Goraksha

National Daily

पितृ उद्धारको लागि श्राद्ध

नारायणप्रसाद श्रेष्ठ
हिन्दू संस्कृति र संस्कार अनुरुप मनाइने बडा दशैँ (२०८१) पर्व केही समयपछि हाम्रो घरआँगनमा भित्रिँदै छ । बडादशैँको पूर्वसन्ध्यामा सुरु हुने सोह्र श्राद्ध (पार्वत श्राद्ध) सुरु भइसकेको छ । पितृ उद्धारको लागि गरिने श्राद्धले आफ्ना पूर्वजका आत्मतृप्ति हुन्छ र सन्तानलाई दुःख, कष्ट पर्दैन भन्ने शास्त्रीय मान्यता स्वरुप यो कार्य हरेकले गरेको पाइन्छ । पितृको उद्धारबाट नै जीवनका पूर्वाद्र्ध र उत्तराद्र्ध सबै समय सरल र सहज हुन्छ भन्ने मान्यता यस पर्वमा रहेको देखिन्छ ।

वेद को मर्म र यसले निर्दिष्ट गर्न खोजेको आध्यात्मिक सचेतनाभित्र पर्ने पितृ कार्य सोह्र श्राद्धमा बाबुतर्फको तीन पुस्ता, बाबु, हजुरबुबा र जिजुबुबा तथा आमातर्फको तीन पुस्ता, आमा, हजुरआमा र जिजुआमा तथा मामातर्फ र फूपूतर्फ, भाइ, गुरुलाई पिण्ड दिई उनीहरुको आत्मालाई सन्तुष्ट गराउने मान्यता रहेको पाइन्छ । जबसम्म पितृ सन्तुष्ट रहँदैनन् तबसम्म सन्तानमा सुख, चयन र आनन्द हुँदैन भन्ने मान्यता यसभित्र रहेको छ । यस जन्म र पूर्व जन्म सपार्न तथा शारीरिक तथा मानसिक रुपमा आउने दुःख, कष्ट हटाउन गरिने पितृ कर्म शुद्ध र पवित्र मनले श्रद्धापूर्वक गरिने भएकोले यसलाई श्राद्ध भनिएको हो ।

ऋषिमुनिहरुको तप, ब्रह्मज्ञानबाट प्रतिपादित श्राद्ध र तर्पण पितृहरुबाट आशीर्वाद प्राप्त गर्न गरिने महत्वपूर्ण कार्य मानिन्छ । शुद्ध र पवित्र मनले श्रद्धापूर्वक गरिने र मन, वचन र कर्मले विश्वासपूर्वक गरिने भएकोले यसको छुट्टै विशेषता रहेको पाइन्छ । हिन्दू धर्मावलम्बीहरुले मान्ने यो प्रचलनले पुर्खाको सम्झना गराइ उनीहरुबाट प्रतिपादित सुकर्मलाई अंगीकार गर्न सघाउ पुगेको अनुभूति हुने गरेको देखिन्छ । वर्षमा दुई पटक गरिने तिथि श्राद्ध र पार्वत श्राद्ध, एकोतिष्ट श्राद्ध गरेपछि प्रत्येक वर्ष गरिने श्राद्ध हो । यसको सारभूत उद्देश्य भनेको पूर्वजको सम्झना र आशीर्वाद लिन तथा पवित्र मानवोचित गुण धारण गर्न गरिएको भनी जानकारहरु बताउँछन् ।

यसरी गरिने श्राद्धको बारेमा विभिन्न मतहरु पाइन्छन् । कोही यसलाई ढोङ्ग र देखावटी मात्र हो, मरेको आत्माले के पिण्ड खान आउँछ र ? बाँचुन्जेल वास्ता नगर्ने मरेपछि पिण्ड ? यसरी पनि यसलाई खासै महत्व नदिएको देखिन्छ भने अर्काथरि भन्छन्, श्राद्ध आत्मसन्तुष्टिका लागि गरिने कार्य हो । यो देख्दामा चर्मदृष्टिले देखिँदैन र यसको उद्देश्यअनुरुप पितृ उद्धार भएको भौतिक रुपले प्रमाणित पनि नभएको अवस्था छ तर सोचौँ प्रकृतिमा हुर्केका मानव अस्तित्वभित्र लुकेको सत्य के भौतिक रुपले प्रमाणित गर्न सकेको छ र ? मानिस कति बलवान् छ वा बुद्धिजीवी छ वा छैन, के बाह्य आवरणबाट प्रमाणित हुन सक्छ र ?

जीव, कहाँ र कसरी आएको छ ? के भौतिक विज्ञानले प्रमाणित गर्न सकेको छ ? शरीरमा प्रवेश गरेको जीवले कहाँ, कसरी र कुनबेला छोड्छ ? के विज्ञानले प्रमाणित गर्न सकेको छ ? यी सबै विश्वासमा अडेका होइनन् र ? त्यसैले विश्वास छ सबै छ, विश्वास छैन केही छैन । तसर्थ, श्राद्ध हिन्दूहरुले पुर्खाको आत्मालाई शान्ति हुन्छ भनी विश्वास गरेर गरेको कार्य हुन् । पुर्खाको सम्झना र इतिहासलाई भावी पुस्तासम्म पु¥याइ परम्परालाई दिगो राख्नु के उत्तम कार्य होइन र ? विगत पुस्ता र आगामी पुस्तालाई जोड्न सम्झना र आदर सम्मान गर्न यो विकल्प वास्तवमा मानिसको अपरिहार्य आवश्यकताभित्र रहेको पाइन्छ । त्यसैले कुनै पनि कार्य गर्दा श्रद्धा र विश्वासपूर्वक गर्न यसले उत्प्रेरित गरेको देखिन्छ ।

भौतिक सुखभित्र क्षणिक आनन्दभित्र रुमलिन खोजिएको वर्तमान समयमा हिन्दू संस्कृतिले सदियौँदेखि स्वीकारेको आध्यात्मिक सत्यलाई केही वर्गले नस्वीकारिरहेको यस अवस्थामा श्राद्धको बारेमा वकालत गर्नु कति जायज होला ? तर सोचौँ हिन्दू संस्कृतिभित्रको ब्रह्मसत्यले अंगीकार गरेको सत्यलाई नस्वीकारी विविध धर्म र संस्कारप्रति मानवीय झुकाव बढ्नु के उचित हो र ? क्षणिक आनन्द नै जीवन हो र ? जीवनको सार्थकता नै भौतिक सुख र आनन्द हो भनी आयातीत धर्मतर्फ झुकाव बढाउनु के राम्रो हो ?

अहिले मानवीय चेतनामा भौतिक युगको प्रभावको कारण गर्दै गएको क्षणिकतामा पुर्खाले अपनाइ आएको असल संस्कृतितर्फ किन झुकाव नभएको होला ? आँखाले देखेको सुन्दरता नै सबै हो भनी ठान्ने र यसैको प्राप्तिको लागि मरिहत्ते गर्ने यस अवस्थामा मूलतत्वप्रतिको दृष्टिकोणमा किन कमजोरी ? हामीले चाहेको सुखको मूलद्वार नै बन्द गरी पानीको मूललाई मासी खहरे खोलाभित्रको धमिलो पानीले प्यास मेटाउन खोज्नु कति जायज ? के भलपानीले मानिसको प्यास मेटिएको छ ?

खुसी र आनन्द चाहने मानव अस्तित्वले के क्षणिक आनन्दको लागि संघर्ष गरिरहेको हो ? आँखाले देखिएको वाह्य आवरण नै सत्य मान्ने विवेकले के उसभित्रको वास्तविकतालाई जानेको छ ? मानव अस्तित्वले सिर्जना गर्न खोजेको विचारको शृंखला के यही परिभाषा हो ? अर्को कुरा के हामीले आनन्द प्राप्तिको लागि गरिएको कर्मबाट के हाम्रो उद्देश्य पूर्ति भएका छन्, आत्मतृप्ति भएको छ ?

हिन्दू संस्कृति र परम्पराले स्वीकारेको मानवोचित कर्म र हिन्दू परम्पराले पहिचान गरेको ब्रह्म सत्यलाई क्षणिक स्वार्थले लुटपुट्याउन खोजेको कारण मानिस भ्रमको भूमरीमा किन रुमलिएको छ ? ब्रह्म सत्य के हो ? पुर्खाको सम्झना किन गरिन्छ, यसतर्फ किन सोचिँदैन ? के हिन्दू परम्पराले निर्धारण गरेको सून्दरताभित्रको सत्य आडम्बर मात्र हो ? आत्मसत्यभित्रको यथार्थ जीवन पद्धतिप्रति किन हाम्रो वक्रदृष्टि ? तसर्थ, हिन्दू संस्कृतिले सिकाएको हाम्रो पौराणिक कहानीले बसालेको पुर्खादेखि चल्दै आएको रीति, थिति नै वास्तवमा हामी र हाम्रो जीवनले प्राप्त गर्न खोजेको आनन्द भएकोले यसतर्फ गम्भीर भएर चिन्तन गर्न जरुरी छ ।

प्रत्येक बच्चाको चाहना उसको इच्छाअनुसारको प्राप्ति हो । उसले प्राप्त गर्न खोजेको वस्तुको खोजमा उसलाई अभिभावकले दिशानिर्देश गरिरहेको हुन्छ । तथापि, उसले चाहेको वस्तु नपाइ रोइरहेको हुन्छ । जब ऊ केही बुझ्ने हुन्छ, अनि उसले खोजेको वस्तु ग्रहण गर्न ऊ स्वयम् लागिपर्छ । जब ऊ स्वयम् अभिभावक बन्छ, त्यसबेला उसलाई उसले गर्नुपर्ने कर्मको फहरिस्त लामो बन्न पुगी ऊ असमञ्जस्यमा पुग्न सक्छ । जीवन अधुरो भई ऊ सहाराको खोजीमा भड्किरहन सक्छ ।

त्यसैले समयमै हामीले कर्म र दायित्वलाई पहिचान गरी यथार्थ सत्यभित्रको सुखानुभूति गर्ने मार्ग पकड्नु पर्छ । भौतिक सुख र सुविधाले ल्याउने क्षणिक आनन्दमा भड्किरहनु हुँदैन । हामीले वर्षामा आउने खहरे पानी होइन, हिउँदमा बग्ने सफा र शुद्ध भएर रहेको मूलपानी ग्रहण गरी प्यास मेटाउने गर्नु पर्दछ । हामीले चाहेको त मुल पानी हो नि । मूल पानी छोडी खहरे पानीलाई स्वच्छ मान्ने परम्परा बसाली नयाँ पिढीलाई त्यही खहरे पानी स्वीकार्न लगाउनु कति उपयुक्त ? तसर्थ, हिन्दू संस्कृति र संस्कारले दिएको पितृको उद्धार तथा सम्झनामा गरिने श्रद्धा (श्राद्ध)लाई गलत व्याख्या गर्नु किमार्थ राम्रो कार्य होइन ।

भागवत् सत्यभित्रको मूलतत्व नै वास्तवमा मानव हित अनुकूल कार्य हो । पुर्खा भएर नै हामी भएका हौँ । जन्म दिने पुर्खाको सम्झना गर्दा गरिने श्राद्ध कर्मलाई यो ढोङ्ग हो भन्नु किमार्थ उपयुक्त तर्क होइन । हामीले आफ्ना पुर्खालाई सम्झेपछि नै हामीलाई हाम्रा सन्ततीले सम्झन्छन् । त्यसैले समयमै हामीले हाम्रो कर्म र दायित्वलाई भावी पुस्तासम्म रहने यथार्थ सत्यभित्रको सुखानुभूति मार्गदर्शन गर्नुपर्छ । भौतिक सुख र सुविधाले ल्याउने क्षणिकताले होइन सफा र शुद्ध भएर गतिशील भइरहेको संस्कार कर्मलाई महत्व दिनु पर्छ ।

यसको गरिमालाई बुझी अगाडि बढाउनु पर्छ । हामीले जसलाई मूलतत्व भनी स्वीकार्छौँ, वास्तवमा हामीलाई उचित गोरेटो देखाउने सत्य भनेकै त्यही पुर्खाको पदचिह्न हो । ऊ भएर नै हामी भएका हौँ । सृष्टिको निरन्तरतामा जसले उत्पत्ति ग¥यो, पालनपोषण ग¥यो, सहारा दिई क्षमतावान् बनायो त्यही सत्यले जीवन चलायमान गरायो उसैलाई बिर्सनु कदापि राम्रो पक्ष होइन । त्यसैले पुर्खादेखि चल्दै आएको हिन्दू संस्कृतिले स्वीकारेको पितृ उद्धार कार्यतर्फ हाम्रो ध्यान जान जरुरी छ ।