calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

विपतबाट दाङमा १३ को मृत्यु, दुई करोड बढीको क्षति

गोरक्ष समाचारदाता
दाङ, १५ असोज । दाङमा करिब तीन महिनाको अवधिमा विपतबाट १३ जनाको मृत्यु भएको छ । बर्सातको समयमा बाढी, डुबानलगायतमा विभिन्न घटनामा परेर जेठ २८ गतेदेखि असोज १४ गतेसम्म जिल्लाका विभिन्न ठाउँमा १३ जनाको मृत्यु भएको जिल्ला आपतकालीन कार्यसञ्चलन केन्द्रले जनाएको छ ।

जसमा सबैभन्दा धेरै आठ जना बर्सातको समयमा विभिन्न नदी तथा खोलामा आएको बाढीमा बगेर मृत्यु भएको जिल्ला आपतकालीन कार्य सञ्चलन केन्द्रका शम्भु आचार्यले जानकारी दिएका छन् । आचार्यका अनुसार तीन जनाको चट्याङ् लागेर र दुई जनाको सर्पदंशका कारण मृत्यु भएको छ । जिल्लामा प्राकृतिक विपत्बाट करिब दुई करोड ४९ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

बाढी, पहिरो र डुबानमा परेर तीन महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानमा एक सय ६६ घरमा क्षति पुगेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख आचार्यले जानकारी दिएका छन् । आपतकालीन कार्य सञ्चालन केन्द्रलाई प्राप्त जानकारी अनुसार यो क्षति भएको भन्दै आचार्यले क्षतिको विवरण अनुसार प्रत्येक घरपरिवारलाई १५ देखि ५० हजार र मृतकका परिवारलाई एक लाख रुपैयाँका दरले राहत वितरण गर्ने गरेको बताए ।

चाडपर्व अगाडि सडक मर्मत गरिने

दाङमा बर्सातका समयमा बिग्रिएका राजमार्ग तथा सडकको चाडपर्व अघि नै मर्मत गरिने भएको छ । सोमवार जिल्ला प्रशासन कार्यालय घोराहीमा बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले मनसुनबाट क्षति भएका जिल्लाका मुख्य राजमार्ग, सहायक राजमार्ग तथा स्थानीय सडक तथा बाटा दसैं अघि नै मर्मत गर्ने निर्णय गरेको हो ।

सडक डिभिजन कार्यालय, हुलाकी राजमार्ग सडक आयोजना कार्यालय, प्रदेश पूर्वाधार अन्तर्गतका पूर्वाधारसँग सम्बन्धित जिल्ला स्थित कार्यालय र स्थानीय तहले आ–आफ्नो अधिकार क्षेत्रका सडक तत्काल मर्मत गरेर सहज रूपमा आवागमनको व्यवस्था गर्ने निर्णय गरेको हो । यसैगरी बैठकले विपत्जन्य जोखिमलाई न्यूनीकरण गर्न आवश्यक स्रोत र साधनको पूर्व प्रबन्ध गर्नु पर्ने, जिल्लामा उपलव्ध स्रोत, साधन, जनशक्तिको आँकलन सङ्कलन गरेर हुन सक्ने विपत्का घट्नालाई मध्यनजर गरेर खोज तथा उद्धार, राहतको कार्यलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन सबैसँग समन्वय गरी तयार पारिकाएको विपत् पूर्व तयारी तथा प्रतिकार्य योजना २०८१÷०८२ का बारेमा छलफल गरिएको थियो ।

त्यस क्रममा पालिका प्रमुख÷उपप्रमुखले लागु गरे पनि बर्सातको समयमा सडक, खानेपानी, सिँचाइका आयोजनामा क्षति गरेको भन्दै तत्काल मर्मत गर्नु पर्ने बताएका थिए । त्यसका लागि जिल्ला विपत् व्यवसस्थापन समितिले पहल गर्नु पर्ने बताएका थिए । उनीहरूले स्थानीय सरकारबाट मर्मतसम्भार गर्न सम्भव नभएकाले प्रदेश तथा सङ्घीय सरकार अन्तर्गत रहेका कार्यालयले तत्काल गर्नु पर्ने बताएका थिए ।

१४ लाख बढी राहत वितरण

जिल्लामा विपत्बाट क्षति भएका घरपरिवारलाई दुई महिनाको अवधिमा १४ लाख चालिस हजार राहत प्रदान गरिएको छ । साउन १ गतेदेखि हालसम्म जिल्लामा विपत्जन्य घट्नामा क्षति भएका तथा मृतकका परिवारलाई जिल्ला विपत् व्यवस्थापन कोषबाट १४ लाख ४० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । दुई महिनाको अवधिमा घोराहीमा क्षति भएका २६ परिवारलाई तीन लाख ७५ हजार, तुलसीपुरमा एक जना मृतकसहित १४ घरपरिवारलाई तीन लाख ८० हजार, लमहीमा पाँच घरपरिवारलाई ६५ हजार, राजपुर गाउँपालिकामा दुई मृतक परिवारसहित सात घरलाई चार लाख ७० हजार रुपैयाँ राहत स्वरूप प्रदान गरिएको छ ।

यसैगरी बंगलाचुली गाउँपालिकामा पाँच घरपरिवारलाई ७५ हजार, शान्तिनगर र बबई गाउँपलिकामा दुई÷दुई घरपरिवारलाई तीस÷तीस हजार र दंगीशरण गाउँपालिकामा विपत्जन्य घटनामा क्षति भएका एक परिवारलाई १५ हजार रुपैयाँ सहयोग गरिएको छ । बैठकले यस वर्ष जिल्लामा विपत्जन्य घटनाबाट धनजनको धेरै क्षति भएकाले परिवारलाई राहतका लागि जिल्ला विपद व्यवस्थापन कोषमा न्यून रकम रहेकाले राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमाडौंसँग ५० लाख रुपैयाँ माग गरेको छ ।

जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको अध्यक्षतामा भएको बैठकमा जिल्ला समन्वय समितिका प्रमुख नित्यान्द शर्मा, स्थानीय तहका प्रमुख, उपप्रमुख, राजनीतिक दलका प्रनिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, जिल्ला स्थित प्रदेश तथा सरकार कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले जिल्लामा मनसुनका क्रममा भएका विपत्का घट्ना तथा गरेका कामबारे जानकारी गराएका थिए ।