Goraksha

National Daily

प्रतिष्ठानले पाउनु पर्ने १२ करोड, तिर्नु पर्ने १३ करोड

1 min read

स्वास्थ्य बिमाबारे छलफल

अमरराज आचार्य

दाङ, १४ असोज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सामग्री दिएका व्यवसायीले रकम पाउन सकेका छैनन्् । रकम पाउन नसक्दा व्यवसायीलाई समस्या छ । प्रतिष्ठानबाट रकम पाउन नसक्दा व्यवसायी मारमा परेको रसायन तथा मेडिकल आपूर्ति संघ दाङका अध्यक्ष बालकुमार घर्तीले बताएका छन् ।

प्रतिष्ठानलाई औषधीजन्य सामग्री दिएको करिब छ करोड ११ लाख रुपैयाँ पाउनु पर्ने भए पनि विगत एक वर्ष बढी समयदेखि नपाएको बताए । प्रतिष्ठानलाई उधारोमा दिएको सामग्रीको रकम नपाए पनि आफूहरूलाई जसरी भए बिरामीको उपचारका लागि औषधीजन्य सामग्री भने उपलब्ध गराउनु पर्ने बाध्ययता रहेको बताए ।

प्रतिष्ठानलाई उपलब्ध गराएको सामाम्रीको पैसा नपाउँदा समस्या भएको भन्दै घर्तीले भने, ‘बैंकबाट ऋण लिएको तिर्न सकेको छैन्, प्रतिष्ठानबाट आउनु पर्ने पैसा आउँदैन । जसले गर्दा श्रीमतीको गहना बिक्री गरेर प्रतिष्ठानका लागि सामग्री उपलब्ध गराउँदै आएको छु ।’ उनले लामो समयदेखि व्यवसायीले पैसा नपाउँदा व्यवसाय नै धरापमा परेको भन्दै भुक्तानीका लागि पहल गरिदिन माग गरेका छन् ।

उनका अनुसार प्रतिष्ठानलाई औषधी, प्रयोगशालाका सामग्री, एक्स–रे सामग्री, सर्जिकल, केमिकल दैनिक आवश्यक पर्ने सामग्री, डाइलासिस लगायतका सामग्रीको भुक्तानी हुन सकेको छैन । लामो समयदेखि भुक्तानी पाउन नसकेपछि रकम माग गर्दै रसायन तथा मेडिकल आपूर्ति संघ दाङ र नेपाल औषधी थोक व्यवसायी संघ दाङले पटक–पटक लिखित तथा मौखिक रूपमा जानकारी गराएको तर भुक्तानी हुन नसकेको बताए । पैसाका लागि विगत एक वर्षदेखि प्रतिष्ठानलाई भन्दै आए पनि अहिलेसम्म भुक्तानी हुन नसकेको उनी बताउँछन् ।

बिल अनुसारको भुक्तानी यथाशीघ्र गरिदिन समेत उनीहरूले ज्ञापन पत्रमार्फत् माग गरेका थिए । ‘समयमै भुक्तानी हुन नसके हामी प्रक्रियागत रूपमा आन्दोलन गर्छौँ र स्वास्थ्य सामग्री उपलब्ध गराउन नसक्ने जानकारी त गराइसकेका छौँ’, उनले भने, ‘तर पनि हाम्रो माग सम्बोधन हुन सकेको छैन ।’ रकम नपाउँदा व्यवसायीलाई बैंकको व्याज, घरभाडा तिर्न नसकेको बताए ।

‘सामग्री लिएको पहिलेको रकम उद्योग तथा डिलरलाई नपठाउँदा सामग्री मगाउन समेत सकिएको छैन’, मगरले भने । खरिद नियमावली २०६३ का अनुसार बिल पेस गरेको ३५ दिनभित्र रकम दिनु पर्ने व्यवस्था रहेको उनी बताउँछन् तर व्यवसायीले दुई वर्षसम्म पनि रकम पाउन नसकेको उनको भनाइ रहेको छ ।

सामग्री उपलब्ध नगराएमा व्यवसायीलाइ कारबाही गर्ने व्यवस्था भए पनि समयमै भुक्तानी नगर्नेलाई के कारबाही गर्ने भन्नेबारे केही उल्लेख नभएको उनको भनाइ छ । ‘सामग्री उपलब्ध नगराउँदा हामीलाई कारबाही हुन्छ तर सामग्रीको भुक्तानी लामो समयसम्म नदिनेलाई चाहिँ के कारबाही हुन्छ त रु’, उनको प्रश्न थियो । यस प्रकारको अवस्थाले व्यवसायबाटै पलायन हुने अवस्था आएको मगरको भनाइ छ ।

बिमाको रकम नआउँदा भुक्तानीमा समस्या

बिमा बोर्डबाट रकम नआउँदा व्यवसायीलाई भुक्तानी दिन समस्या भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा हाल बिमा बोर्डबाट ११ करोड ८६ लाख छ हजार दुई सय ८६ रुपैयाँ आउन बाँकी रहेको प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले जानकारी दिए ।

यसैगरी डायलासिस तथा सिकलसेल एनमियामार्फत पाउनु पर्ने रकम २९ लाख ७८ हजार एक सय ८१ रुपैयाँ सहित प्रतिष्ठानले १२ करोड १५ लाख ८४ हजार चार सय ६७ रुपैयाँ पाउनु पर्ने छ भने प्रतिष्ठानले व्यवसायीलाई तिर्नु पर्ने रकम १३ करोड ४२ लाख पाँच हजार पाँच सय ७८ रुपैयाँ रहेको छ । ‘बिमा बोर्डबाट रकम नआउँदा व्यवासायीलाई सामग्रीको भुक्तानी दिन सकिएको छैन’, उनले भने । अस्पताल कसरी सञ्चालन गर्ने भन्ने समस्या उत्पन्न हुन थालेको उनी बताउँछन् । ‘प्रतिष्ठानले दायित्व थेग्न नसक्ने अवस्थामा पुगेको छ’, उनले भने । अहिलेको अवस्थाले बिमाको कार्यक्रम रोकिने अवस्थामा पुग्न थालेको प्रतिष्ठानको भनाइ रहेको छ ।

यता बिमा बोर्डले भने रकम आउने कार्य जारी रहेको जनाएको छ । बोर्डका जिल्ला संयोजक बसन्त लामिछानेले २०८० साउनदेखि २०८१ असारसम्म छ करोड ८४ लाख ६२ हजार आठ सय ८९ रुपैयाँ प्रतिष्ठानमा आएको बताए । यसैगरेर २०८१ भदौ १४ गते एक करोड ९९ लाख २३ हजार तीन सय रुपैयाँ आएको र दसैँ अगाडि थप रकम आउने उनले बताए । बिमाका लागि कागजपत्र पठाएमा रकम आउने उनको भनाइ छ । ‘रकम आउन सकेको छैन तर रकम आउन रोकिएको छैन’, उनले भने, ‘ढिला भए पनि आउँछ ।’

सर्वपक्षीय छलफल

बिमाको रकम आउन नसक्दा समस्या परेको भन्दै प्रतिष्ठानले सर्वपक्षीय छलफल गरेको छ । छलफलमा उपकुलपति डा विकास लामिछानेले लक्षित समुदायसम्म स्वास्थ्य बिमा कार्यक्रम पुग्न नसकेको बताए । उनले बुझेकाले मात्र बिमा गराउने गरेको उनको भनाइ छ । पालिकाले लक्षित समुदायको निःशुल्क बिमा गराइदिनु पर्ने बताए । उनले रकम नआउँदा समस्या भएको समेत बताए ।

कार्यक्रममा सहभागीले रकम नआएकै कारण बिमा कार्यक्रम रोक्न नहुने बताएका थिए । बिमा बोर्डबाट पाउनु पर्ने रकमका लागि सबै मिलेर पहल गर्नु पर्ने बताएका थिए । यसका लागि प्रतिष्ठानलाई आ–आप्mनो क्षेत्रबाट सहयोग गर्न आफुहरूको सहयोग रहने समेत उनीहरूले प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा जिल्लामा क्रियाशील राजनिितक दलका प्रमुख तथा प्रतिनिधि, जिल्ला समन्वय समितिका प्रमुख, घोराही र तुलसीपुर उपमहानगरपालिका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी, सञ्चालकर्मी, नागरिक समाज, मानव अधिकारकर्मी लगायतको को सहभागिता रहेको थियो ।