउनु कति चुनौतीपूर्ण हुन सक्छ भन्ने तपाई आफैले सोच्न सक्नुहुन्छ । तैपनि म असफल हुनु परेन ।

चुनौती चिर्दै मैले त्यसलाई अवसरका रुपमा पनि लिएँ । वि.सं. २०५६ सालमा अध्यक्ष भएर विद्यार्थीहरुको शैक्षिक सुधार र संगठन निर्माणमा लाग्न पाउनु मेरो लागि पहिलो खुसीको क्षण हो, न्यौपानेले भने । त्यस्तै उनले अर्को खुसी प्यूठान जिल्लाको स्वर्गद्वारी बहुमुखी क्याम्पसको इकाई सभापति हुँदा लागेको बताए । ‘मैले फेरि पनि क्याम्पसका विद्यार्थीको नेतृत्व गर्ने अवसर मिल्यो मलाई त्यतिबेला पनि खुसी लागेका थियो ।’ उनले क्याम्पसको शैक्षिक विकास, भौतिक र विद्यार्थीहरुको समस्याहरु नेविसंघको इकाई सभापति भएर गर्न पाउँदा थप हौसला बढेको बताए ।

न्यौपानेले आफूले नेतृत्व पाएपछि सो क्याम्पसमा स्ववियु चुनाव पनि जिताएको बताए । ‘त्यतिबेला नेकपा मसालको दबदवा थियो, प्यूठानमा तर हामीहरुले चुनावको नतिजा हाम्रो पक्षमा पार्न सफल भयौं, यो भन्दा अर्को खुसी मेरो लागि के हुन सक्छ ?’ उनले भने । त्यस्तै उनी दाङमा बसाई सरेर आएपछि पनि निरन्तर सामाजिक र राजनीतिक क्षेत्रमा काम गरेको बताउँछन् । दाङमा आएपछि पनि न्यौपानेले नेपाल तरुण दल नगर अध्यक्षमा आफूले काम गर्न पाएकोमा पनि अर्को खुसी व्यक्त गरे ।

प्यूठानपछि दाङमा आएर पनि पार्टी संगठन र विभिन्न संघसंस्थामा लाग्न पाउँदा मलाई अर्को खुसी प्राप्त भएको बताउँछन् । न्यौपानेले तुलसीपुर–८ मा रहेको अश्वारा विद्यालयमा कार्यवहाक अध्यक्षमा रहेर विद्यालयको शैक्षिक र भौतिक विकास गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले आफनो पालामा अश्वारा माविमा जिल्ला शिक्षा कार्यालयबाट आर्थिक सहयोगमा ८ कोठाको पक्की भवन गराउन पाउँदा खुसी लागेको बताए । त्यो बेला विद्यालयमा कक्षा कोठा नहुँदा र भएका भवन पनि जीर्ण हुँदा पढाईमा समस्या भएको उनले बताए ।

त्यस्तै न्यौपानेले अर्को खुसी अमृतपुर सामाजिक उद्यमी सहकारी संस्थाको सचिव भएर वातावरण तथा जीविकोपार्जनका लागि काम गर्न पाउँदा खुसी लागेको बताए । न्यौपानेले अर्को खुसी दोघरे विद्यालयमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा लागेको बताए । सो विद्यालयमा अध्यक्ष भएपछि आधारभूत विद्यालयलाई मावि बनाउन पाउँदा झनै खुसी लागेको बताए । ‘सो विद्यालय पहिले आधारभूत थियो तर सबैको सहयोगबाट हाल मावि भएको छ त्यसमा पनि मलाई खुसी लागेको छ’, उनले भने । उनले सो विद्यालयमा आफू अध्यक्ष भएपछि सबैले राम्रो काम गरेको र विद्यार्थीहरुले पनि दिनमा एकपटक विद्यालयमा आउनुपर्छ भनेर बाटोमा भेट हुँदा भन्दा झनै खसी मिल्ने बताए । त्यस्तै न्यौपानेले नेपाल तरुण दल दाङको जिल्ला उपाध्यक्षको जिम्मेवारी पाउँदा पनि खुसी लागेको सुनाए ।

जिल्ला उपाध्यक्ष भएपछि संगठनको काम र विभिन्न जिम्मेवारी समयमै सम्पन्न गर्न पाउँदा पनि खुसी लागेको बताउँछन् । न्यौपानेले आफू अध्यक्ष भएर दोघरे प्रतापकोटसम्म पुग्ने बाटो फराकिलो पार्न सफल भएकोमा पनि खुसी व्यक्त गरे । त्यस्तै उनले घरमा छोरा छोरी सबैले राम्रो गरेकोमा पनि खुसी व्यक्त गरे ।

उनले आफू राजनीति र सामाजिक क्षेत्रमा काम गर्दा घरपरिवार सबैले सहयोग गरेको बताउँछन् । ‘घरपरिवारमा सबैको सहयोग मलाई मिलेको छ म त्यसैमा खुसी छु’, उनले भने । भन्छन्– खुसी जनताको नासो जस्तै हो । कसैले पनि त्यसलाई निजी रुपमा प्रयोग गर्न सक्दैन । खुसी राजनीति हो खुसी व्यवस्तता हो अनि खुसी समाजसेवा पनि हो । अर्थात सबैको समायोजन खुसी हो ।

प्रस्तुतीः बालाराम खड्का