प्रमोद आचार्य
दंगीशरण ८ असोज । डिजिटल साक्षरता अपरिहार्य रहेको दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताएका छन् । समय र आर्थिक सदुपयोग गरी घरमै बसेर डिजिटल र वित्तीय शिक्षाको फाइदा लिन सकिने अध्यक्ष गिरीले पालिकाबासीलाई बताएका छन् ।
अहिलेको समयमा शैक्षिक योग्यता भएर मात्र नभई डिजिटल साक्षरता आवश्यक रहेको उनले बताए । जर्सी ओभरसिजको आर्थिक सहयोग, डिप्रोक्स नेपाल र प्रेक्टिकल एक्सनद्वारा सञ्चालित समुन्नति डिजिटल फाइनान्सको माध्यमबाट महिला कृषक सशक्तीकरण परियोजनाको तेस्रो चरणको वित्तीय शिक्षा र डिजिटल साक्षरतासम्बन्धी तालिमको समापन कार्यक्रममा अध्यक्ष गिरीले यस्तो बताएका हुन् ।
दंगीशरण गाउँपालिकाका वडा नम्बर ३, ४, ५ र ६ का १९ वटा समूहमा सञ्चालित परियोजनाले सामूहिक रूपमा तालिमको आयोजना गरेका थिए । तालिम समापन कार्यक्रममा बोल्दै समुन्नति परियोजनाका संयोजक अमित दुवाडीले दंगीशरण गाउँपालिकमा रहेर तेस्रो चरणसम्म आइपुग्दा त्यहाँका दलित, विपन्नवर्गका महिलाहरू डिजिटल साक्षर भएको देख्दा आफु हर्षित भएको बताए । यसैगरी प्रेक्टिकल एक्सनका कार्यक्रम अधिकृत शिवलाल शर्माले सिकेको कुरालाई पूर्णरूपमा व्यवहारमा लागु गर्न सहभागीलाई आग्रह गरेका थिए । आफूले काम गर्ने क्रममा केही समस्या भए नजिकै टोल छिमेकमा रहेका प्रशिक्षकको सहयोग लिन सकिने बताए ।
सिकेको कुरालाइ दैनिकरूपमा प्रयोगमा ल्याए मात्र सिकेको सिपमा वृद्धि हुने उनको भनाइ थियो । कार्यक्रममा सहभागी वक्ताले समय सान्दर्भिक कार्यक्रम रहेको र आगामी दिनमा पछाडि परेका महिला दिदीबहिनीका लागि यस प्रकारको कार्यक्रम थपिदिन आग्रह गरे । सहभागीले वित्तीय कक्षामा सहभागी भएपछि जियो कृषि एपको माध्यमबाट बजार भाउ बुझ्न, मौसमबारे जानकारी लिन, बालिनालीमा लागेको रोगको समाधानलगायत हरेक कुरा मोबाइलको माध्यमबाट गर्न सकिने भएको बताएका थिए । समापन कार्यक्रममा पालिकाका कृषि विकास शाखा प्रमुख सरु भुसाल, वडा नं. ३ का वडाध्यक्ष सुकलाल चौधरी, वडा नं. ५ का वडाध्यक्ष निरज बस्नेत, वडा नं. ६ का वडाध्यक्ष रोशनजंग शाहलगायतले भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण समुन्नति परियोजनाकी दंगीशरण र शान्तिनगर संयोजक कल्पना खड्काले गरेकी थिइन ।