आलोक भावुक
गढवा, ८ असोज । गढवा गाउँपालिकामा खसीबोकाको सामूहिक बजारीकरण सुरु भएको छ । गाउँपालिकाद्वारा सञ्चालित भिटा परियोजना अन्तर्गत गठन भएको गढवा सामाजिक उद्यमी महिला सहकारी संस्थाले खसीबोकाको सामूहिक बजारीकरण थालेको छ ।
सोमवार गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडिहाको मुक्त कमैया बस्तीबाट सहकारी संस्थाले ३० जना कृषकको नौ लाख ९३ हजार रुपैयाँ बराबरको खसीबोका बिक्री गरेको सहकारी संस्थाकी अध्यक्ष सोभा रावत क्षेत्रीले जानकारी दिइन् । गढवाका सुपैला, गोबरडिहा, रतनपुर र माधवपुरका ३० जना कृषकले पालेका ३४ वटा खसी तथा ८ वटा बोका गरी ४२ वटा खसीबोका बिक्री गरेका हुन् ।
एक हजार पाँच सय केजी बराबरको खसीबोका बिक्री गरिएको गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड गढवाकी अध्यक्ष क्षेत्रीले जानकारी दिइन् । ‘एक÷दुईवटा खसीबोका पाल्ने किसानलाई कहाँ कसरी बेचम भन्ने समस्या हुन्छ । त्यही भएर सहकारीले गाउँभरिका खसीबोका एकैपटक बजारीकरण गर्ने गरी सामूहिक बजारीकरण सुरु गरेका छौँ’, अध्यक्ष क्षेत्रीले भनिन्, ‘यसबाट अहिले गाउँघरका खसीबोका बिक्री गर्न सहज भएको छ ।’ सामूहिक बजारीकरण अन्तर्गत सबैको सहकार्यमा व्यापारीको खोजी गर्ने र गुणस्तरीय खसीबोका बिक्री गर्ने योजना अनुसार काम भइरहेको उनले बताइन् ।
उनका अनुसार गढवा गाउँपालिका भिटा परियोजनाकाद्वारा सञ्चालित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडका कृषकसँग २० केजीभन्दा कम तौलका खसी चार सय ७० रुपैयाँ प्रतिकेजी, २० देखि ३० केजीसम्मका पाँच सय ३० रुपैया प्रतिकेजी, ३० देखि ४० केजी तौलसम्मको पाँच सय ४० र ४० केजीभन्दा माथिका बोका पाँच सय ५० रुपैया प्रतिकेजीका दरले घरआँगनबाटै खरिद गरिएको छ ।
गाउँघरमा पुग्ने व्यवसायीले कम मूल्य तोकेर खसीबोका खरिद गर्दा किसान ठगिने अवस्था आएपछि स्थानीय सरकारले खसीबोकाको सामूहिक बजारीकरण गर्न थालेको गढवा गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष तुल्सीराम अधिकारीले बताए । गढवा गाउँपालिकाले आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम लागु गरेपछि महिला उद्यमी तथा किसान व्यावसायिक बाख्रा पालनमा जोडिएका छन् । बाख्राको खोर सुधारदेखि नश्ल सुधार तथा पालनमा सहयोग गरेपछि खसीबोका उत्पादमा वृद्धि भएको किसान बताउँछन् ।
उत्पादन बढेसँगै बजारीकरणमा समस्या नहोस् भनेर गढवा गाउँपालिका, भिटा परियोजनाकाद्वारा सञ्चालित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले खसीबोका किनबेच गर्ने व्यापारीसँग सहकार्य गरी सामूहिक बजारीकरण कार्यक्रम गरिरहेको छ । किसानले घरआँगनबाटैै तौलिएर खसीबोका बिक्री गर्न पाउँदा किसानलाई सहज भएको छ ।
गढवा गाउँपालिकाले सञ्चालन गरेको भिटा परियोजनामार्फत् गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड गढवाले गढवा गाउँपालिकाको सबै वडामा सामूहिक खसीबोका बजारीकरण गर्ने लक्ष्य राखेको गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड गढवाका अध्यक्ष क्षेत्रीले बताइन् । यस पटक खसीबोका मदाने चिस्यान केन्द्र, रुपन्देहीलाई बिक्री गरिएको सहकारी संस्थाले जानकारी दिएको छ ।