गोरक्ष समाचारदाता
दाङ ६ असोज । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी रकम दुरुपयोग गरेको बताएका छन् । प्रेस चौतारी दाङले शनिवार घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिवले पोख्रेलले सहकारीको सदस्य नभएको व्यक्तिलाई लगानी गर्न नमिल्ने भए पनि रवि लामिछानेको विषयमा गैरकानुनी रूपमा लगानी गरेर दुरुपयोग गरेको बताए ।
बिना लगानी शेयर प्राप्त गर्नु अनुचित कार्य भएको भन्दै महासचिव पोख्रेलले भने, ‘गोरखा मिडिया प्रालिमा रविले बिनालगानी १५ प्रतिशत शेयर भएको स्वीकार गरेका छन् । बिनालगानी शेयरधनी बन्न पाउने नेपालको कानुनले परिकल्पना गरेको छैन । बिनालगानी शेयर लिनु भनेको भ्रष्टाचार गर्नु हो ।’ सित्तैमा पैसा लिनु भनेको भ्रष्टाचार भएको भन्दै महासचिव पोख्रेलले कारबाही सिफारिस भएका व्यक्तिले ‘मैले क्लिन चिट पाएँ’ भन्नु अनुसन्धानलाई प्रभावित पार्ने खेल भएको समेत बताए । उनले भने, ‘सहकारी ठगी प्रकरणमा मैले क्लिन चिट पाएँ भन्नु रवि लामिछानेको अनुसन्धानलाई प्रभावित पार्ने खेल हो । उहाँले अनुसन्धानमा सहयोग गर्नु पर्ने हुन्छ, अनुसन्धानलाई प्रभावित पार्ने गरी बोल्नु हुँदैन ।’
सहकारी क्षेत्रमा सङ्कट देखिनु वित्तीय सङ्कटको प्रभाव भए पनि कतिपय सहकारीले आफ्नो नियम पालना नगर्दा वचतकर्ताको लगानी सङ्कटमा परेको समेत बताए । सङ्कटमा परेका बचतकर्तालाई बचाउने जिम्मा सरकारको भएको भन्दै सत्य–तथ्य छानबिन गरेर पीडितलाई न्याय दिनु पर्ने समेत उनले बताए । सहकारी संस्थाको छानबिन समितिको प्रतिवेदनले गरेको सिफारिस अनुसार जो कोही भए पनि कानुनतः कारबाहीको भागीदार हुनु पर्ने महासचिव पोख्रेलले बताए । यसैगरी महासचिव पोख्रेलले कांग्रेस–एमालेको वर्तमान राजनीतिक समीकरण लामो जाँदैन भनेर गलत भाष्य पैदा गरेर आतङ्क फैलाउन खोज्नु लोकतन्त्र खोक्रो बनाउने खेल भएको बताए ।
देशको हित र राजनीतिक स्थायित्वका लागि बनेको सरकारविरुद्धको चलखेल सुरु भइरहेको भन्दै उनले भने, ‘एमाले–कांग्रेस मिलेपछि देश अस्थिरताबाट मुक्त भएको छ । स्थिर सरकारको आवश्यकता ठानेर संसद्का दुई ठुला दल एक ठाउँमा उभिएका हुन् । यो अवस्थामा अब अराजकता चाहनेको केही लाग्दैन । विकल्प खोज्ने हो भने संसद्बाट मात्रै सम्भव छ ।’ संसदीय विकल्प खोज्ने नै भए २०८४ को निर्वाचनसम्म पर्खन समेत आग्रह गरे ।
आम निर्वाचनबाट जनताको मत लिएर आफूलाई प्रमाणित गर्ने ठाउँ खुल्ला भएको भन्दै त्यसको तयारीमा लाग्न आग्रह गरे । माओवादी केन्द्रले अहिले सबैभन्दा छट्पटी सरकारबाट बाहिरिएको पीडा पोखिरहेको उनको भनाइ छ । उनले भने, ‘अहिले अराजकता फैलाउन खोज्ने, असंसदीय र अशोभनीय काम सरकारबाट बाहिरिएको छटपटी मात्र हो ।’ दुई प्रमुख पार्टीको एक्लाएक्लै चुनाव लड्ने प्रतिबद्धता लोकतन्त्र र देशका लागि हितकर हुने भएकाले माओवादीलाई पनि त्यसको तयारी गर्न महासचिव पोख्रेलले आग्रह गरे ।
उनले भने, ‘३२ सिटलाई म्याजिक सिट भनेर कहिले कोसँग, कहिले कोसँग साँठगाँठ गर्ने दिन अब सकिए । अब माओवादीले पार्टीलाई कसरी बलियो बनाउने र एक्लै निर्वाचन लड्ने भनेर सोच्नु पर्छ ।’ यसैगरी महासचिव पोख्रेलले तत्कालीन सरकार र माओवादीबिचको द्वन्द्व वा सशस्त्र सङ्घर्षलाई माओवादीले जनयुद्ध माने पनि अन्य पार्टीले मान्नै पर्छ भन्ने नरहेको बताए ।
पोख्रेलले दाङको विकासका लागि घोराही–तुलसीपुर चारलेन सडक नेपाल सरकारकै लगानीमा बढ्ने गरी प्रक्रिया अघि बढेको र यहि आर्थिक बर्षभित्र ठेक्का लाग्ने बताए । त्यसका लागि अहिले सरकारले तयारी गरिरहेको बताए । त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पठाउनका लागि ५० जना कोठा प्राप्त गरेको भन्दै यसले जिल्लाको शैक्षिक तथा शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । त्यसैगरी जिल्लाको विकास लागि हवाइसेवालाई नियमित गराउनका लागि तुलसीपुर उपमहानगरपालिकाले तयार गरेको डिपिआर अनुसार अघि बढाउनका लागि केन्द्रमा छलफल भइरहेको समेत बताए ।
‘जिल्लाको विकासका लागि शैक्षिक, स्वास्थ्य, यातायातसँगै हवाइ क्षेत्रको विकास गर्न आवश्यकछ, त्यसका लागि अहिले तुलसीपुरमा रहेको एयरपोर्टलाई नियमित गर्ने गरि छलफल भइरहेको छ’,पत्रकार सम्मेलनमा महासचिव पोख्रेलले भने, ‘जिल्लाको विकासका लागि साझा धाराणा बनाएर अघि बढ्न सक्यौ भने अवश्य सफल हुन्छ ।’ नेपाली कांग्रेस र एमालेकाविचमा जिल्लाको विकासका लागि एक भएर अघि बढ्ने तयारी भएको भन्दै यसले जिल्लाको विकासका महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । प्रेस चौतारी नेपाल दाङ शाखा अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षता तथा पूर्व अध्यक्ष जेएन सागरको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण सचिव किरण गौतमले गरेका थिए ।