प्रदेश राजधानीमा प्रशासनिक पूर्वाधार निर्माणको काम तीव्र
गोरक्ष समाचारदाता
दाङ, ९ असोज । लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा प्रशासनिक पूर्वाधार संरचना निर्माण तीव्र गतिमा भइरहेको छ । प्रदेश गौरवको आयोजनाका रूपमा प्रशासनिक पूर्वाधार निर्माण सुरू भएको दुई वर्ष नपुग्दै ५० प्रतिशतभन्दा धेरै भौतिक प्रगति भएको छ ।
प्रदेश सरकारले गौरवको आयोजनाको रूपमा राखेको छ । विसं २०७९ फागुन ३ गते लुम्बिनी प्रदेश सरकार स्थापना दिवसको अवसर पारेर शिलान्यास गरिएको भवनमा काम अहिले धमाधम चलिरहेको र केही भवनको निर्माणको अन्तिम चरणमा रहेको प्रदेशमा भौतिक पूर्वधार मन्त्री भुमिश्वर ढकालले जानकारी दिएका छन् ।
भवन बनेपछि मन्त्रालय, विभाग, निर्देशनालय, मातहतका अन्य कार्यालयहरूले एकै थलोबाट सेवा प्रवाह गर्नेछन् । अहिलेसम्म ५६ प्रतिशत भौतिक र ४५ प्रतिशत वित्तीय प्रगति हासिल भएको प्रदेश राजधानी कार्यान्वयन एकाइले जनाएको छ । अब एक वर्षभित्र प्रदेश सरकारलाई भवन हस्तान्तरण गर्ने गरी निर्माण भइरहेको छ । अहिले मन्त्रालयका भवन निर्माण नहुँदा अधिकांश मन्त्रालय साविकको राप्ती प्रादेशिक शिक्षालय रहेको भवनबाट सञ्चालन भए पनि स्वास्थ्य मन्त्रालय, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय बाहिर रहेका छन् । यसैगरी विभिन्न विभाग, निर्देशनालय र मातहतका कार्यालयहरू भाडाका भवनबाट चलिरहेका छन् ।
१९ बिघा क्षेत्रफलमा प्रदेशको प्रशासनिक केन्द्र फैलिएको छ । प्रदेशसभा र प्रदेश प्रशासनिक केन्द्र एकै थलोमा छन् । प्रदेश सरकारको प्रशासनिक केन्द्र एउटै परिसरभित्र स्थापना गर्ने, भौतिक संरचना मण्डला आकारमा हुने र त्यसले सेवा प्रवाहमा एकरूपता प्रदान गर्ने लुम्बिनी प्रदेश सरकारले जनाएको छ । निर्माणाधीन भवनमध्ये मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवन ६ तलाको हुनेछ । जसमा मुख्यमन्त्री, प्रमुख सचिव कार्यकक्ष, बैठक कक्ष र बहुउद्देश्यीय हलसहित ९६ वटा कोठा रहनेछन् । जसमा दुईवटा ‘लिफ्ट’ रहने छन् भने भुइ तला अपाङ्गतामैत्री हुनेछ ।